एक लाख २५ हजार दीप जनकपुरमा प्रज्जवलन
भोगेंद्रलाल कर्ण/धनुषा, पौष २७,
मुलुकमा विश्व हिन्दू परिषद् नेपालले अयोध्यास्थित श्रीराम मन्दिरको वार्षिकोत्सवका उपलक्ष्यमा आज जनकपुरधामको जानकी मन्दिरमा रङ्गोली प्रतियोगिता र दीप प्रज्जवल कार्यक्रम गरेको छ। उत्सवको प्रमुख आकर्षणका रूपमा राम मन्दिरको इतिहासको वृत्तचित्र आधुनिक प्रविधिमार्फत प्रदर्शन गरिएको थियो। जानकी मन्दिर परिसरमा प्रदर्शन गरिएको वृत्तचित्र अवलोकन गर्न स्थानीयका साथै विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको उपस्थित थियो। श्रीराम मन्दिरको वार्षिकोत्सवको अवसरमा जानकी मन्दिर, जनकपुरधाममा एक लाख २५ हजार दीप प्रज्जवलन गरिएको हो। मन्दिर निर्माणको इतिहास, यसको महत्व, आजको सन्दर्भमा यसको आवश्यकतालगायत विषयलाई आमनागरिक समक्ष ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको परिषद्ले जनाएको छ। श्रीराम मन्दिर निर्माणका क्रममा गरिएको सङ्घर्ष र बलिदानको इतिहासलाई स्मरण गर्दै यस उत्सवलाई भव्य र समृद्ध बनाउन सम्पूर्ण जनकपुरधामवासीलाई उपस्थित हुन परिषद्ले अनुरोध गरेको थियो।