अन्य थपमुख्य समाचारविश्वसंचारसमाचारस्पेसलहेडलाइन

‘ट्वाइलेट पेपर’को पनि खेती गर्दै

Share to:

एजेन्सी,

विश्वमा पूर्वी केन्याको मेरुमा एउटा हरियो पात भएको बिरुवा पृष्ठभूमिमा हल्लिरहेको छ। मेरु निवासी बेन्जामिन म्युटेम्बेले रोपेको यो बिरुवा फलफूलका लागि उपयोग हुँदैन। प्लेन्ट्रान्थ्रस बार्बाटस पातैपात भएको बिरुवा हो, जुन दुई मिटरसम्म अग्लो हुन्छ। यसका पात दैनिक रूपमा प्रयोग गरिने ट्वाइलेट पेपर आकारको हुन्छ। यसको सुगन्ध मिन्ट र कागतीकै जस्तो छ। यसका ससाना भुवा पनि हुन्छन् र पातहरू निकै नरम हुन्छन्। ट्वाइलेट पेपरका रूपमा प्रयोग गर्न उमार्दै छन्। यो बिरुवाको नाम प्लेट्रान्थ्रस बार्बाटस हो। उनले सन् १९८५ देखि यो उमार्न थालेका थिए। ‘मैले यो मेरो हजुरबुवाबाट सिकें र त्यसबेलादेखि नै प्रयोग गर्दै आएको छु। यो नरम छ र सुगन्धयुक्त छ,’ उनी भन्छन्। गर्मी क्षेत्रमा पाइने यो बिरुवाको अर्को विशेषता सूर्यको प्रकाश कम भए पनि राम्रोसँग हुर्कन्छ। तर अफ्रिकी मुलुकमा भने यो व्यापक रूपमा उमारिन्छ। कहिलेकाहीँ त अफ्रिकामा यसलाई सम्पत्तिका रूपमा पनि गणना गर्ने गरिन्छ। म्युटेम्बेले मेरु, केन्यामा यो बिरुवालाई ट्वाइलेट रोलका रूपमा प्रयोग गर्न यसलाई उमार्ने गरेका छन् यो बिरुवाले म्युटेम्बेलाई केन्यामा ट्वाइलेट पेपर किन्ने सस्तो विकल्प दिएको छ। धेरै वस्तुजस्तै अफ्रिकामा ट्वाइलेट पेपरको मूल्य पनि बढेको छ। ट्वाइलेट पेपर बनाउने कच्चा पदार्थको उच्च मूल्य बढेयता विकल्पका रूपमा अचेल केन्यामा यसतर्फ सर्वसाधारणको आकर्षण बढेको हो। ‘यो लामो समयदेखि अफ्रिकी टिस्यु पेपरका रूपमा प्रयोग हुँदै आएको छ। मेरो परिवारका सबै सदस्यले यो बिरुवा प्रयोग गर्छन्। यसका पातहरू सबै चुँडिएका अवस्थामा मात्र आधुनिक ट्वाइलेट पेपर किन्छु,’ म्युटेम्बेको भनाइ छ। खासगरी पेपर टिस्यु बनाउने कच्चा पदार्थ पछिल्लो समय ७५–८० प्रतिशतले बढेको छ। नर्थ क्यारोलिना स्टेट विश्वविद्यालयका वन बायोमेटेरियल्स विभागका प्रोफेसर रोन्डल्स गोन्जालेका अनुसार प्रत्येक वर्ष विश्वभर लगभग १० लाखभन्दा बढी रूख ट्वाइलेट पेपर बनाउन काटिन्छन्। केन्याको राष्ट्रिय संग्रहालयमा परम्परागत बिरुवामा विशेषज्ञता राख्ने हर्बलिस्ट मार्टिन ओढियाम्बोका अनुसार ट्वाइलेट पेपरका लागि रूख काट्ने पर्यावरणीय कुप्रभावको समाधान तुरुन्तै गर्न सकिन्छ। उदाहरणका रूपमा उनी प्लेक्ट्रान्थस बार्बाटसलाई अघि सार्छन्। उनी भन्छन्, ‘अहिलेका धेरै युवालाई यो बिरुवाका बारेमा थाहा छैन तर यसले ट्वाइलेट पेपरका लागि पर्यावरणमैत्री विकल्प बन्ने सम्भावना छ।’ चुरोट र कागज उद्योग विश्वको सबैभन्दा ठुलो भर्जिन उड उपभोक्ता हो। यही भर्जिन उडलाई व्यापक रूपमा कागज उत्पादनका लागि काटिन्छन्। तिनले काटिएका रूखहरूको लगभग ३५ प्रतिशत प्रयोग गर्ने गरेका छन्। इथिकल कन्ज्युमर रिपोर्टका अनुसार यस्तो वनस्पतिको नाशले गर्दा जैविक विविधतामा क्षति भइरहेको छ भने माटोको क्षति, प्रजातिको विनाश र व्यापक पारिस्थितिकी तन्त्रको विघटनसमेत भइरहेको छ। स्थानीय केन्यावासीले ट्वाइलेट पेपरका रूपमा कति प्रयोग गर्छन् भन्ने कुनै आधिकारिक तथ्यांक त छैन तर अफ्रिकाका विभिन्न भागमा यो व्यापक रूपमा उमारिन्छ र धेरै ग्रामीण क्षेत्रमा यो सजिलै पाइन्छ। प्रयोग पनि व्यापक रूपमा भइरहेकै हुन्छ। अचेल ओढियाम्बो काम नै विभिन्न इच्छुकलाई यो पातको सहज प्रयोगबारे व्याख्यान दिनु हो। केन्याली राजधानी नैरोबीमा रहेको राष्ट्रिय संग्रहालयमा बोटविज्ञान बगैंचाबाट यसका कटिङ किन्छन्। ‘मेरो कक्षामा एक पटकमा ६ सय भन्दा बढी सहभागी हुन्छन्। उनीहरूलाई म यसको उपयोग गर्ने तरिका सिकाउँछु र यहीँबाट बिरुवा र बिउ बेच्ने गर्छु। उनीहरू घर फर्र्किंदा यी बिरुवा लिँदै फर्कन्छन्।’ यो बिरुवा एकै झमटको कटिङबाट एकदुई महिनामै पूर्ण उचाइमा पुग्छ र कटिङको लागत लगभग ५० केन्याली सिलिङ (४०.३७ डलर) हुन्छ। ‘पातहरू औद्योगिक रूपमा उत्पादन गरिएजस्ता ट्वाइलेट पेपरकै जस्तो चाक्लो आकार हुनाले यसलाई आधुनिक फ्लस ट्वाइलेटमा प्रयोग गर्न वा शौचालयमा कम्पोस्टिङका लागि सहज उपयोग गर्न सकिन्छ,’ ओढियाम्बो भन्छन्। यो बिरुवालाई अन्य देशहरूमा पनि ट्वाइलेट पेपरको विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ कि भनी अन्वेषण गर्न थालिएको छ। अमेरिकाको फ्लोरिडामा यस किसिमको प्रयोगलाई व्यापक बनाउने प्रयास रोबिन ग्रिनफिल्डले पनि गरिरहेका छन्। वातावरणीय अभियन्ताको परिचय बनाएका ग्रिनफिल्डले गत आधा दशकदेखि यो बिरुवालाई अमेरिकामा लोकप्रिय बनाउन भूमिका खेलिरहेका छन्। उनी आफैं पनि आफूले उत्पादन गरेका यो बिरुवाका पातहरू घर तथा कार्यालयमा उपभोग गरिरहेका छन्। ‘धेरै मानिसहरू ट्वाइलेट पेपरका रूपमा यो बिरुवालाई प्रयोग गर्नु भनेको आफू गरिब भएको महसुस गर्छन् तर अहिले तपाईंको ट्वाइलेटमा प्रयोग गरिरहनुभएको चिज पनि त बिरुवाबाटै बनेको त हो,’ ग्रिनफिल्ड भन्छन्। ग्रिनफिल्डले ‘आफ्नो ट्वाइलेट पेपर उमार्नुस्’ भन्ने अभियान चलाइरहेका छन् र आफ्नो फ्लोरिडास्थित नर्सरीमा एक सयभन्दा बढी प्लेक्ट्राथस बार्बटसका बिरुवा उमारिरहेका छन्। उनले यो बिरुवाका कटिङहरू निःशुल्क वा स्वैच्छिक दानमा दिइरहेका हुन्छन्। अहिलेसम्म सयौं मानिसहरूलाई कटिङ वितरण गरेको उनले बताएका छन्। केहीले भने यो बिरुवाको प्रयोगलाई निकै सकारात्मक लिएका छन्। तर यो बिरुवा व्यापक रूपमा प्रयोग हुन सक्छ त ? मानौं, भोलिका दिनमा संसारका आधा जनसंख्याले यो बिरुवा प्रयोग गर्न थाले