अब सर्वोच्च अदालतले हरेक दिन हरेक इजलासमा ३२ वटा मुद्दा फर्स्योट गर्ने

Share to:

रासंसा/काठमाण्डौ, आषाढ २४,

मुलुकमा सर्वोच्च अदालतले हरेक दिन हरेक इजलासमा ३२ वटा मुद्दा फर्स्योट गर्नेगरी मुद्दा व्यवस्थापन रणनीति लागू गर्ने भएको छ। मुद्दाहरुलाई शून्यमा झार्न प्रतिदिन प्रत्येक इजलासमा ३२ वटा मुद्दा फर्स्योट गर्नुपर्ने अदालतले बताएको छ। पुराना मुद्दाको चाप घटाउन शुक्रबारआधा दिनको कार्यालय समय बढाएर बेलुका ५ बजेसम्म राख्ने योजना रहेको पनि अदालतले बताएको छ। सर्वोच्च अदालतमा पुराना मुद्दाको छिनोफानो हुन नसकेर थुप्रिँदै गएपछि कार्ययोजना बनाएर पुराना मुद्दा फर्स्योट गर्नेगरी मुद्दा व्यवस्थापन रणनीति लागू गर्ने भएको हो। शुक्रबार पत्रकार सम्मेलन गर्दै सर्वोच्चले अदालतमा विचाराधिन अवस्थामा रहेका पुराना मुद्दाहरु शुन्यमा पुर्‍याउने लक्ष्य राखेको बताएको छ। सर्वोच्च अदालतले तयार गरेको कार्ययोजना अनुसार ५ वर्ष पूरा भएका र रिट दर्ता भएर ३ वर्षदेखि पेसी नतोकिएका मुद्दाहरुको पेसी पुनः स्थगीत नहुनेगरि तोकिने व्यवस्था कार्ययोजनामा राखिएको छ। पत्रकार सम्मेलनमा सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नारायाण पन्थीले पुराना मुद्दाका पेसी नसर्ने गरी काम गर्न कानून व्यवसायीले समेत सकारात्मक भुमिका खेल्नुपर्ने बताए।
पत्रकार सम्मेलनमा सर्वोच्च अदालतका सहायक रजिस्ट्रार विमल पौडेलले विचाराधीन अवस्थामा रहेका पुराना मुद्दा र सर्वोच्च अदालत मा ५ वर्षसम्म रहेका मुद्दाहरुलाई मुद्दा व्यवस्थापन प्रतिवेदनले तोकेअनुसार काम गर्ने बताए। पुराना मुद्दाको चापले अदालतको नियमित सुनुवाई समेत प्रभावित भएकोले आगामी साउन पहिलो हप्तादेखि पुराना मुद्दा शुन्यमा झार्नेगरी काम हुने बताए। यस्तै सर्वोच्च अदालतमा कानून व्यवसायीको पृष्ठभूमिबाट न्यायाधीश बन्नु भएकाहरुको ल फर्मबाट आएको पुराना धेरै मुद्दा हेर्न नमिल्ने अवस्थामा रहेको समस्यालाई कार्ययोजनाले पूर्ण इजलासमा राखेर हेर्न मिल्ने गरी सुल्झाएको छ। यस्तै निवेदन तहका मुद्दाहरु दर्ता भएको दिन नै प्रकृति हेरी तत्काल सुनुवाईमा लैजाने गरी काम गर्नेपनि सर्वोच्च अदालतले बताएको छ। सर्वोच्च अदालतले बनाएको कार्य योजनालाई न्यायाधीशहरुको पूर्ण बैठकले अनुमोदन गरिसकेको छ।

Like