नेपाली कांग्रेसको सदन-सडक आन्दोलन सशक्त बनाउने तयारी
रासंसा/काठमाण्डौ, ज्येष्ठ १०,
मुलुकमा संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार पक्षको पछिल्ला गतिविधिका विरुद्ध सदनदेखि सडकसम्म आन्दोलनलाई सशक्त बनाउने तयारी गरेको छ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने नै सहकारी ठगीमा संलग्न रहेको प्रमाण पेस गर्दै उहाँमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित निरन्तर सदन अवरोध गर्दै आएको कांग्रेसले थप कार्यक्रमको घोषणा गरेको छ। पार्टी केन्द्रीय समिति र संसदीय दलको बुधबार बसेको संयुक्त बैठकले सरकारविरुद्धको आन्दोलनलाई सशक्त बनाउने निर्णय लिएको हो। कांग्रेसका नेताहरूका अनुसार आगामी शुक्रबारबाट सडक आन्दोलनको तयारी भइहेको छ। पार्टीको बैठकमा अधिकांश नेताहरूले गृहमन्त्री रवि लामिछानेसहित समस्याग्रस्त सहकारीहरूको छानबिन गर्न संसदीय छानबिन समिति गठनको बटम लाइन छाड्न नहुने विचार राखेका थिए। बैठकमा पार्टीका अधिकांश नेताहरूले भ्रष्टाचारविरूद्ध कठोरताका साथ संसद्देखि सडकसम्मको एजेन्डा बनाउनुपर्ने आवाज उठाएको सांसद प्रतिमा गौतमले जानकारी दिनुभयो। बैठकमा युवा नेताहरूले माओवादी लडाकुको क्यानटोनमेन्टमा भएको भनिएको आर्थिक हिनामिना, झापास्थित गिरीबन्धु टि–स्टेटको जग्गा बिक्री प्रकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत जोडिएको भनिएको (कुकुल्यान्ड) काण्ड टेलिकम घोटालाबारे पनि पार्टीले ठोस धारणा बनाउनुपर्ने आवाज उठाएका छन्। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘सरकार अधिनायकवाद उन्मुख रहेको निष्कर्षसहित कांग्रेसले काठमाडौंमा सडक प्रदर्शन गर्ने निर्णय गरेको छ।’ विगतमा शीर्ष नेताहरू मुछिएका भनिएका भ्रष्टाचार काण्डलाई पार्टीले अब साझा एजेन्डा बनाउनुपर्ने र पूर्ण भ्रष्टाचार नियन्त्रणको लागि लड्नुपर्नेमा जोड रहेको बैठकमा सहभागी नेताहरूले बताएका छन् । उनीहरूले आन्दोलनका लागि भ्रातृ तथा शुभेच्छुक संगठनहरू र उपत्यका पार्टी संरचनामा रहेका नेताहरूसमेतको सहभागिता रहने बताएका छन्। उहाँले भन्नुभयो –‘सहकारी पीडित भएका ७१ लाख बचतकर्तालाई रकम फिर्ता गरेर न्याय दिलाउने कुरामा कांग्रेसले सदनमा संसदीय समिति बनाउन माग राखेको छ । तर, स्वयम् गृहमन्त्रीजी सहकारी ठगीमा मुछिएका कारण सत्ता पक्षले छानबिनका लागि तयार नभई बलमिच्याइँ गरेर प्रतिपक्षको अवरोधका बाबजुत सदनमा ताण्डव गरेको छ । यसका विरुद्ध कांग्रेस सडकमा ओर्लन बाध्य भएको छ। कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले केन्द्रीय समितिको बैठकपछि उपत्यकाभित्रका पार्टी जिल्ला नेतृत्व र भ्रातृ संगठनका प्रमुखहरूसँग समेत बैठक बसी सडक संर्घषको तयारीमा लागेको बताउनुभयो। लाखौं बचतकर्ताको रकम अपचलन गर्ने व्यक्ति नै गृहमन्त्री भएर बसेपछि गृहमन्त्री मातहतका निकायलाई निष्पक्ष अनुसन्धान गर्न नदिइने भएकाले गृहमन्त्री लामिछानेले राजीनामा नै दिनुपर्ने उहाँको भनाइ थियो। सहकारीको रकम अपचलन गरेको आरोप लागेको उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले आफैँ गृहमन्त्री भएपछि आफूमाथि भइरहेको अनुसन्धान रोकेको र प्रमाण नष्ट गर्न भूमिका खेलेकाले संसदीय छानबिन गर्नुपर्ने कांग्रेसले निष्कर्ष निकालेको छ। सहकारी काण्डमा गृहमन्त्रीमाथि लागेको आरोपमा मिडियाले प्रश्न उठाएकै भरमा गृहमन्त्रीले मिडियामाथि डण्डा चलाएर अधिनायकवादी कार्यशैली अपनाएको कांग्रेसले दाबी गरेको छ। सहकारी ठगीको मुद्दा ओझेलमा पारेर ७१ लाख सर्वसाधारणको रकम फिर्ता नगर्न प्रेसमाथि आक्रमण शुरू गरिएको जिकिर गर्दै कांग्रेस सांसद रामहरि खतिवडाले भन्नुभयो– ‘गृहमन्त्रीले प्रतिशोधका आधारमा कान्तिपुर गरेको हमला प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रमाथिकै प्रहार हो ।’ कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भन्नुभयो–‘कांग्रेसको मागमा सरकारले बेवास्ता गरेको छ भने सभामुखले पनि तटस्थ भूमिका निभाएका छैनन्। लाखौं नागरिकले दुःख गरेर बचत गरेको रकम सरकार पक्ष फिर्ता गर्न चाहँदैन । त्यसका विरुद्ध कांग्रेस सदनदेखि सडकसम्म पुग्न बाध्य भएको छ।’ सरकारले गृहमन्त्रीसहित सहकारी ठगी गर्नेमाथि छानबिन गर्न समिति नबनाउँदासम्म कांग्रेसले सदन अवरोधबाट जारी राख्ने र सडक आन्दोलनलाई समेत सशक्त बनाउने निर्णय गरेको विश्वकर्माले जानकारी दिनुभयो । उक्त कार्यमा अन्य प्रतिपक्षी दलहरू समेतको सहभागिता रहने कांग्रेसले जनाएको छ।