भने के हुन्छ ? के यस्तो सम्भव होला त ? विज्ञहरूका अनुसार यसलाई ठुलो स्तरको उत्पादन गर्नेबारे अझै पनि कसैले सोचेको छैन। वेपाजस्ता केही कम्पनीले प्रयोग गरिसकिएका कतिपय कागजहरूलाई पुनः उत्पादन गरेर बजारमा पठाउने गरेका छन्। यसले पर्यावरणीय प्रभावलाई घटाउन भूमिका खेल्ने कम्पनीको राय छ। ग्रिनफिल्ड भन्छन्, ‘यो पात कम्पोस्ट हुन्छ। यो पात सुक्छ र जमिनमा कुहिन्छ। यही पात मल पनि बन्छ। मलले माटोलाई उर्वर बनाउँछ। यो एउटा गज्जबको चक्रीय प्रणालीको अंग बन्न पुग्छ।’ सामान्यतया हामीले प्रयोग गर्ने गरेको ट्वाइलेट पेपरको काठलाई कागजमा परिवर्तन गर्नुअघि चिल्याइन्छ। यसले वातावरणमा क्लोरिनेटेड यौगिकहरू छोड्छ। यी यौगिकहरूले कार्बन–आधारित तत्त्वहरूसँग प्रतिक्रिया गरे भने डाइअक्सिनहरू बन्छ। जुन क्यान्सर र अन्य स्वास्थ्य जोखिम बढाउने विषाक्त रसायन हुन्। तर पुनः प्रयोग गर्न मिल्ने कागजहरू उत्पादन गर्ने वेपाका उत्पादनले भने वातावरणमा निकै कम कुप्रभाव पार्ने वेपाका प्रवक्ता बताउँछन्। यसको एउटै कुप्रभाव भनेको पुराना ट्वाइलेट पेपरहरू रिसाइकल गर्ने कारखानाहरूमा फोहोर पानी फ्याँक्ने उचित प्रणाली जडान गरिएको हुँदैन। त्यो फोहोर पानी अन्य पानीसँग मिसिन जाँदा वातावरणलाई हानि पुर्‍याउँछ। त्यसो त प्राकृतिक रूपमा प्लेक्ट्रान्थस बार्बाटस जहीँतहीँ उत्पादन गर्न सकिँदैन। अमेरिकाको मिसौरी बोटानिकल गार्डनकी सहायक वैज्ञानिक वेन्डी एप्पलक्विस्ट भन्छिन्, ‘दक्षिण अफ्रिकामा यो बिरुवालाई आक्रामक प्रजाति मानिने हुनाले यसलाई उमार्न वा बेच्न प्रतिबन्ध लगाइएको छ। एप्पलक्विस्टको सुझाव छ, यस्ता बिरुवालाई नियन्त्रित वातावरणमा र विशेष क्षेत्रमा उमार्ने, आक्रामक वृद्धि भए वा नभएको नियमित अनुगमन गरिए फैलावटलाई सीमित गर्न सकिन्छ। तर यो बिरुवाको व्यापक प्रयोगको सबैभन्दा ठुलो चुनौती नै सार्वजनिक स्वीकृति हो। आक्रामक बिरुवाका प्रजातिहरूले विश्व अर्थतन्त्रमा प्रत्येक वर्ष चार सय २३ अर्ब डलरभन्दा बढीको हानि पुर्‍याउँछन्।’ यिनले जैविक विविधतालाई क्षति गर्ने भएकाले यसमाथि प्रतिबन्ध लगाइएको विज्ञहरू बताउँछन्। एप्पलक्विस्टको सुझाव छ, यस्ता बिरुवालाई नियन्त्रित वातावरणमा र विशेष क्षेत्रमा उमार्ने, आक्रामक वृद्धि भए वा नभएको नियमित अनुगमन गरिए फैलावटलाई सीमित गर्न सकिन्छ। तर यो बिरुवाको व्यापक प्रयोगको सबैभन्दा ठुलो चुनौती नै सार्वजनिक स्वीकृति हो। धेरैले यसलाई प्रयोग गर्नु भनेको जंगली युगमा फर्कनु मान्ने हुनाले यसलाई व्यापक रूपमा प्रयोग गर्न सम्भव भइरहेको छैन। तर यसको फाइदा मात्र होइन, यसलाई फेसनकै रूपमा अघि बढाउन सकिएको खण्डमा भने यसको व्यापक स्वीकृति असम्भव भने नरहेको ओढियाम्बोको विश्वास छ।

Like