२५ करोडको ‘नेक्सस’ सुन टोखामा बरामद यससंग कारोबारी को जोडियो

Share to:

रासंसा/काठमाण्डौ, चैत्र ५,

मुलुकमा टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय परिसरमा राखिएको एउटा कन्टेनरको पछिल्लो भागमा लेखिएको छ यो सायरी । यस कन्टेनरका चालक हुन्, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय कुसाङ लामा । यस कन्टेनरलाई सोमबार राति ११ बजे काठमाडौंस्थित टोखाको झोरबाट नियन्त्रणमा लिइएको थियो । कन्टेनरसँगै यसका चालक कुसाङलाई समेत पक्राउ गरिएको थियो । उनी केही समयदेखि काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित गोकर्णमा डेरा गरी बस्दै आएका थिए । सो कन्टेनर उनकी आमाको नाममा रहेको छ । काठमाडौंबाट डलर र युरोको भारी बोकेर नोट कमाउन रसुवागढीतर्फ जाँदै गरेका उनी पक्राउ परेसँगै चोटैचोटको भारी बोक्नुपर्ने अवस्था आइलागेको हो । काठमाडौंबाट रसुवागढी जान लागेका उनले चलाएको ना७ख १६५२ नम्बरको कन्टेनरमा अमेरिकी डलर ३ लाख २० हजार ८ सय ५० तथा १३ लाख ७५ हजार १ सय ५० युरो थियो । जसमा १०० दरका ३ हजार १ सय १९ थान र ५० दरका १ सय ७९ थान अमेरिकी डलर थिए । यसैगरी, ५ सय दरका युरो ११ थान, २ सय दरका ४ सय ८० थान, १०० दरका ४ हजार १ सय ४८ थान र ५० दरका १७ हजार १ सय ७७ थान युरो थियो । वास्तवमा कन्टेनरको पछिल्लो भागमा लेखिएको सायरीझैं कन्टेनर चालक कुसाङलाई पनि रोडमा गुड्दागुड्दै नोटमा कमाउनु थियो । नोट त नोट, तर त्यस कन्टेनरमा नेपाली नोट नभई डलर र युरो थियो । धेरै कमाउने लोभमा परेका चालक कुसाङले अब यही कारण जिन्दगीको गहु्रङ्गो भारी बोक्नुपर्नेछ, चोटैचोट अनि तनावको ! धेरै कमाउने लोभमा डलर र युरोको भारी बोकेका उनले अब कानुनी लडाइँको भारी पनि बोक्नुपर्नेछ । सो कन्टेनरमा काठमाडौंबाट तस्करी गरेर चीनतर्फ रकम लैजाँदै गरेको सूचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका नायब उपरीक्षक (डीएसपी) अनिल घिमिरे दुई जना प्रहरी निरीक्षकलाई साथमा लिएर खोजीमा निस्किएका थिए । टोखाको झोरमा सो कन्टेनर भेटेपछि घिमिरे नेतृत्वको प्रहरी टोलीले चालकलाई रोकेर सामान्य खानतलासी ग¥यो । तर, तत्काल सो कन्टेनरमा केही भेटिएन । सो कन्टेनरमा अवैध डलर र युरो रहेको सूचना पाएको प्रहरीले उनी र कन्टेनरलाई सोमबार राति ११ बजे नियन्त्रणमा लिएको हो । यी दुवै रकमको मंगलबारको सटही दरअनुसार नेपाली रुपैयाँ २५ करोड १९ लाख २४ हजार हुन आउँछ । तैपनि प्रहरी टोलीले उनीमाथिको सोधपुछलाई निरन्तरता दिइरह्यो । प्रहरी टोलीको निरन्तरको सोधपुछपछि चालक ‘पसिनापसिना’ बने । उनी आवश्कताभन्दा धेरै नै डराएको देखेपछि डीएसपी घिमिरे नेतृत्वको प्रहरी टोली पनि अचम्ममा प¥यो । प्रहरी टोली अचम्मका पर्नुको अर्काे कारण थियो, रित्तो कन्टेनरमा सामान छ भन्ने उनको जवाफ । ‘हामीले भिडिओ खिच्दै ट्रकमा पैसा राख्न मिल्नेजस्ता ठाउँको खोजी ग¥यौं, चालक बस्ने क्याबिनमाथि फल्स बटन बनाएर त्यहाँभित्र पोका–पोकामा पैसा राखिएको रहेछ,’ प्रहरी स्रोतले मंगलबार दिउँसो भन्यो, ‘राति नै हामीले पैसा गन्यौं, करिब २५ करोड रुपैयाँभन्दा बढी थियो, आज पनि बिहान मेसिन ल्याएर फेरि पैसा गन्यौं ।’ त्यसपछि चालकसहित कन्टेनरलाई टेकुस्थित कार्यालयमा लगियो । त्यहाँ कन्टेनरको थप खानतलासी गर्दा चालकको ठीक माथि डोनटमा फल्स बटन बनाएर तस्करी गरी लैजाँदै गरेको अवस्थामा अमेरिकी डलर र युरो भेटिएको थियो । त्यसो त, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई सुन तस्करीका लागि नेपालबाट डलर ठूलो परिमाणमा चीन लैजान लागिएको सूचना यसअघि नै आएको थियो । तर, सूचना आए पनि कहाँबाट, कसरी र कसले लैजाँदै छ भन्ने केही जानकारी प्रहरीसँग थिएन । सूचनापछि शंकित व्यक्तिको खोजी गर्दैजाँदा नियन्त्रणमा लिइएको कन्टेनर ’round सोमबार साँझपख चिनियाँ व्यक्तिहरूको चहलपहल देखेपछि प्रहरीले त्यस कन्टेनरलाई निगरानीमा राखिरहेको थियो । जब रात बढ्दै