प्राधिकरणको ट्राभल एजेन्सीलाई एकमुष्ट रुपमा टिकट बिक्रीको अधिकार खारेज गर्ने निर्णय

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक २४,

मुलुकमा नागरिक उड्डयन प्राधिकरणले हवाई टिकट उपलब्धता एवं सहज र सुलभ हवाई यातायात सञ्चालनका पाँच बुँदे निर्णय गरेको छ। बैठकले सम्पूर्ण वायुसेवा सञ्चालकहरुले ट्राभल एजेन्सीहरुलाई पछि टिकट बिक्री गर्ने गरी एकमुष्ट रुपमा टिकट बिक्रीको अधिकार हस्तान्तरण गर्ने व्यवस्था खारेज गर्ने र सम्पूर्ण वायुसेवा कम्पनीहरुले यसको अनिवार्य पालना गर्ने निर्णय गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी वे निर्माणका लागि दैनिक १० घण्टा विमानस्थल बन्द भएकाले हवाई यातायात सहज बनाउनका लागि शनिबार बसेको बैठकले पाँच बुँदे निर्णय गरेको हो। यस्तै सबै वायुसेवा सञ्चालकहरुले उडान वृत्त वमोजिमको हवाई भाडा सूचि तोक्ने तथा सार्वजनिक गर्नुपर्ने, ट्राभल एजेन्सीहरुसँग टिकट बिक्रीको सम्झौता गर्दा निश्चित संख्या मात्र बिक्री गर्न सकिने र तोकिएको परिधिमा रही मात्र सेवा शुल्क लिने गरी व्यवस्था मिलाउने जिम्मेवारी वायुसेवा सञ्चालकको हुने उल्लेख गरिएको छ। बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक, प्राधिकरणका पदाधिकारीहरु तथा अन्तर्राष्ट्रिय उडान गर्ने स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका प्रतिनिधिहरू सहभागी थिए।

Like