लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा विशेष कार्यक्रम, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने
रासंसा/काठमाण्डौ, ज्येष्ठ १०,
मुलुकमा २५६८ औं बुद्ध जयन्तीको अवसरमा आज लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना गरिँदै छ। हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन नेपालमा राष्ट्रिय पर्वको रूपमा गौतमबुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको सम्झनास्वरूप मनाउने गरिन्छ। बुद्ध जन्मस्थल लुम्बिनीमा आज बुद्धजयन्ती विशेष समारोह एवं लुम्बिनी दिवस–२०८१ को प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। समारोहमा सहभागी हुन प्रधानमन्त्री बुधवारै लुम्बिनी पुगिसकेका छन्। बहुसंख्यक बौद्ध धर्मावलम्बीहरू रहेका चीन, श्रीलङ्का, भुटान, थाइल्यान्ड, म्यान्मार, कम्बोडिया, मङ्गोलियालगायत देशमा पनि बुद्ध जयन्ती विशेष उत्सवको रूपमा मनाउने गरिएको छ। अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा हुने मूल समारोहमा प्रधानमन्त्री दाहालसँगै संघीय मन्त्रीहरू, प्रदेश मुख्यमन्त्री, मन्त्री, सांसदहरूसहित उच्चस्तरीय पदाधिकारी, कूटनीतिक नियोग र विदेशी पाहुनाको समेत सहभागिता रहने लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले बताए। बुधवार साँझ भारतीय दूतावाससँगको साझेदारीमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो भने हिजो साँझदेखि नै मायादेवी मन्दिरमा महापरित्राण पाठ जारी छ। आज बिहान ६ बजेदेखि अन्तर्राष्ट्रिय भिक्षुभिक्षुणीहरूको सहभागितामा प्रार्थनासभा र बिहान साढे ७ बजे ५ नम्बर गेटबाट शोभायात्रा गरिएको छ। बुद्ध जयन्तीको अवसर पारेर आजै बिहान नेपाल, भारत र श्रीलंकासम्म पुग्नेगरी त्रिदेशीय मोटरसाइकल यात्रासमेत शुभारम्भ समेत गरिएको उपाध्यक्ष लामाले जानकारी दिए। ४६ वर्षअघि १९७८ सालमा लुम्बिनी गुरुयोजनाको काम सुरु भएको थियो। तत्कालीन समयमा लुम्बिनीका आठवटा गाउँ विस्थापित गरी तीन वर्ग माइल अर्थात् ११ सय ५० बिघा क्षेत्रमा विस्तारित लुम्बिनीको गुरुयोजना निर्माण भएको थियो। गुरुयोजनामा एक÷एक वर्ग माइलका तीनवटा क्षेत्र छन् । पवित्र उद्यान, विहार क्षेत्र र लुम्बिनी ग्राम। दक्षिणतर्फको पवित्र उद्यानमा बगैँचा, सुन्दर पोखरी, पुरातात्त्विक तथा ऐतिहासिक धरोहर छन्। उद्यानदेखि उत्तरतर्फ विहार क्षेत्र छ। गुरुयोजना सम्पन्न गर्न पर्याप्त बजेट आवश्यक पर्ने भए पनि नेपाल सरकारको प्राथमिकतामा पर्न नसक्दा समयमै सम्पन्न गर्न चुनौती रहेको कोषका उपाध्यक्ष ल्हारक्याल लामा बताउँछन्। केही संरचना निर्माण सम्पन्नको चरणमा रहेको र बाँकी बहुवर्षे ठेक्का सम्झौतामा गइसकेकाले छिट्टै सम्पन्न हुने कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए। १९७८ देखि सुरु भएको लुम्बिनी गुरुयोजनाको काम ८५ प्रतिशत सकिएको कोषले जनाएको छ। सरकारले लुम्बिनी गुरुयोजनालाई गौरवकै आयोजनामा राखे पनि बजेटमा प्राथमिकतामा नपारिएको कोषका पदाधिकारी र कर्मचारीको गुनासो छ। बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक उत्खननको श्रेय खड्गशमशेर राणालाई जान्छ। १८९६/१८९७ मा खड्गशमशेरको नेतृत्वमा अंग्रेज भारतका अनुसन्धानकर्ता एलोइस फुहररले उत्खनन गरी लुम्बिनीमा अशोक स्तम्भ फेला पारेका थिए। त्यसपछि विभिन्न कालखण्डमा लुम्बिनीको उत्खनन गरियो। सन् १९९७ मा लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको हो। लुम्बिनी भ्रमणबाट फर्केपछि थान्तले अन्तर्राष्ट्रि कमिटी फर डेभलपमेन्ट अफ लुम्बिनी नामक कमिटी गठन गरी एक मिलियन डलर आर्थिक सहयोग उपलब्ध गराए। लगत्तै नेपाल सरकारले लुम्बिनी विकास समिति गठन ग¥यो। उ. थान्तकै सक्रियतामा सन् १९७२ मा जापानका बास्तुविद् प्रोफेसर केन्जो टाङ्गेलाई हायर गरी लुम्बिनीको व्यवस्थित विकासका लागि गुरुयोजना तयार गर्ने जिम्मा लगाइयो। लुम्बिनीको बृहत्तर विकासको अभियान भने सन् १९६७ देखि सुरु भएको हो। बृहत्तर लुम्बिनीका अभियन्ता संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उ. थान्त म्यानमारका नागरिक थिए। थान्त महासचिव हुँदा सन् १९६७ मा लुम्बिनीको भ्रमण गरे। उनले लुम्बिनी विश्वका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र बन्न सक्ने भन्दै बृहत्तर विकासमा राष्ट्रसंघले सहयोग गर्ने प्रस्ताव नेपाल सरकार (तत्कालीन राजा महेन्द्र) समक्ष पेस गरे। टाङ्गेको बृहत् गुरुयोजना सन् १९७८ मा पारित भई सुरु भएको हो। ४६ वर्षअघि यो गुरुयोजना निर्माण गरिँदा ५५ मिलियन डलरको लागतमा १९५५मै सम्पन्न गर्ने लक्ष्य राखिएको कोषको अभिलेखमा पाइन्छ। तर पछिल्ला वर्षहरूमा कोषलाई राजनीतिक नियुक्तिको अखडा बनाउने परिपाटीका कारण लुम्बिनी गुरुयोजना सम्पन्न हुन नसकेको कोषका पूर्व पदाधिकारी तथा सदस्यहरू बताउँछन्। गुरुयोजना समयमै पूरा नहुँदा यसले लुम्बिनीको विकास र पर्यटन विस्तारमा सोचेअनुरूप प्रगति हुन सकेको छैन।