सुजातालाई आफ्नैको पिर, मत ट्रान्सफर नहुने डर

Share to:

रासंसा/विराटनगर, कार्तिक २०,

‘प्रतिनिधिसभामा रुखमा भोट दिनुहोला, प्रदेशसभामा माओवादीको चुनाव चिन्ह हँसिया हथौडामा हाल्नुहोला,’ प्रदेशसभाका माओवादी उम्मेदवार उप्रेतीतिर देखाउँदै उनले भनिन्, ‘उहाँ गणेश उप्रेती, युवा हुनुहुन्छ हामी दुवै जना मिलेर यो क्षेत्रको विकास गर्छौँ ।’ उनी जहाँ गए पनि महिलाहरूसँग फोटो खिचाउन भने छुटाउँदिनन् । उनकै साथमा थिए माओवादीका तर्फबाट प्रदेशसभामा उम्मेदवार बनेका गणेश उप्रेती (सुशील) । उप्रेतीले पनि कोइरालाको लाइनमै बसेर काँग्रेसी महिलाहरूसँग फोटो खिचाए । ‘ल ल फोटो खिचुम् त आउनु !’ मोरङको क्षेत्र नम्बर २ मा पर्ने सुनवर्षी–६ चैतीटोल पुगेकी प्रतिनिधिसभामा सोही क्षेत्रबाट उम्मेदवार बनेकी काँग्रेस नेतृ सुजाता कोइरालाले गाडीबाट झरेसँगै वरिपरि झुम्मिएका स्थानीय महिलालाई आग्रह गरिन् । काँग्रेसकै अन्तर्विरोधले निर्वाचन परिणाम सहज होला नहोला भन्ने आँकलन भइरहेको बेला कोइराला र उप्रेतीको जोडी भने घरटोलमा एक अर्कालाई भोट माग्दै हिँडिरहेका छन् । उप्रेती सुजाता कोइरालालाई शान्ति सम्झौताका हस्ताक्षर कर्ता गिरिजाप्रसाद कोइरालाकी छोरी भएको कारण भोट दिन माओवादी कार्यकर्तालाई सम्झाइरहेका छन् । सुजाता भने शान्ति सम्झौताको हस्ताक्षर गर्ने एउटा पक्ष माओवादी भएकोले उसलाई पनि भोट दिनुपर्ने बताउँदै हिँड्छिन् । त्यहाँ फोटो खिचाएर गाडी चढेको उनीहरू ५ सय मिटर पर ७६ वर्षीय इनरलाल गनगाईको घर पुगेर भोट मागे । इनरलाल बहुदल आएदेखि नै काँग्रेसका कार्यकर्ता हुन् । उनी लगातार रुखमै भोट हालेको बताउँछन् । त्यहाँ भेला भएका कांग्रेसीहरुलाई उप्रेतीले भने, ‘प्रदेशसभामा मलाई हँसिया हथौडामा भोट हाल्नुहोला, यहाँ काँग्रेस समर्थक मात्रै हुनुहुन्छ जस्तो छ, अन्य मतपत्रमा भने काँग्रेसमा मत हाल्नु होला ।’ उप्रेतीको क्षेत्र प्रदेशसभा (क) हो । ‘गठबन्धनको चुनावी अभियान बढिरहेको छ । मलाई विश्वास छ गठबन्धनले जित्छ । जनताको मागहरू जितेर आएपछि हामी पुरा गर्छौँ । गठबन्धनकै सरकार बन्छ । पाँचै वर्ष गठबन्धन सरकार टिक्छ र जनताको माग पुरा गर्न पनि हामी सक्छौँ । अहिलेसम्म कुनै पनि सरकार ५ वर्ष टिकेको छैन अब टिक्छ । प्रदेश सरकार पनि गठबन्धनको बन्छ,’ कोइराला भन्छिन्, ‘बाटो हेर्नु न पिच बनेको पनि छैन । धूलै धूलो छ । यहाँ विभिन्न जातजातिका समस्या छन्, महिलाको पनि समस्या समाधान गर्नुपर्नेछ । महिलाको लागि सीपमूलक तालिम, बालबालिकाका लागि पठनपाठनको व्यवस्थापन । गरिब तथा दलित बालबालिकालाई उच्च स्तरीय शिक्षाका लागि हामी सहयोग गर्छौँ हामी ।’ यसपटक आफूले निर्वाचन जित्नेमा सुजाता ढुक्क देखिइन् । टिकट वितरणमा भएको असन्तुष्टि पनि साम्य भइसकेको उनको दाबी छ । ‘मान्छेले विरोधलाई बढी देख्छ । सपोर्टलाई कम देख्छ । टिकट पाएपछि मलाई ९० प्रतिशत सपोर्ट थियो । १० प्रतिशत असन्तुष्टि जस्तो देखिएको थियो । अहिले १ सय प्रतिशत मिलिसकेको छ,’ अन्य विषयमा उहाँले भन्दिनु हुन्छ भन्दै माओवादीका तर्फबाट उम्मेदवार बनेका गणेश उप्रेती सुशीलतिर देखाइन् । उक्त टोलको बाटो पिच गर्न ठिक्क परेको छ । तर, पिच भएको छैन । ०४८ सालयता एक पटक मात्रै सो क्षेत्रबाट वामपन्थीले विजय प्राप्त गरेको छ । ०४८ साल, ०५१ साल र ०५६ सालमा गिरिजाप्रसाद कोइरालाले उक्त क्षेत्रबाट निर्वाचन जितेका थिए । ०६४ सालमा देशव्यापी माओवादीले जितिरहँदा उक्त क्षेत्रमा काँग्रेस नेता आमोदप्रसाद उपाध्यायले चुनाव जितेका थिए । २०७० सालमा भने उपाध्यायलाई एमालेका ऋषिकेश पोखरेलले निर्वाचन जिते । पुनः बाम गठबन्धनबाट उम्मेदवार बनेका पोखरेललाई ०७४ सालमा भने काँग्रेस नेता मिनेन्द्र रिजालले हराएका थिए । उप्रेतीले यति भनिरहँदा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काँग्रेस र माओवादीबीच रतुवामाई नगरपालिकामा भएको गठबन्धन असफल भएको थियो । त्यसबेला माओवादीले रुखमा भोट हाले पनि काँग्रेसले हँसिया हथौडामा मत नहाल्दा गठबन्धन असफल भयो । सोही क्षेत्रमा पर्ने रतुवामाईमा काँग्रेसले प्रमुखमा जित निकाल्दा माओवादीले उपप्रमुखमा पराजित हुनु परेको थियो । त्यसको रिस माओवादीले यस पटक फेर्न सक्ने जोखिम रहेको कतिपय बताउँछन् । त्यसपछि उप्रेतीले सुजाताको अवस्थाबारे बताउन थाले, ‘अहिले मोरङमा भएका सबै उम्मेदवार मध्ये सुजाता कोइरालालाई शक्तिशाली उम्मेदवारको रूपमा यहाँका मतदातालाले मानेका छन् । उहाँ केन्द्रसँगको पहुँचमा रहनुभएको छ । अर्को कुरा शान्ति सम्झौताको नायक गिरिजाप्रसाद कोइरालाको छोरी भएको हिसाबले पनि उहाँको माहौल ज्यामितीय हिसाबले बढ्दै गएको छ । अर्को रमाइलो पक्ष के छ भने यहाँ जो सुस्ताएका बुढापाका कांग्रेसहरु छन्, सुजाता आएपछि नसम्झाईकन हिँड्न थाले । अब हजुरबुबाहरू नै हिँडेपछि छोरा र भतिजाहरू पनि हिँड्न थालेका छन् । यसले माहौल पनि बनाएको छ र काँग्रेसमा एकता पनि आएको छ । यहाँ हिजो काँग्रेस एक्लैले जितेको क्षेत्र भएको हुँदा अहिले गठबन्धन पनि हुँदा माहौल राम्रो छ ।’ उता, माओवादीलाई पनि काँग्रेसले मत नदिने त होइन भन्ने संशय छ । ०७४ सालमा एकल निर्वाचन लडेर विजय प्राप्त गरेको काँग्रेसले प्रदेशसभा निर्वाचन क्षेत्र (क) माओवादीलाई छोड्नु पर्दाको पीडा पनि काँग्रेसमा रहेको छ । कोइरालाले गिरिजाबाबु केही पूर्वाधार बनाएको र अब त्यसलाई पूरा गर्न आफू आएको पनि बताइन् । ‘अब त्यसलाई पूरा गर्न हामी आएका छौं । त्यसलाई पुरा गर्छौँ । यता माओवादीले शान्ति सम्झौतामा हस्ताक्षर गरेको अर्को सम्झौतामा हस्ताक्षर गर्ने गिरिजाबाबुको छोरी म आफैँ आएको छौँ । अब विकास गर्छौँ,’ उनले भनिन् । तर, कोइरालाले भने अहिले अवस्था सहज भइसकेको जिकिर गरिन् । ‘अहिले त्यो समस्या हल भइसक्यो । सुरुमा जुन असन्तुष्टि थियो, त्यो असन्तुष्टि