बलियो स्थितिमा विभागीय टोली, मधेस फलोअनमा

Share to:

रासंसा/पर्सा, पौष २७,

मुलुकमा जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार सुरु भएको तेस्रो खेलमा विभागीय टोलीले बलियो सुरुवात गरेका छन्। सिंगल राउण्ड रोबिनका आधारमा भइरहेको प्रतियोगिताको अन्तिम खेलमा नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लबले बलियो सुरुवात गरेका हुन्। निर्धारित ओभरभन्दा तीन बल अघि नै पालि समाप्तिको घोषणा गरेको आर्मीका लागि भिम सार्की र बशिर अहमदले अर्धशतक बनाए। भिमले ५२ र बशिरले ६७ रन बनाएका हुन्। जारी प्रतियोगितामा भीमको यो पहिलो अर्धशतक हो भने बशिरको दोस्रो हो। बशिरले यसअघि बागमती प्रदेशविरुद्ध ५३ रन बनाएका थिए । यसैगरी आर्मीका इमरान शेखले ४२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाएनन्। वीरगन्जस्थित नारायणी क्रिकेट रंगशालामा पहिलो दिनको खेल समाप्ति हुँदा आर्मीले मधेस प्रदेशविरुद्ध एक सय २१ रनको अग्रता लिएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ५९.३ ओभरमा ९ विकेट गुमाउँदै दुई सय २५ रन बनाएको थियो। आर्मीविरुद्ध मधेसका युवा बलर रञ्जित कुमारले पाँच विकेट लिए। रञ्जित प्रतियोगिताको एकै पालिमा पाँच विकेट लिने छैठौं बलर बनेका छन्। उनले १६.३ ओभर बलिङ गर्दै ४४ रन खर्चिएर पाँच विकेट हात पारेका हुन्। मधेसको ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा आर्मीका साहब आलमले ६ विकेट लिए। आलमले यसअघि नेपाल पुलिस क्लबविरुद्धको पहिलो खेलमा १० विकेट लिएका थिए। आर्मीले पालि समाप्ति घोषणा गरेपछि ब्याटिङका लागि आएको मधेस पुनः कमजोर देखियो। मधेसले ३५.५ ओभरमा सबै विकेट गुमाउँदै एक सय दुई रन मात्र जोड्न सक्यो। मधेसका कप्तान हरिशंकर साहले ३१, अभिषेक तिवारीले १३, मयन यादवले ११ र प्रदीप पासवानले १० रन बनाए। मधेसका अन्य ब्याटर आर्मीविरुद्ध चल्न सकेनन्। एक सय दुई रनमा सबै विकेट गुमाएको मधेस फलोअनमा समेत परेको छ। टेस्ट क्रिकेटको पहिलो इनिङमा दुई सय रन र दुई दिवसीयमा एक सय रनले पछि पर्ने टोली फलोअनमा पर्नेछ। फलोअनमा परेपछि अलआउट भएलगत्तै पुनः ब्याटिङ गर्न उत्रिएको मधेसले एक ओभरमा दुई रन बनाएको छ। बागमतीलाई कम स्कोरमै रोक्ने क्रममा ललित राजवंशीले चार, सरवन यादवले तीन र कुशल भुर्तेलले दुई विकेट लिए। बागमतीविरुद्ध पहिलो पालि ब्याटिङ गर्न आएको पुलिसले ४५.५ ओभरमा सबै विकेट गुमाएर दुई सय १५ रन जोड्यो। पुलिसका लागि अमित श्रेष्ठले ७९ रन बनाए। अमितको यो प्रतियोगितामा पहिलो अर्धशतक हो । उनले ९७ बलमा १० चौका र दुई छक्का प्रहार गरे। त्यसैगरी जनकपुरस्थित रामजानकी अन्तर्राष्ट्रिय मैदानमा भएको पहिलो दिनको खेलमा नेपाल पुलिस क्लब बलियो स्थितिमा छ। टस हारेर ब्याटिङ गर्न आएको बागमती ३३.२ ओभरमा सबै विकेट गुमाएर एक सय १२ रन मात्रै जोड्न सक्यो। बागमतीका लागि इशान पाण्डेले आफ्नो पहिलो अर्धशतक पूरा गरे। इशानले ९४ बलमा १० चौकासहित ७१ रन बनाए भने प्रतीक श्रेष्ठले १२ रन जोडे। बागमतीका अन्य ब्याटर चल्न सकेनन्। त्यस्तै अर्जुन साउदले पनि आफ्नो पहिलो अर्धशतक बनाए। उनले ८२ बलमा आठ चौका र दुई छक्का प्रहार गरे। पुलिसका गुलशन झाले १७ रन बनाए। त्यसबाहेक पुलिसका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। पहिलो पालिमा एक सय तीन रनले पछि परेको बागमतीले दोस्रो पालि सुरु गरेको छ। पहिलो दिनको खेल समाप्ति हुँदा बागमतीले चार ओभरमा आठ रन बनाएको छ। पुलिसविरुद्ध बागमतीका कप्तान सन्दीप लामिछानेले चार विकेट लिए । यसैगरी नन्दन यादव र प्रतिश जिसीले दुई/दुई र रिजन ढकालले एक विकेट लिए। नेपाल क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा नेपाल पुलिस क्लबसहित मधेस प्रदेश, नेपाल आर्मी क्लब, बागमती प्रदेश सहभागी छन्। गत वर्ष सम्पन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको शीर्ष चार टोलीले जय ट्रफी खेलिरहेका छन्। यस प्रतियोगिताको शिर्ष दुई टोलीले फाइनल खेल्नेछन्। प्रतियोगिताको फाइनल खेल माघ १ गतेदेखि ३ गतेसम्म वीरगन्जमा हुनेछ। फाइनल खेल तीन दिवसीय हुनेछ।

Like