कल सेन्टरका नाममा क्रिप्टो कारोबार गर्ने ५० जना पक्राउ

Share to:

रासंसा/काठमाण्डौ, भाद्र २८,

मुलुकमा कल सेन्टरको आवरणमा डिजिटल वालेटमा डलर जम्मा गर्न लगाई क्रिप्टो करेन्सीको अवैध कारोबार गरेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ५० जनालाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले छापा मारेर दुई चिनियाँ र एक फिलिपिनो नागरिकसहित ५० जनालाई पक्राउ गरिएकामा आठ जनामाथि मुद्दा दायर भएको बताए । पक्राउ पर्नेमा एक जना फिलिपिनोसहित पाँच जना महिला छन् । सीआईबीले छापा मारेर क्रिप्टो कारोबारदेखि अनलाइन जुवा खेलेको आरोपमा दुई चिनियाँ र एक फिलिपिन्स नागरिकसहित ५० जनालाई पक्राउ गरेको हो । सो कल सेन्टरबाट अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छापा मारेको थियो । चिनियाँले सञ्चालन गरेको सो कल सेन्टरमार्फत आश्वासनमा पारी लगानी गर्न लगाउने र ठगी गर्ने जस्ता अवैध गतिविधि भएको पाइएको छ । स्क्रिनिङका क्रममा आठ जनाको प्रत्यक्ष संलग्नता भेटिएपछि उनीहरूविरुद्ध प्रहरीले अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरअन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको सीआईबीले जनाएको छ । एसपी बोगटीका अनुसार नियन्त्रणमा लिएकाहरूमध्येबाट ठगी र क्रिप्टो कारोबार गर्नेहरू आठ जनालाई मात्र मुद्दा चलाइनेछ । सीआईबीका प्रवक्ता एसपी बोगटीका अनुसार पक्राउपछि मुद्दा दायर भएकाहरूमा चिनियाँ नागरिक डिङ जिआहोङ, लिन क्विजिङ, फिलिपिन्सका महिला नागरिक हानिपा सिन्सुआत र नेपाली नागरिकहरू रौतहटका कमल कँडेल, इलामका सन्दीप आचार्य, झापाका सुजन प्रधान, सुनसरीका विजयबहादुर गिरी र नवलपरासीको बर्दघाटका सुदीप अधिकारी छन् । पक्राउ परेका आठ जना यसअघि पनि संयुक्त अरब इमिरेट्स (यूएई)मा क्रिप्टो कारोबार गरेको आरोपमा पक्राउ परेर स्वदेश फिर्ता भएका थिए । पछि चिनियाँ र फिलिपिनी नेपाल आएर नेपाली नागरिहरूसँग पुनः पहुँच बनाई क्रिप्टोको काम गरेको प्रहरी अनुसन्धानबाट खुलेको सीआईबीका प्रवक्ता एसपी बोगटीले बताए । सो समूहले ललितपुरको एकान्तकुनामा जगदीश उपाध्यायको तीनतले घर भाडामा लिएर कल सेन्टर चलाएको थियो । समूहले कल सेन्टरमा रोजगारी दिएर तीन दर्जनबढी नेपालीलाई काममा लगाई विदेशीलाई ठग्ने काम गरेको बताइएको छ । सो समूहले हिंगी, बुम्ब्ली, मुस्लिमा, इन्साह, सलाम, मुज्ज, ओपिक्वीड र अल्खाट्वालगायतका डेटिङ एपको प्रयोग गरेर ठगी गर्ने गरेका थिए । सो एपमा विदेशी महिलाको फोटो राखेर विदेशी नागरिकलाई साथी बनाई अनलाइन प्लेटफर्म ह्यासप्याकमार्फत क्रिप्टोको काम गरिरहेको सीआईबीको अनुसन्धानले देखाएको छ । पक्राउ परेकामध्ये चिनियाँ नागरिक जिआहोङ र क्विजिङ सञ्चालक हुन् । फिलिपिनी नागरिक सिन्सुआत ग्रुप लिडर तथा भाषा अनुवादक रहेको सीआईबीको अनुसन्धानले देखाएको छ । नवलपरासीका सुदीप अधिकारीले भने घरभाडा लिँदा सम्झौता गर्ने दोस्रो पक्षमा हस्ताक्षर गरेको प्रहरीले जनाएको छ । विदेशी नागरिकहरूले नेपालीहरूको समेत मिलेमतोमा जिल्ला ललितपुर महानगरपालिका वडा नं. १३ एकान्तकुना, एकताबस्तीस्थित जगदीश उपाध्यायको तीनतले घर भाडामा लिई कल सेन्टर सञ्चालन गरी नेपाली युवा युवतीलाई