आज पनि प्रधानमन्त्री देउवाले दुई चुनावी सभालाई सम्बोधन गर्ने
रासंसा/काठमाण्डौ, कार्तिक २०,
मुलुकमा चुनाव प्रचारका लागि गृह जिल्ला डडेल्धुरामा रहनु भएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज आइतबार दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि माहोल तयार पार्न प्रधानमन्त्री देउवा बिहीबारदेखि डडेल्धुरामा हुनुहुन्छ । उहाँले आइतबार बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने चुनावी सभालाई सम्बोधन गर्दै हुनुहुन्छ । देउवा मंसिर ४ गते हुने चुनावमा सत्ता गठबन्धनका तर्फबाट डडेलधुरामा प्रतिनिधि सभा सदस्य उम्मेदवार हुनुहुन्छ । उहाँले बिहीबार अमरगढी, शुक्रबार नवदुर्गा गाउँपालिकाको बेलापुर खुनी र गन्यापधुरा गाउँपालिका–२ बडाल तथा शनिबार अजयमेरु गाउँपालिका भद्रपुर र भागेश्वार गाउँपालिका रुपालको चुनावी सभालाई सम्बोधन गरिसक्नुभएको छ ।