ब्रह्मबीज व्यक्तित्व
रासंसा/तनहुँ, भाद्र ३०,
मुलुकमा प्रत्येक व्यक्ति ब्रह्मबीज हुन्। यस अभिव्यक्तिको अभिप्राय यो हो की संसारका हरेक व्यक्तिमा अनन्त सम्भावनाको स्रोत हुन् भन्ने विचारलाई प्रकट गर्दछ। ब्रह्मबीजको प्रतीकात्मकता आत्मज्ञान, पवित्रता र सृष्टिको शक्तिसँग सम्बन्धित छ।
हरेक व्यक्तिमा अनन्त सम्भावना, असीमित ज्ञान र सृजनात्मकताको विद्यमानता रहन्छ, जसले जीवनलाई नयाँ दिशा दिनसक्ने अद्वितीय क्षमता राख्छ। यस सत्यलाई आत्मसात गर्नु भनेको सृष्टिको सारभूत रहस्यलाई बोधगर्न समर्थ रहनु हो।
व्यक्ति र अग्निलाई सावधानी र सदुपयोग गर्न सक्नु पर्दछ । किनकी व्यक्ति र अग्नि एकै प्रकृतिका हुन् । जसरी अग्निलाई सावधानीपूर्वक नछोइएमा यो विनाशकारी हुन सक्छ, त्यसरी नै ठीक तरिकाले बुझेर सदुपयोग गर्न सकेको खण्डमा यो उर्जाको महान स्रोत बन्दछ। यसरी नै व्यक्तिलाई पनि सतही रूपमा मात्र बुझ्न खोज्यौ भने नकारात्मक प्रभाव उत्पन्न हुनसक्छ। तर, जब हामी व्यक्तिको आन्तरिक पक्षलाई गहिरिएर सत्यलाई बुझ्न प्रयत्न गर्यौ भने उनीहरूबाट प्रेम, करुणा, र सहकार्यको उज्ज्वल शक्ति प्राप्त गर्न समर्थ हुन्छौ। यहाँ अग्निको यस प्रतीकात्मक तथ्यले हामीलाई व्यक्तिको शक्ति, उर्जा र स्वभाव बुझ्न लाई प्रेरित गर्दछ।
व्यति र अग्निलाई छुने होइन, जान्न प्रयास गर्नुपर्दछ । किनकी समाजमा प्रायः हामी बाहिरी रूप र व्यवहारको आधारमा कसैको मूल्याङ्कन गर्छौं। बाहिरी व्यक्तित्वको आवरणमा कोही विषालु वा निराशाजनक देखिन सक्छ। तर, वास्तविकता यो हो कि जब हामी कसैलाई गहिराइमा बुझ्न खोज्छौं, उनको वास्तविक स्वरूप प्रकट हुन्छ। त्यो स्वरूप सत्य, प्रेम, र करुणाको हुन्छ, जसले व्यक्तिलाई साच्चै उर्जाशील बनाउँछ। यसले हामीलाई अरूलाई परिष्कृत दृष्टिकोणले हेर्न र बुझ्न प्रेरित गर्छ। यसैले कुनै व्यक्ति र अग्नि लाई अनावश्यक चलाउनु र छुनु हुँदैन, यसको मर्म र भावना लाई वोधगर्ने प्रयत्न गर्नुपर्दछ।
जब हामी अरूलाई बुझ्न सफल हुन्छौं, हाम्रो आफ्नै दृष्टिकोण पनि परिष्कृत हुँदै जान्छ। एक व्यक्तिको वास्तविकता बुझ्न सफल हुँदा, हामी पनि आत्मज्ञानको मार्गमा अघि बढ्छौं।
निष्कर्षमा भन्नु पर्दा संसारका हरेक व्यक्तिमा निहित ब्रह्मबीजलाई उजागर गर्न प्रेरित गर्ने प्रयत्न गर्नु पर्दछ अनि मात्र आत्माको योग पर-आत्मा संग मिलाउन सक्दछौ । व्यक्ति विषालु या सार्थक जे पनि हुन सक्छन् भन्ने कुरा हाम्रो बुझाइमा निर्भर हुन्छ। जब हामी उनीहरूलाई गहिराइमा जान्ने र बुझ्ने प्रयास गर्छौं, त्यही व्यक्तिबाट हामी जीवनको अमूल्य पाठ सिक्न सक्छौं।
जय अघोर।