नेपाली कांग्रेस इतर पक्षद्वारा १५ औँ महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने घोषणा
रासंसा/काठमाण्डौ, भाद्र १३,
मुलुकमा नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १५ औँ महाधिवेशनका लागि छुट्टै कार्यतालिका सार्वजनिक गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यसमितिको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै पार्टीको विधान र संविधान अनुसार वर्तमान कार्यसमितिको पदावधि सकिन लागेको कोइरालाले बताए। आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन र त्यसको केही समयपछि हुने प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै पार्टीलाई सुदृढ बनाउन महाधिवेशन अनिवार्य भएको उनले उल्लेख गरे। १५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्। ‘कथित विशेष महाधिवेशनबाट स्वघोषित कार्यसमितिले गर्ने गराउने अधिवेशन तथा महाधिवेशन सम्बन्धी गतिविधिमा सामेल नभई चौधौँ महाधिवेशनबाट निर्वाचित वैधानिक कार्यसमितिले गराउने महाधिवेशनको तयारीमा जुट्न सबै तहका साथीहरूलाई हार्दिक अनुरोध गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा अदालतबाट न्याय पाउनेमा आफूहरू विश्वस्त रहेको समेत उल्लेख छ। आवेग, उत्तेजना र षडयन्त्रको राजनीति नगरी संयमता र धैर्यताका साथ अघि बढ्ने प्रतिबद्धता उनले जनाए। अदालतले महाधिवेशन रोक्न आदेश नदिएको अवस्थामा चौधौँ महाधिवेशनबाट निर्वाचित वैधानिक कार्यसमितिले नै १५ औँ महाधिवेशन गराउने उनको जिकिर छ। डा. कोइरालाले १५ औँ महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गरी प्रक्रिया प्रारम्भ गरिने जानकारी दिए। यसका लागि क्रियाशील सदस्यता व्यवस्थापन समिति, छानबिन समिति र निर्वाचन समिति गठन लगायतका कार्यहरू पूर्व निर्धारित कार्यतालिका बमोजिम अगाडि बढाइने उनले बताए। यस्तै विज्ञप्ति मार्फत डा. कोइरालाले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले पुर्याएको अपूरणीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे। उनले बेपत्ताको खोजी, उद्धार र राहतका लागि सरकारको ध्यानाकर्षण गराउँदै मानवीय सेवामा जुट्न पार्टीका सबै तहका कार्यकर्तालाई आह्वान गरेका छन्।
