म अहिले आफ्नो परिवारसँग बस्न चाहन्छु: सन्दीप लामिछाने

Share to:

रासंसा/काठमाण्डौ, पौष २९,

मुलुकमा नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले आफ्नो परिवारसँग केही समय बिताउने बताएका छन्। शुक्रबार थुनामुक्त भएपछि सन्दिपले आफ्नो परिवारसँग समय बिताउन चाहेको बताएका हुन्। उनलाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो। उनका परिवारले शुक्रबार जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी रकम बुझाएर उनी थुनामुक्त भएका हुन्। यो मुद्दाको किनारा भने लागिसकेको छैन। सन्दीपले भने, ‘अदालतको तर्फबाट भएको आदेशलाई सम्मान गर्ने छु। अहिलेको लागि म आफ्नो परिवार भन्दा अरु सोच्न सकेको छैन। म अहिले आफ्नो परिवारसँग बस्न चाहन्छु। तपाइहरुको अपार मायाको लागि धन्यवाद म अहिले धेरै प्रतिकृया दिने हालतमा छैन। समयसँग सबै कुराहरु सबैको अगाडी आउने छ। ’ १७ वर्षीया नाबालिगमाथि बलात्‍कार गरेको आरोप लागेका सन्दीपलाई अदालतले २० लाख धरैटी र १० वटा शर्तमा मात्रै थुनामुक्त गर्न आदेश दिएको हो। उक्त आदेशको पालना नगरी उल्लंघन गरेको पाइएमा उनी पुनः थुनामा पठाइनेछ। आदेशहरूको पालनाको प्रभावकारिताको प्रयोजनका लागि सन्दीपको गतिविधिको निगरानी गर्ने एवं उनको मोबाइल नम्बर, वा विवरणको सञ्चार संचार अभिलेख गर्न प्रहरी प्रधान कार्यालयले सुरक्षित र उपयुक्त व्यवस्था मिलाउन सक्ने भनिएको छ। उनलाई अदालतले विदेश जान रोक लगाएको छ। काठमाडौं उपत्यका छाड्न पनि जिल्ला प्रहरी परिसर काठमाडौंको अनुमतिमा मात्रै पाउने छन्। अदालतले उनीमाथि निगरानी राख्न पनि भनेको छ।

Like