धेरै रकम आम्दानी हुने प्रलोभन देखाई गैरकानुनी रूपमा काममा लगाइरहेको सूचनाका आधारमा छापा मारेको सीआईबीको भनाइ छ । सीआईबीले छापा मारेर ५५ थान कम्युटर, १ सय ९४ वटा मोबाइल, चारवटा ल्यापटप र चारवटा राहदानी बरामद गरेको छ । सीआईबीले सोक्रममा ५६ हजार ६ सय थाइभाट, १ सय २३ अमेरिकी डलर, १० हजार तान्जानियन सिलिङ, सय चिनियाँ युआन, ७ सय ९५ यूएई दिराम, १ सय ७० टुर्किस लिरा र १ लाख ६२ हजार ५ सय नेपाली रुपैयाँ बरामद गरेको छ । डेटिङ एपमा विदेशी महिलाको प्रोफाइल पिक्चरका रूपमा प्रयोग गरी युरोप, अमेरिका र क्यानडालगायतका विभिन्न देशका पुरुष व्यक्तिलाई साथी बनाई घनिष्ट मित्रता कायम गर्ने गरेको पाइएको थियो । पक्राउ गरिएका विदेशी नागरिकसहितका नेपाली व्यक्तिहरू केही समयअगाडि संयुक्त अरब इमिरेट्समा सोही प्रकृतिका कारोबारमा संलग्न भएको अभियोगमा पक्राउ परी सम्बन्धित देशहरूमा फिर्ता डिपोर्ट भएका पनि पाइएको छ । अनलाइन प्लेटफर्म ह्यासप्याकमार्फत बाइनान्स, ट्रस्ट वालेटलगायतका विभिन्न डिजिटल वालेटहरूमा अमेरिकी डलर जम्मा गरी सोमार्फत गैरकानुनी अभौतिक मुद्रा (क्रिप्टो करेन्सी)मा लगानी तथा सोको कारोबारजस्ता क्रियाकलाप सञ्चालन गर्ने गरेको खुल्न आएको सीआईबीको भनाइ रहेको छ । अनुसन्धानपश्चात घटनामा संलग्न मुख्य आठ जना उपर ‘मुलुकी अपराध संहिता, २०७४ (संशोधनसहित) परिच्छेद ७(क) दफा २६२(क) ‘अभौतिक मुद्राको प्रयोग गर्न नहुने’ सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी ललितपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ गरिएका अन्य ४२ जना व्यक्तिहरूको हकमा हाजिर जमानीमा राखी अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रहरी उपरीक्षक बोगटीले बताए । विदेशमा वा नेपालभित्र रही क्रिप्टो कारोबारमा संलग्न रहेको पाइएमा संलग्नहरूउपर मुलुकी अपराध संहिता, २०७४ लगायत प्रचलित कानुनबमोजिम कारबाही हुनसक्ने भएकाले वैदेशिक रोजगार तथा अध्ययनको सिलसिला एवं विदेशमा स्थायी रूपमा बसोबास गरेका नेपाली नागरिकमाथि पनि कारबाही हुने भनाइ सीआईबीको छ । घरजग्गा बहालमा लगाउने घर तथा जग्गाधनीहरूलाई घरभाडामा लगाउँदा प्रचलित ऐन नियमबमोजिम प्रक्रिया पूरा भए नभएको सुनिश्चिततासमेत गर्न पनि प्रहरीले सचेत गराएको छ । गत वर्षको २ साउनमा भेप, ब्रेक सुलगायतको आवरणमा ६० किलो ७ सय १६ ग्राम बरामद गरिएको सुनकाण्डका अर्का अभियुक्त पक्राउ परेका छन् । अवैध सुन कारोबारतर्फ ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४ सय ४० रुपैयाँ ९० पैसा र नेपाल राष्ट्र बैंक ऐनसम्बन्धी कसुरतर्फ १५ करोड २५ लाख बिगो कायम गरी मुद्दा दायर भएको बताइएको छ । सुन भन्सार चोरी पैठारी तथा संगठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, मुद्दामा संलग्न व्यक्तिहरूले वाल्डो क्यासिनोमार्फत अवैध कारोबार गरेको समेतको अभियोगमा फरार रहेका प्रतिवादी मिन्ट सिङ टेरेन्स से नामक चिनियाँलाई सीआईबीले पक्राउ गरेको हो । उनी वाल्डो क्यासिनोका निर्देशक हुन् । पक्राउ परेकालाई काठमाडौं जिल्ला अदालत बबरमहल काठमाडौंको आदेशले पुर्पक्षका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाएको बताइएको छ ।

Like