कांग्रेसको राजनीतिक व्यवहारको कारण गठबन्धन परिवर्तन गर्नुपरेको प्रधानमन्त्री प्रचण्डको भनाई
रासंसा/काठमाण्डौ, फाल्गुण २४,
मुलुकका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसको राजनीतिक व्यवहारको कारण गठबन्धन परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेसले समर्थन फिर्ता लिएकाले आफूले विश्वासको मत लिने जानकारी गराएका हुन्। उनले महासमिति बैठकमा धर्मका नाममा हस्ताक्षर गरेकोप्रति असन्तुष्ट व्यक्त गरे। ‘निर्वाचन आउन चार वर्ष बाँकी छँदै गठबन्धनका साझेदारहरूमाथि अनावश्यक र बेसमयको मानमर्दन कतैबाट पनि विवेकपूर्ण र राजनीतिक थिएन। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको अनि समावेशी, धर्मनिरपेक्ष र समाजवादउन्मुख संविधान निर्माणको मुख्य साझेदार रहेको नेपाली कांग्रेसको महासमिति बैठकमा स्टल नै राखेर जसरी धर्मका नाममा हस्ताक्षर अभियान चलाइयो, त्यसले कांग्रेसको संविधानप्रतिको प्रतिवद्धतामै आशंका जनाउन सक्ने जमिन तयार गर्यो।’ उनले भने,‘ महासमितिमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा माओवादी जनयुद्धको न्यूनीकरण मात्र होइन, दानवीकरण नै गरियो र ०४७ सालकै संविधान ठीक भएको आशयको प्रतिवेदन वितरण गरियो। यसरी हामीबीच हिजो मिलिसकेका सैद्धान्तिक र वैचारिक विषयमा समेत शंका र अविश्वासको वातावरण बन्यो।’ उनले भने,‘उनले ११ महिने सहकार्य लागिका लागि धन्यवाद छ। राजनीतिमा व्यक्तिगत सम्बन्धभन्दा माथि राजनीति माथि हुँदो रहेछ। ’उनले भने,‘कोसी प्रदेशमा कांग्रेसको एक समूहले विद्रोह गर्दा दण्ड हुनुपर्ने तर पुरस्कार पायो। राष्ट्रिय सभा निर्वाचनमा पनि उहि समूहले मत हालेन र माओवादी उम्मेद्वार हार्यो। महासमिति बैठकमा पनि सहयात्री दललाई अपमान गरेको थियो। ’ उनले व्यक्तिगतरुपमा माया गरेपनि परिवर्तन, समृद्धि राजनीतिक र सुशासन नारा बोक्दा जति साथ दिनुपर्ने त्यति नदिएको धारणा राखे। ‘एक वर्ष कार्यकाल पुरा भएपछिको सम्बोधनमा त मैले कार्यक्षमता प्रमाणित नभए वा देशमा सकारात्मक परिवर्तन ल्याउन र आशा जगाउन नसके पद ओगटिनरहने घोषणा नै गरेको थिएँ।’ प्रचण्डले भने, ‘मेरो यो तहको प्रतिवद्धतामा गठबन्धनका केही घटकबाट मैले अपेक्षित साथ पाइनँ। म संकेतमा केवल यत्ति भन्छु, साथीहरूले व्यक्तिका रूपमा त मलाई माया गर्नुभयो तर परिवर्तन, सुशासन र समृद्धिको तीब्र आकांक्षा बोकेको प्रधानमन्त्रीका रूपमा मलाई न्याय गर्नुभएन।’ आफूले सरकारको गतिसँग असन्तुष्ट छु भनेर पटकपटक भनेको स्मरण गर्दै प्रधानमन्त्रीले आउँदा दिनमा सरकारका काम र परिणामबाट प्रमाणित हुने विश्वास व्यक्त गरे। उनले प्रचण्डले आफ्नो लक्ष्य सत्ता हुने नभई देशमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्ने रहेको बताए। प्रचण्डले गठबन्धनका सबै घटकका तर्फबाट आफू सुशासन कायम गर्ने कार्यमा प्रतिबद्ध रहेको बताए। ‘मसँग दुई विकल्प थिए, औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भएपनि आफ्नो राजनीतिक प्रतिबद्धताअनुसार, राष्ट्रनिर्माणमा लाग्ने ? मैले दोस्रो विकल्प रोजेँ,’प्रचण्डले भने,‘त्यो कति जोखिमपूर्ण थियो र छ, पछिल्ला दुई दिनका घटनाक्रमले देखाइरहेका छन्। अब यो कति परिणामुखी हुन्छ, त्यो पनि विश्वासको मत लिने बेलासम्म प्रारम्भिक रूपमा प्रमाणित भइसक्ने मेरो विश्वास छ।’ ‘मलाई विश्वास छ, हामीले एकै ठाउँमा उभिएर शासनका लक्ष्यहरू हासिल गर्नेछौँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘गठबन्धनका सबै घटकका तर्फबाट म सङ्कल्प गर्दछु, हाम्रो लक्ष्य सत्ता हुने छैन, सुशासन, सामाजिक न्याय र समृद्धि हुनेछ।’ उनले आफ्नो कदम अस्थिरता लाग्न सक्ने भएपनि कसैलाई गतिशीलता तर म देश र जनताको हित काम गर्ने बताए। ‘म सरकारको गतिसँग असन्तुष्ट छु भनेर मैले पटकपटक भनिरहेकै हुँ। मसँग दुई विकल्प थिए, औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भएपनि आफ्नो राजनीतिक प्रतिवद्धताअनुसार, राष्ट्रनिर्माणमा लाग्ने ? मैले दोस्रो विकल्प रोजेँ। ’ उनले थपे, ‘त्यो कति जोखिमपूर्ण थियो र छ, पछिल्ला दुई दिनका घटनाक्रमले देखाइरहेका छन्। अब यो कति परिणामुखी हुन्छ, त्यो पनि विश्वासको मत लिने बेलासम्म प्रारम्भिक रूपमा प्रमाणित भइसक्ने मेरो विश्वास छ। कसैलाई मेरो कदम अस्थिरता लाग्न सक्छ, कसैलाई गतिशीलता तर यसको केन्द्रमा म छैन, मेरो पद छैन, देश र जनताको हित छ। आउँदा दिनमा सरकारका काम र परिणामबाट म त्यो प्रमाणित गर्न प्रतिवद्ध छु।’