थारू समुदायमा योगदान गर्नेहरू थारू रत्न र थारू गौरव पुरस्कारबाट सम्मानित हुँदै

Share to:

रासंसा/काठमाण्डौ, पौष २९,

मुलुकमा थारू समुदायका लागि योगदान गर्ने चार जना थारू रत्न पुरस्कारबाट सम्मानित हुने भएका छन्। थारू आयोगले प्रदान गर्ने उक्त पुरस्कारका लागि छनौटमा परेकाहरूको नामवली शुक्रबार सार्वजनिक गरिएको हो। डा. पाण्डे भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख हुन्। उनी थारू समुदायलाई मात्रै लाग्ने सिकलसेल एनिमियाको एकस्पर्टसमेत हुन्। उनी हालै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) पिइएन-प्लसको नेपालको तर्फबाट सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनयन भएका थिए। थारू आयोगले स्वास्थ्य विधाअन्तर्गत भेरी अस्पतालका डा. राजन पाण्डे, थारू सँस्कृतिविद् एवं अनुसन्धानकर्ता महेश चौधरी, सामाजिक अभियन्ता एवं अनुसन्धानकर्ता भुलाई चौधरी र महिला सशक्तीकरणअन्तर्गत सुनसरीमा रहेको फर्वाड माइक्रो फाइनान्स वित्तीय संस्थालाई थारू रत्न पुरस्कार दिने भएको हो। त्यस्तै महेश चौधरीले थारू समुदायका अनुसन्धानमूलक किताबहरू प्रकाशन गरेका छन्। उनको नेपालको तराई तथा यसका भूमिपुत्रहरू, स्थविरहरुको प्राचीन इतिहास र संस्कृतिलगायत पुस्तक प्रकाशित छ। उनी २०२८ सालमा प्रकाशित थारु भाषाको पहिलो पत्रिका ‘गोचाली’का सम्पादकसमेत रहिसकेका छन्। त्यस्तै भगवती चौधरी संस्थापक रहेको फर्वाड माइक्रो फाइनान्सले महिलाको उत्थान र आत्मनिर्भर बनाउनका निम्ति योगदान गरेबापत थारू रत्न पुरस्कार प्रदान गरिएको आयोजित कार्यक्रममा थारू आयोगका सदस्य भोला चौधरीले जानकारी दिए। त्यस्तै समाजिक अभियन्ता एवं अनुसन्धानकर्ता भुलाई चौधरी पूर्वीया थारू भाषाका जानकार हुन्। उनले थारू लोक संस्कृति र पर्वहरूबारे अनुसन्धान गरेका छन्। उनले हमर थारु भाषा नामक किताब प्रकाशन गरेका छन्। पूर्वीया थारू भाषा साहित्य प्रवर्द्धनका लागि स्थापित बसघराको उनी अध्यक्षसमेत हुन्। त्यस्तै थारू गौरव पुरस्कारअन्तर्गत ७ जना सम्मानित हुने भएका छन्। जसअन्तर्गत खेलाडी विधामा जयरानी चौधरी, साहित्य विधामा बमबहादुर चौधरी, कृषि तथा पर्यटन विधामा कृषि पर्यटन तथा भिलेज रिसोर्ट एन्ड रिसर्च प्रालि, पत्रकारिता विधामा डा. कृष्णराज सर्वहारी, पूर्वकमलरी उर्मिला चौधरी, कलाकारमा गीता चौधरी र राज कुश्मी रहेका छन्। उनीहरूलाई विशेष समारोहमा तक्मासहितको पुरस्कार प्रदान गरिने आयोगका सदस्य चौधरीले बताए। ‘थारू आयोगले वार्षिकोत्सवमा यी पुरस्कार प्रदान गर्ने तयारी गरेको थियो। तर प्राविधिक कारण आजमात्र घोषणा हुँदैछ। विशेष समारोहमा उहाँहरूलाई तक्मासहितको पुरस्कार प्रदान गरिनेछ,’ सदस्य चौधरीले भने। थारू आयोगले पुरस्कारका निम्ति कार्यविधि बनाए नामावली छनौट गरेको थियो।

Like