सिरोहिया पक्रन आनाकानी गरेपछि आईजीपीसँग रिसाएका थिए लामिछाने
रासंसा/काठमाण्डौ, ज्येष्ठ १०,
मुलुकमा कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ‘आनाकानी’ गरेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गुहारेको खुलासा भएको छ । सिरोहियालाई पक्राउ गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत गम्भीर चासो देखाएको बताइएको छ । ३१ जना सम्पादकहरूका तर्फबाट प्रतिनिधिका रूपमा प्रतीक प्रधान, अमित ढकाल, मदन लम्साल र पुष्प दुलाल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए । सिरोहियाको नागरिकतालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीकै एक कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय धुनषामा ‘नियोजित’ रूपमै उजुरी दर्ता गराएका थिए । गृह मन्त्रालयको बागडोर सम्हालिरहेका लामिछानेकै योजनामा प्रहरीमा उजुरी दर्ता गरिएको थियो । त्यसपछि प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो । प्रमुख सञ्चारगृहका सम्पादकहरूले लेखेको संयुक्त पत्र बुधबार अपराह्न बुझ्ने क्रममा प्रधानमन्त्री प्रचण्डले आफू तत्काल सिरोहियालाई पक्राउ गर्ने मनस्थितिमा नरहेको बताउँदै भने, ‘हिजो बिहानसम्म पनि म कैलाशजीलाई समाउने बेला भएको छैन, त्यसो नगरौं भन्नेमा नै थिएँ, तर अदालतले नै पक्राउ गर्न आदेश दिइसकेको अवस्थामा मैले त्यसो नगरौं भन्ने अवस्था भएन, त्यसैले कैलाशजीको पक्राउसम्बन्धी मैले जिम्मेवारी लिनुपर्छ, लिन्छु ।’ उच्च स्रोतका अनुसार जिल्ला अदालतबाट पक्राउका लागि अनुमति लिएपछि सिरोहियालाई नागरिकता मुद्दामा पक्राउ गर्न गृहमन्त्री लामिछानेले प्रहरी महानिरीक्षक कुँवरलाई निर्देशन दिएका थिए । तर, कुँवरले एकपटक प्रधानमन्त्रीलाई सोध्ने कि भनेर ‘अल्झाउन’ खोजेका थिए । त्यसपछि गृहमन्त्री लामिछाने अदालतको आदेश आइसक्दा पनि केको अप्ठेरो भन्दै प्रहरी महानिरीक्षक कुँवरसँग रिसाएका थिए । त्यसपछि लामिछाने आफंै बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग कुराकानी गरेका थिए । त्यसपछि प्रधानमन्त्रीले प्रहरी महानिरीक्षक कुँवरलाई टेलिफोन गरी सिरोहियालाई पक्राउ गर्न निर्देशन दिएका थिए । सम्पादकहरूले लेखेको संयुक्त पत्र बुझ्ने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रेससँग अनावश्यक झमेला सिर्जना गर्ने वा दूरी बढाउने पक्षमा सरकार नरहेको पनि बताएका थिए । प्रधानमन्त्री प्रचण्डले पत्रमा व्यक्त भावलाई गम्भीर रूपमा लिएको भन्दै सकारात्मक पहलको आश्वासन दिएका थिए । सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सिरोहिया पक्राउ’bout रुचि देखाएको बालुवाटार स्रोतले दाबी गरे पनि सम्पादकहरूसँग प्रधानमन्त्री प्रचण्डले विस्तृत खुलाउन चाहेनन् । ‘उहाँले हाम्रो पत्रलाई सकारात्मक रूपमा लिएको सुनाउनुभयो, अदालतको आदेश आइसकेपछि त्यसलाई कार्यान्वयन गर्नु सरकारको दायित्व भएको भन्नुभयो,’ पत्र बुझाउन बालुवाटार गएका बाह्रखरी डटकमका सम्पादक प्रतीक प्रधानले प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै भने । प्रधानमन्त्री प्रचण्डले सिरोहिया आवश्यक कानुनी प्रक्रियापछि छुट्ने आशा रहेको बताएको पनि सम्पादक प्रधानले जनाए । कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश जारी गरिएको छ । जिल्ला अदालत धनुषा, जनकपुरधामका न्यायाधीश चुरामन खड्काको एकल इजलासले बुधबार अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश जारी गरेकोे हो । अध्यक्ष सिरोहियाविरुद्ध नागरिकतासम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले मंगलबार पक्राउ पुर्जी जारी गर्न आदेश दिएको थियो । लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई र प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई कान्तिपुर पब्लिकेसनको थापाथलीस्थित उनकै कार्यकक्षबाट पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धानका लागि बुधबार बिहान जनकपुर ल्याइपु¥याइएको थियो । यसअघि प्रहरीले बुधबार बिहान ११ बजे सिरोहियालाई जिल्ला अदालतमा उपस्थित गराई पाँच दिनको समय माग गरेको थियो ।