सडक बालबालिकालाई सडकबाट २०८१ सालभित्रै मुक्त गर्छौं – प्रधानमन्त्री के. पी. शर्मा ओली
रासंसा/काठमाण्डौ, भाद्र २९,
मुलुकमा प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने बताएका छन्। बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई २०८१ सालभित्रै मुक्त गरिने प्रतिबद्धता व्यक्त गरेका हुन्। बालबालिकाले पाउनुपर्ने बाल अधिकार, माया, ममता, स्नेह, स्वास्थ्य, शिक्षा, मनोरञ्जन पाउन नसकेको शुभकामना सन्देशमा उल्लेख छ। ओलीले ठूलो सङ्ख्यामा बालबालिकाहरु कुपोषणको सिकार भइरहेको र विद्यालय जानबाट वञ्चित रहेको भन्दै यस अवस्थाबाट बालबालिकालाई बाहिर निकाल्नुपर्नेमा जोड दिए। कतिपय बालिबालिका अहिले पनि सडक बालबालिकाका रुपमा रहनुपर्ने बाध्यताबाट पिल्सिएको उनको भनाई छ। प्रधानमन्त्री ओलीले बालबालिकाका लागि प्रतिकूल अवस्था हटाएर अनुकूल अवस्था सिर्जना गर्न बालमैत्री वातावरण बनाउन सरकार लागि परेको बताए। ‘पोषणयुक्त खाना, न्यानो नाना, विद्यालय जाने र गुणस्तरीय शिक्षा पाउने अवसर, स्वस्थ्य रहन पाउने अधिकार उपलब्ध गराउनैपर्छ। बालविकास विभिन्न कार्यक्रम सञ्चालन भए पनि ती प्रभावकारी हुन सकेका छैनन्। ’ उनले भने,‘बालबालिका मानव जातिका भविष्य हुन्। हाम्रा तमाम् अभिभावकले बालबालिकालाई स्नेहपूर्वक रुपमा हुर्काउन, तिनको उपयुक्त बौद्धिक, मानसिक र शारीरिक विकास गर्नका लागि भूमिका खेल्नुपर्छ।’ ओली बालबालिकालाई सही आचारण सिकाउँदै समृद्ध नेपाल, सुखी नेपालीको नारा पूरा गर्न बालबालिकामा लगानी गर्नुपर्ने बताएका छन्।