आज हरिपरिवर्तिनी एकादशी व्रत, राष्ट्रिय बाल दिवस, प्राथमिक उपचार दिवस

Share to:

हरिपरिवर्तिनी एकादशी
आषाढ शुक्ल हरिशयनी एकादशीमा सुत्नु भएका भगवान बिष्णुले निन्द्रा अवस्थामा कोल्टेफेरेको दिन भएकाले यस एकादशीलाई हरिपरिवर्तिनी एकादशी भनिएको हो । शेषनागकोपिठ्यूँमा यसै एकादशीका दिन कोल्टे फेरेका कारण तीनै लोकका स्वामी भगवान विष्णुकोआज पूजा गरिन्छ । पूजापछि ताँबो, चाँदी, चामल र दही दान गरिन्छ । हरिपरिवर्तिनी एकादशीलाई जयन्ती एकादशी र वामन एकादशी पनि भनिन्छ । पापहरुको नाश गर्न यस एकादशीको ब्रत भन्दा ठुलो अरु कुनै उपाय नभएको शास्त्रीय मान्यता रहेको छ । हरिपरिवर्तिनी एकादशीमा निष्ठापूर्वक व्रत लिनाले वाजपेय यज्ञको फल प्राप्त हुने विश्वास छ ।पौराणिक कथन अनुसार भदौ महिनाको शुक्लपक्ष एकादशीको नाम हरिपरिवर्तिनी एकादशी हो । त्रेतायुगमा विरोचन नामक दैत्यका छोरा बलि विष्णु भगवानको परम भक्त थिए । तर उनले ईन्द्रसित पुर्वाग्रहरहेका कारण ईन्द्रलोक तथा सम्पूर्ण देवताहरूलाई पराजित गरेका थिए । बृहस्पति सहित ईन्द्रादि देवता बिष्णु समिप पुगी वेद मन्त्रद्वारा स्तुति गर्न थालेपछि बलिबाट देवगणलाई मुक्त गराउन बिष्णुले आफ्नो पाँचौं अवतारका रुपमा वामन रूप धारण गर्नुभयो। र, तेजस्वी बलिसंग आफ्नो पाईताला राख्न तीन पाइला भूमिको याचना गर्नुभयो । महाबलीले ती तीन पाइला जमीन आफ्नालागि अत्यन्तै सानो याचना ठानेर तीन पाइला भूमि दान दिने संकल्प गर्नुभयो ।तर बिष्णुले आफ्नो त्रिविक्रम रूपलाई फैलाएर भूलोकमा पद, भुवर्लोकमा जंघा, स्वर्गलोकमा कम्मर, मह:लोकमा पेट,जनलोकमा हृदय, यमलोकमा कण्ठ, सत्यलोकमा मुख राख्नुभयो भने दोश्रो पद स्वर्गलोकमा राख्नुभयो । अब तेस्रो पदकहाँ राखुँ भनेर बलिलाई सोध्दा बलिले बाचा स्वरुप आफ्नो शिर झुकाए र बिष्णुलेआफ्नो तेश्रो पद उनको टाउकामा राखेर मर्त्यलोक पाताल पुर्याईदिनुभयो । बिष्णुभक्त बलिले पाताललोकमा पनि बिष्णुसंगै रहने याचना गरेपछि भाद्रपद शुक्ल एकादशीका दिन बलिको आश्रममा बिष्णु स्वरुप रहनुभएको पौराणिक कथा अनुसार हरिपरिवर्तिनी एकादशीको मान्यता स्थापित हुन पुगेको हो ।
राष्ट्रिय बाल दिवसको
नेपालमा शासन पद्धति र शासकीय व्यवस्थाको परिवर्तन सँगै बाल दिवस मनाउने मिति पनि परिवर्तन भयो । नेपालले बाल अधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बाल अधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । अन्तर्राष्ट्रिय बाल दिवस भने नोभेम्बर २० तारिखमा मनाइने चलन छ । रत्नराज्य लक्ष्मीदेवी शाहले आफ्नो भारत भ्रमणका क्रममा भारतमा महात्मा गान्धीको जन्म दिनमा बाल दिवस मनाइएको देखेपछि नेपालमा पनि राज्य स्तरबाटै बालबालिका कालागि विशेष राष्ट्रिय दिवस मनाउने आशय लिएर फिर्ता आउनुभएको थियो । यसै आशय बाट प्रेरित भई वहाँले आफ्नो जन्म दिन भाद्र ४ मा राष्ट्रिय बाल दिवस मनाउन सुरु गरिएको थियो । विसं २०२१ मा नेपालमा पहिलो पटक राष्ट्रिय बाल दिवस मनाइएको थियो । बाल अधिकार भनेको बालबालिकाको बाच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने, आफ्नो बारेमा गरिने नीति निर्णय र सामाजिक गतिविधिहरूमा सक्रिय अर्थपूर्ण सहभागिता हुन पाउने आफ्नो विचार व्यक्त गर्न पाउने