भनेको पहिले जितेको ठाउँमा माओवादीलाई किन दियो भन्ने थियो । तर, अहिले सबै एकजुट भएर लागिरहेको अवस्था छ । अहिले सबैले बुझेको छ कि गठबन्धन किन बन्दैछ के कारणले हो भनेर बुझाउँदै गइरहेको कारण मानिसले कुरा बुझिरहेका छन्,’ कोइरालाले भनिन्, ‘दुईतिहाई सरकार पनि किन चलेन, संसद चल्न किन सकेन राम्ररी भन्ने कुरा यहाँका जनताले पनि बुझेका छन् । त्यसकारण विकास र समृद्धिको लागि गठबन्धन आवश्यक छ । जहिले पनि एकले अर्कोलाई ढाल्ने सरकार चल्न नदिने कुराले विकास निर्माण हुन सकेन । त्यसकारण अब हामी प्रदेशका उम्मेदवार गणेश उप्रेतीले गरेको विकासमा मेरो पनि अपनत्व हुन्छ, मैले गरेको पनि उहाँले अपनत्व लिनुहुन्छ । यसरी विकास गर्दा धेरै कुरा राम्रो हुन्छ ।’ सुजाता कोइरालाकै निर्वाचन क्षेत्रमा पर्ने रतुवामाई ५ झपडतालमा भेटिएका अब्दुल आलम (६२) लाई मल नपाएकोमा नेतादेखि धेरै रिस उठेको छ । उनले २ बिगाहामा धान खेती गरेका छन् । ०७४ सालमा पनि मल सहज पाइन्छ भोट दिनु भन्दै आएका थिए । दिने कामै हो दिऊँ भनेर आफूले भोट दिएको तर, म नपाएको उनको गुनासो छ । उनी अहिले नमस्कार गर्दै भोट माग्न आए पनि जितेर गएपछि आफ्नै बाउलाई नेताले नचिन्ने व्यङ्ग्य कस्छन् । उनले भनेजस्तै सुनवर्षी–६ का मिमलाल मण्डलको पनि एजेण्डा किसानको मल र सिँचाइको छ । ‘हामीलाई सहज मल होस्, सिँचाइको व्यवस्था होस्,’ मण्डल भन्छन् । ‘जनताको आवाज र किसानको आवाज त कसले बोलेको छ र ? खेती मरिमरी गरिरहेको छ । इन्डियाबाट महँगोमा मल किनेर ल्याउँदा पनि पुलिसले खोसेर लान्छ,’ उनलाई भोट कसलाई दिनुहुन्छ भनेर सोध्ने बित्तिकै झर्को मानेर प्रतिक्रिया दिए, ‘चुनावको बेला त सबै कुरा दिन्छ । मल मात्रै होइन सबै कुरा दिन्छ । जित्ने पनि जितेर गए, हार्नेहरू झन् के आउँछन् ।’ एक लाख २४ हजार सात सय २९ मतदाता रहेको यस क्षेत्रमा रतुवामाई, सुनवर्षी नगरपालिका र रंगेली नगरपालिकाको वडा १, २, ३, ८ र ९, पथरीशनिश्चरे नगरपालिकाको वडा नं ५ र ६ र कानेपोखरी गाउँपालिकाको वडा नं १, २ र ३ सहित २९ वटा वडा छन् । यो निर्वाचन क्षेत्रको प्रदेश १ मा ६१ हजार ५८ कूल मतदाता सङ्ख्या रहेकोमा महिला मतदाताको सङ्ख्या २९ हजार दुई सय ४३ रहेको छ । त्यस्तै प्रदेश २ तर्फ ६३ हजार छ सय ७१ कूल मतदाता सङ्ख्या रहेकोमा ३० हजार पाँच सय ६५ महिला मतदाता सङ्ख्या रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । क्षेत्रभरि जम्मा ६८ मतदान केन्द्र रहने निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन क्षेत्र नं २ ले जनाएको छ । गत स्थानीय निर्वाचनको मतगणनाअनुसार यो क्षेत्रमा एमालेभन्दा सत्ता गठबन्धन चार हजार पाँच सय मतले अगाडि देखिन्छ । स्थानीय निर्वाचनमा एमालेका वडाध्यक्षका उम्मेदवारले ३१ हजार तीन सय ३० मत ल्याउँदा कांग्रेसले २८ हजार छ सय १७ र माओवादी केन्द्रले सात हजार दुई सय ७१ मत पाएका थिए ।

Like