७४ वर्षपछि उड्ड्यन क्षेत्रमा बनेको इतिहास

Share to:

रासंसा/काठमाण्डौ, बैशाख १६,

मुलुकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अब नेपालका दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुनेछ। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले बिहीबार नेपालको इतिहासमा पहिलो पटक काठमाडौं बाहेक अन्य कुनै भूमिमा वाइडबडी जहाज अवतरण गरेको पहिलो घटना भएको बताए। ७४ वर्षीय नागरिक उड्डयन प्राधिकरणको इतिहासमा यो कोषेढुङ्गा हो। बिहीबार नेपालको इतिहासमा पहिलोपटक काठमाडौंबाहेक अन्य कुनै भूमिमा वाइडबडी जहाज अवतरण भएको हो। काठमाडौंपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी विमान अवतरण भएसँगै यसलाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको डेमोस्ट्रेसन फ्लाइट नाम दिइएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी जहाजले आफ्नो पहिलो उडान भरे पनि नियमित रुपमा भने जेठ २ गते बुद्ध जयन्तीबाट उडान सुरु हुनेछ। पहिलो अन्तर्राष्ट्रिय उडान जजिरा एयरले गर्ने प्राधिकरणले बताएको छ। त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्राफिक जाम भएको खण्डमा भने अहिले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न सक्ने महा निर्देशक ज्ञवालीले बताए। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको वाइडबडीको पहिलो उडानमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसहित २६० जना लिएर नेवानिको वाइडबडी जहाजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेको थियो। यो उडानको सफल अवतरणसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विमानस्थल योग्य भएको प्रमाणित भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। सन् २०१७ को डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरूवातमा थालनी भएको विमानस्थलको कामबीचमा ठेकेदार कम्पनीको लापरबाहीले रोकिएको थियो। पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहेपनि कोभिड–१९ महामारीका कारण करिव पाँच वर्षपछि विमानस्थल व्यवसायिकरुपमा सञ्चालनमा आएको हो। भैरहवा विमानस्थलमा ४ जुलाई सन् १९५८ देखि आन्तरिक उडान हुन थालेको हो। अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा दोस्रो विमानस्थल सञ्चालन हुनु हवाइ उड्डयनको इतिहासमा नयाँ फड्को भएको निर्देशक अधिकारीले बताए। अन्तर्राष्ट्रिय व्यवसायिक उडान भएसँगै विमानस्थल २४ घण्टा सञ्चालनमा आउने उनले बताए। कुल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यवसायिक रुपमा सञ्चालनमा आएपछि हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक जाम कम हुने प्राधिकरणको विश्वास लिएको छ।

Like