अधिकारहरूको सम्मिश्रण हो । बाल अधिकार सम्बन्धी महासन्धि सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्र सङ्घको महासभाबाट बालबालिकाको अधिकारका निम्ति पारित राज्य राज्यहरूबिचको एक साझा सम्झौता पत्र हो । बाल अधिकार आदर्श र घोषणा पत्रमा मात्र सीमित नराखेर यसलाई बाल विकासको व्यवहारिक स्वरूप दिन यस महासन्धिको प्रतिवादन गरिएको हो । नेपालले १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरिसकेको छ । आजको परिवर्तित समय सँगसँगै बाल अधिकारलाई देशको मूल कानुन संविधानमै पनि समेटिएको छ ।
बिश्व प्राथमिक उपचार दिवस
सन् २००० बाट अर्थात् सहश्राब्दिबाट IFRC को पहलमा यो दिवस मनाउन शुरु गरिएको हो । नेपाल एउटा सुन्दर देश हो तथापि शदियौं देखि जनस्वास्थका मुद्दाहरुमा धेरै सुधार हुन नसकेको तथ्य यस देशको सुन्दरतासंगै गाँसिएर आउँछ । हरेक गाउँपालिकामा स्वास्थ चौकी सैद्धान्तिक रुपमा त छ तर व्यबहारीक पक्षको मलिनो रुप र सिमाहरु हामीले देखेकै छौं । तालिमप्राप्त जनस्वास्थ सेवक अनि जागरुक जनस्वास्थ प्रशासकहरुको कदमको कमि लगायत अन्य थुप्रै संरचनागत समस्याले नेपाली गाँउहरु अझै पनि स्वास्थोपचारको मूलधारमा छैनन । प्राथमिक स्वास्थ उपचारको सहज तालिम र प्रावधानले नेपाली गाँउमा सामान्य कारणले मूल्यवान जीवनको बाजी थाप्नु पर्ने थिएन । हरेक वर्षको सेप्टेम्बर महिनाको दोस्रो शनिवार विश्व प्राथमिक उपचार दिवस मनाइन्छ । विश्व समूदायले अन्य वर्षहरु झै बिभिन्न कार्यक्रम अनि जागरण गर्दै प्राथमिक उपचार दिवस मनाउँदछन् । वर्ष २०२४ को यस दिवसको पा्रर्थमिक उपचार दिवसको नारा चाँही “First Aid and Sports” अर्थात् प्रार्थमिक उपचार र खेलकुद भन्ने लाग्दछ । बिभिन्न अध्यनहरुले नेपालमा सन् २०३० सम्म हृदयघात दर अहिलेको ९ प्रतिशतबाट बढेर करिब ३४ प्रतिशतमा पुग्ने तथ्याङ्क देखाएको छ । हरेक बर्ष करिब १० दशमलव २२ प्रतिशतले बढिरहेको नेपाली बाटोहरूमा हुने सवारी दूर्घटनाहरुमा बर्षेनी ५ दशमलव ४० प्रतिशत मृतकको संख्यामा बृद्धि भइरहेको छ । मान्छेको ज्यान जोगाउन तुरुन्तै स्वास्थोपचार शुरु गर्नु जरुरी हुन्छ, प्राथमिक उपचारको सहज उपलब्धता अनि तालिमकालागि नेपाल अझै सक्रिय बन्नुपर्छ । रक्तश्रावको समयमा रगत आएको शरीरको भागलाई उचाईमा राख्ने ताकि रगतको बहाव तल आउन गई रक्तश्राव रोकियोस् । औंलाको चापले रक्तश्रावलाई बन्द गर्ने या पट्टि लगाएर रक्तश्रावको बहाव कम गर्न पर्दछ । संक्षेपमा प्राथमिक उपचारका साध्यहरु भन्न चाह्यौं, यदि घाउ भएमा त्यसलाई सफा गरेर अनि साबुन पानीले सफासंग धुने, एन्टीसेप्टीक धुलो या मल्हम लगाउने गर्न जरुरी छ । जनावरले टोकेमा र घाउ भएमा तुरुन्त सफापानी अनि साबुनपानीले धुने र अस्पताल लान जरुरी छ । बिभिन्न संक्रमणहरु जस्तै रेबिज लगायत अन्य संक्रमण बिरुद्धको खोप पनि स्वास्थकर्मीको सल्लाहमा लगाउनु पर्दछ । प्राथमिक उपचार दिवसमा प्राणरक्षार्थक उपचार सीपहरु सक्दो छलफल गर्ने र बाँड्ने प्रयास गरौं । अचेत मान्छेहरुको नारीमा छामेर पल्स पत्ता लगाउने अनि ३० सेकेन्ड भन्दा धेरै पल्स मधुरो भएमा या हराएमा सीपीआर अर्थात कृत्रिक श्वाँसप्रश्वासको प्रक्रियामा जानु पर्दछ । सर्वत्र शान्ति र समृद्धीको कामना ।

Like