ईदले मुस्लिम समुदायको ऐतिहासिकता, पहिचान र संस्कृतिको प्रतिनिधित्व गर्छ : प्रधानमंत्री

Share to:

रासंसा/काठमाण्डौ, बैशाख ९,

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ईदले मुस्लिम समुदायको ऐतिहासिकता, पहिचान र संस्कृतिको प्रतिनिधित्व गर्ने बताएका छन्। इस्लाम धर्मावलम्बीहरूको महान पर्व, ईद (इदुल फित्र) को उपलक्ष्यमा इस्लाम धर्मावलम्बीको सुख, शान्ति, सुस्वास्थ्य, दीघार्यु, समृद्धि एवं निरन्तर प्रगतिको शुभकामना शुभकामना सन्देशमार्फत प्रचण्डले यस्तो बताएका हुन्। प्रचण्डले ईद पर्वले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत् बलियो राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। ‘ईद इस्लाम समुदायको सबैभन्दा ठूलो एवं महत्वपूर्ण पर्व हो। मुस्लिम समुदायले यस पर्वलाई आपसी सद्भाव, सहकार्य, विश्वास एवं साझा उद्देश्य प्राप्तिको महत्वपूर्ण अवसरका रूपमा मनाउँदै आएका छन्। बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका निम्ति ईद लगायतका पर्वहरू कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित छन्। ’शुभकामना सन्देशमा भनिएको छ, ‘हरेक चाडपर्वहरूको आफ्नो ऐतिहासिकता र विशिष्ट महत्व हुने गर्दछ। मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्वहरू विकसित र स्थापित हुँदै आएका छन्। ईद पनि यस्तो एउटा पर्व हो, जसले मुस्लिम समुदायको ऐतिहासिकता, पहिचान र संस्कृतिको प्रतिनिधित्व गर्दछ। ’ प्रचण्डले संविधानमा व्यवस्था भएबमोजिमका अधिकारहरूको दृढतापूर्वक कार्यान्वयन गरी बलियो राष्ट्रिय एकतामार्फत् राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई सुदृढ गर्नु राष्ट्रिय कार्यभार हुन आएको बताएका छन्। उनले भनेका छन्, ‘वर्तमान सरकार संविधानप्रदत्त अधिकारहरूको व्यवस्थित कार्यान्वयनमार्फत् सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढ संकल्पित छ। ’ नेपाली जनताको लामो त्याग र बलिदानबाट निर्मित नयाँ संविधानले विविधतायुक्त नेपाली समाजको आत्मसातीकरणसहित सबै जाति, भाषा, धर्म, संस्कृति र पहिचानलाई समान संवैधानिक अधिकार प्रदान गरेको सन्देशमा उल्लेख छ। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले ईद पर्वले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत् बलियो राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

Like