चाइना–नेपालबीच रेल्वेदेखि अरनिको राजमार्ग मर्मतसम्म ६ बुँदे सम्झौता
रासंसा/काठमाण्डौ, चैत्र १२,
नेपाल र चीनबिच क्रस बोर्डर रेल्वे परियोजनाका लागि सम्भाव्यता अध्ययनको लागि प्राविधिक सहायता योजनामा हस्ताक्षर भएको छ । शनिवार सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी बीच भएको भेटवार्तामा सो सहित विभिन्न विषयमा सम्झौता भएको हो । ३ दिने नेपाल भ्रमणका क्रममा रहेका विदेश मन्त्री वाङ र मन्त्री खड्काबीच आर्थिक र प्राविधिक सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । उनले भनिन्–‘द्विपक्षीय सम्बन्धका विभिन्न आयामहरूमा सौहार्द रूपमा कुराकानी भएको छ । केही सम्झौताहरूमा दुई देशका बीचमा हस्ताक्षर पनि भएको छ । आर्थिक तथा प्राविधिक सहयोग लगायत विभिन्न विषयमा सम्झौता भएको छ ।’ ३ दिने नेपाल भ्रमणमा आएका मन्त्री वाङले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । आइतबार उनी स्वदेश फर्कनेछन् । यस्तै चीन–नेपाल पावर ग्रिड इन्टरकनेक्शनको सम्भाव्यता अध्ययन, नेपालबाट चीनमा प्रशोधित सुख्खा घाँस (haylage) निर्यातको सुरक्षा र स्वास्थ्य अवस्था सम्बन्धी प्रोटोकल, अरनिको राजमार्ग मर्मत सम्भार परियोजना, रेल्वे क्षेत्रमा सहयोग अभिवृद्धि, नेपाललाई चीनले कोभिड–१९ भ्याक्सिन सहायताको वितरण, नेपालमा काम गर्न चिनियाँ मेडिकल टोली पठाउने प्रोटोकल लगायतका विषयमा सम्झौता भएको छ । मन्त्रालयमा भएको दुई समकक्षी मन्त्रीबीचको भेटवार्तामा विभिन्न आयामका बारे छलफल भएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले रातोपाटीलाई जानकारी दिइन् ।