भरतपुरमा विजय सुवेदी ५ हजार ७३३ मत अन्तरमा पछ्याउदै
रासंसा/चितवन, ज्येष्ठ ७,
मुलुकमा यतिबेला सबैको ध्यान चितवनमा केन्द्रीत छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र, नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे र रामबहादुर थापा बादलको गृह जिल्ला हो चितवन । त्यसपछि प्रचण्ड पुत्री रेनु दाहाल भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार भएपछि सबैको ध्यान चितवनतर्फ केन्द्रीत भएको हो । यसअघिको निर्वाचनमा जित हासिल गरेर ५ वर्षे कार्यकाल सम्पन्नपछि पुनः नेतृत्वका लागि चुनावी मैदानमा रहेकी रेनुको नतिजालाई लिएर भरतपुर सबैको चासो र चर्चाको केन्द्रमा रहेको छ । भरतपुर महानगरपालिकाको मेयरमा रेनुलाई सत्ता गठबन्धनका ५ दलहरुको साथ रहेको छ भने उनको विरुद्धमा नेकपा एमालेले हेभिवेट नेता विजय सुवेदीलाई चुनावमा उतारेको छ । तर, एकसातायता जारी मतगणनाको पछिल्लो परिणामअनुसार सुवेदी करिब ६ हजार मतले पछि रहेका छन् । सुवेदी बागमती प्रदेशसभा सदस्यबाट राजीनामा दिएर भरतपुर महानगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गरेका हुन् । मतगणनामा पछि परेका सुवेदी के अब पुनः ‘कमब्याक’ गर्न सक्लान् त ? यसतर्फ पनि चासो उत्तिकै छ । उनी गठबन्धनतर्फको माओवादी केन्द्रकी उम्मेदवार दाहालसँग मतान्तर घटाउने कसरतमा रहेका छन् । हालसम्म भरतपुरको १४ वटा वडाको मत गणना सम्पन्न भइसकेको छ । मत परिणाम अनुसार नेपाली काँग्रेसले १४ मध्ये ८ वटा, नेकपा एमालेले ३ वटा, एकीकृत समाजवादीले २ र माओवादी केन्द्रले १ वटा वडामा जित हासिल गरेको छ । हालसम्म भरतपुरमा एमालेको गढको रुपमा रहेका वडाहरूमा पनि सुवेदीले सोचे अनुसारको मत पाउन सकेनन् । भरतपुरको पूर्वतर्फको वडा नम्बर २, ५, ६, ७, ८, ९, १० र ११ एमालेको क्षेत्रको रुपमा चिनिन्छ । तर, सो वडाहरूमा सुवेदीलाई उल्लेख्य मत आउन नसकेको हो । ती वडाहरूमा एमालेका सुवेदीले अग्रता लिने अनुमान गरिएको थियो । तर, एमालेको त्यो अनुमान गलत सावित भयो । ती वडाको अग्रताले एमालेले भरतपुरको १२, १३, १४, १५ र १६ नम्बरको मतलाई ब्यालेन्स गर्ने अनुमान थियो । आफ्नै वडाहरूमा सोचे अनुसार मत नआउँदा सुवेदी निकै पछि परेका छन् । भरतपुरको १७, १८, १९ र त्यस पछिका केही वडामा पाएको मतले चुनाव जित्ने एमालेको विश्लेषण थियो । एमालेले चुनाव जित्न रणनीतिक रुपमा राप्रपासँग ‘अलाइन्स’ समेत गरेको थियो भने काँग्रेसका बागी उम्मेदवारले मत काट्दा रेनु दाहाल पछि पर्ने आकलन गरेको थियो ।
एमालेको रणनीति र आकलन विपरीत अहिले मतपरिणाम आइरहेको छ । भरतपुर महानगरपालिकाको २९ वडामा कुल १ लाख २७ हजार ५५६ मत खसेको थियो । खसेको मतमध्ये हालसम्म ७६ हजार ९५ मत गणना भइसकेको छ । शनिबार दिउँसो ३ बजेसम्मको मत परिणाम अनुसार सत्ता गठबन्धनका तर्फबाट मेयर पदकी उम्मेदवार दाहालले २९ हजार ४८७ मत पाएकी छिन् । उनी ५ हजार ७३३ मतसहित अग्रस्थानमा रहेकी छिन् भने एमालेका सुवेदीले २३ हजार ७४५ मत प्राप्त गरेका छन् । स्वतन्त्र (कांग्रेसका बागी) जगन्नाथ पौडेलले १० हजार ३३४ मत प्राप्त गरेका छन् । मत गणनाको सुरुवाती चरणमा दाहाल झिनो मतान्तरले अघि थिइन् । वडा नम्बर १ र २ मा दाहाल नै अघि थिइन् । वडा नम्बर ३ मा पुगेपछि भने सुवेदीले अग्रता लिए । वडा नम्बर ३ यसअघि काँग्रेसले जितेको थियो । त्यो काँग्रेसको बाहुल्य क्षेत्र पनि हो । सो वडामा समेत सुवेदीले झिनो अग्रता बनाए । तर, त्यो अग्रताले निरन्तरता पाउन सकेन । त्यस पछिका वडाहरूमा दाहालको अग्रता निरन्तर रहेको छ ।