गयो, सो कन्टेनर टोखा हुँदै झोरतर्फ अगाडि बढेपछि भने प्रहरीलाई शंका लाग्यो । त्यसपछि पिछा गरेको प्रहरी टोलीले सो कन्टेनर र चालकमाथि सोधपुछ अगाडि बढाएको थियो । जेलबाट छुटेपछि उनी फेरि कन्टेनर चालककै आवरणमा सुन र डलरको तस्करीमा संलग्न रहेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठूलो परिमाणमा बरामद गरेको अवैध डलर र युरो सुन तस्करीसँग जोडिएको हुनसक्ने आशंका गरेको छ । चालक कुसाङले प्रहरीलाई दिएको प्रारम्भिक बयान र प्राप्त सूचनाअनुसार यताबाट चिनियाँ पक्षले डलर र युरो लगेर उताबाट सुन किनेर ल्याई बेच्न खोजेको बुझिएको छ । चिनियाँ तस्कर समूहले यसभन्दा अगाडि पनि सुन ल्याएको हुनसक्ने भन्दै त्यस विषयमा थप अनुसन्धान हुने र गिरोहसम्म नै पुग्ने लक्ष्य लिइएको प्रहरीको दाबी छ । उनले कसको पैसामा कसलाई सुन तस्करी गर्छन् भन्ने खुलेको छैन ।कुसाङ यसअघि पनि सुन तस्करी प्रकरणमा ५ वर्ष जेल बसेका व्यक्ति रहेको प्रहरीले जनाएको छ । १३ पुस २०७३ मा अवैध सुन तस्करीमा पक्राउ परेका उनी २०७८ सालमा छुटेका थिए । त्यसबेला उनलाई रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा८च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो सुनसहित प्रहरीले पक्राउ गरेको थियो । सो समयमा गाडीको अगाडि भागमा रहेको एयरफिल्टरको बक्सभित्र लुकाएर ल्याइएका सातवटा एक–एक किलोका सुनका लाप्सा भेटिएको थियो । त्यतिबेला पनि सो गाडीका चालक कुसाङ नै थिए । अहिले फेरि उनै कुसाङले गाडीमै फल्स बटन बनाएर डलर र सुन बोक्ने गरेको दाबी प्रहरी अधिकारीहरू गर्छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा एसएसपी रमेश बस्नेत यस रकमको साइनो सुन खरिदसँग जोडिएको हुन सक्ने आशंका गर्छन् । ‘अहिलेसम्मको हाम्रो अनुसन्धानले यो डलर सुन खरिदका लागि चीन जाँदै थियो भन्ने देखाएको छ, थप अनुसन्धान हुन बाँकी नै छ,’ एसएसपी बस्नेतले भने । उनले यतिका धेरै विदेशी मुद्रा कसरी संकलन गरे भन्ने कुरा खुलिनसकेको प्रहरीले जनाएको छ । ‘बैंकबाट यति धेरै पैसा जुटाउन सम्भव नै छैन,’ प्रहरी स्रोत भन्छ, ‘पैसा साट्ने निजी निकायहरूमार्फत् अवैध रूपमा साटेको हुन सक्छ, अनुसन्धान भइरहेको छ ।’ प्रारम्भिक बयानका क्रममा चालक कुसाङले सो पैसा चीनको केरुङसम्म लैजान लागेको बयान दिएका छन् । उनले त्यो ट्रक रसुवागढीसम्म लगेर छाड्ने र रसुवाकै मानिस वा भिसाप्राप्त व्यक्तिको प्रयोग गरी त्यहाँबाट ट्रकलाई सीमा कटाएर केरुङसम्म पु¥याउने योजना बनाएको प्रहरी स्रोतको भनाइ छ । यसका मालिक पत्ता नलागेसम्म डलर कहाँबाट आयो भन्ने पत्ता लगाउन प्रहरीलाई पनि गाह्रो हुने देखिन्छ । जसकारण अबको अनुसन्धान भने डलरका मालिक खोजीमा केन्द्रित हुने प्रहरीले दाबी गरेको छ । प्रहरीले चालक कुसाङलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम अनुसन्धान गर्न राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरलाई बुझाएको छ । अब प्रहरी र राजस्व अनुसन्धान टोलीले बरामद भएको विदेशी मुद्राको सिरियल नम्बर रेकर्ड राखेर अनुसन्धान थाल्नेछन् । यो रकम विभिन्न कानुनी प्रक्रिया पूरा गरी सरकारी राजस्वमा दाखिला हुनेछ । सो रकम सोमबार साँझ मात्रै उनलाई दिइएको र उनले गाडीमा फल्स बटन बनाएर राखेको बताइएको छ । चालक कुसाङले दाबी गरेजस्तै सो रकमका मालिक चिनियाँ नागरिक रहेको प्रहरीको आशंका छ । ‘रकम चीन जाने र उताबाट सुन लिएर आउने भएपछि यसका मालिक पनि चिनियाँ हुनुपर्ने हाम्रो विश्लेषण हो,’ एक अनुसन्धान अधिकृत भन्छन् । प्रहरीका अनुसार २५ करोड रुपैयाँसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा भरिया मात्रै हुन् । उनले सो रकम एक चिनियाँ नागरिकले दिएको दाबी गरेका छन् । सामाखुसीमा ल्याएर एक चिनियाँ नागरिकले सो रकम गाडीमै दिएको उनले बताएका छन् । ‘त्यसपछि मैले सिटमाथिको सिलिङमा राखेको हुँ,’ चालक कुसाङलाई उद्धृत गर्दै एक अनुसन्धान अधिकृतले भने ।

Like