कहिले आउला मनकामना मन्दिरमा गणतन्त्र ?

Share to:

रासंसा/गोरखा, बैशाख ०५,

मुलुकमा राजा मरेपछि राजाको जेठो छोरा राजा हुने चलन अब नेपालमा छैन । गणतन्त्र आएपछि तीन तहका सरकार छन् । जनअपेक्षा हुबहु पूरा नभए पनि गच्छेअनुसार काम गरिरहेकै छन् । गणतन्त्रले राजसंस्था फाले पनि गोरखाको मनकामना मन्दिरमा राजसंस्थाको प्रवृत्तिगत अवशेष अझै कायम छ । यहाँ पुजारीको जेठा छोरा नै पुजारी हुन्छन् । निसानबहादुर थापा मनकामना मन्दिरका पुजारी हुन् । उनका बाबु इन्सानबहादुर थापा २०४० सालदेखि मुल पुजारीको रुपमा कार्यरत छन् । २०२६ देखि पूजा कर्म थालेका उनले बाबुको मृत्यु नहुँदासम्म पुजारीमात्रै भएर काम गरे । बाबुको मृत्युपछि इन्सान मुल पुजारीमा बढुवा भएका हुन् । निसान पनि बाबुले पूजाकर्म नछोड्दासम्म पुजारी भएर काम गर्छन्, बाबुको सेखपछि उनी मुल पुजारी बन्छन् । थापा परिवारले २१ पुस्तादेखि मनकामना मन्दिरमा पूजाअर्चना गर्दै आएको छ । २०४० सालमा बाबुको मृत्युपछि इन्सानका काकाले आफू मुल पुजारी हुन पाउनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले इन्सानकै पक्षमा फैसला सुनायो । उनीहरू वंशका रुपमा मात्रै होइन, स्रोतको प्रयोगमा पनि राजकीय ठाँट चलाउँछन् । मनकामना मन्दिरमा चढाइने भेटीमा पुजारीकै मनमौजी छ । मन्दिरको भेटीलाई सरकारीकरण गर्नुपर्ने आवाज स्थानीयले पटकपटक उठाएका छन्, तर कसैले सुन्दैन । दिनमै औसत ५ हजार व्यक्तिले मन्दिर दर्शन गर्छन् । सुन चढे पनि, चाँदी चढे पनि, द्रव्य, नैवेत जे चढे पनि पुजारीले भागबण्डा लगाएर लिन्छन् । जिन्सीबाहेक महिनाको करोडभन्दा बढी भेटी मन्दिरमा चढ्छ, कति भेटी चढ्छ, मन्दिरमा के के चढ्छ सबै अदृश्य छ । दुई कार्यकालसम्म धार्मिक क्षेत्र विकास समितिको अध्यक्ष भएर काम गरिसकेका दिनेश जोशी धेरै प्रयत्न गर्दा पनि भेटी व्यवस्थित गर्न नसकेको बताउँछन् । उनको बुझाइमा पुजारीकै कारण भेटी राष्ट्रियकरण हुन नसकेको हो । ‘पुजारी परम्पराको नाममा अरुलाई दिन नचाहने, हिजोको तरिकाले चलिरहने । दिन नपरे हुन्थ्यो जस्तो गर्ने,’ उनले भने, ‘कुरा उठ्न थालेपछि नेता र अदालतसम्म बिटो लिएर पुग्ने । अहिलेसम्म यस्तै चलिरहेको छ ।’ मनकामनामा कति भेटी चढ्छ भन्ने यथेष्ट जानकारी पुजारी बाहेक कसैसँग छैन । समितिमा बसेकाहरूले गरेको अनुमानमा मासिक २ करोडभन्दा बढी भेटीघाटी (जिन्सी सहित) मन्दिरमा भक्तजनले चढाउँछन् । दिनमै औसत ५ हजार व्यक्तिले मन्दिर दर्शन गर्छन् । ‘सुन चढे पनि, चाँदी चढे पनि, द्रव्य, नैवेत जे चढे पनि पुजारीले भागबण्डा लगाएर लिन्छन् । जिन्सीबाहेक महिनाको करोडभन्दा बढी भेटी मन्दिरमा चढ्छ,’ जोशीले भने, ‘कति भेटी चढ्छ, मन्दिरमा के के चढ्छ सबै अदृश्य छ । करोडौँ कमाउने पुजारीले राज्यलाई कर तिर्दैनन् । त्यसबाट विकास निर्माणको काममा खर्च हुँदैन । राज्य निरीह छ ।’ हालका अध्यक्ष रामकुमार श्रेष्ठ सरकारले तदारुकता देखाए भेटी व्यवस्थापन गर्न सकिने बताउँछन् । ‘पुजारीसँग मात्रै सल्लाह लिएर हुने होइन, कानुन बनाएर व्यवस्थित गरे पुजारी नियमभित्र आउनैपर्छ,’ उनले भने, ‘सरकारले आँट गर्नुपर्यो । भेटी एउटा व्यक्तिले खाने कानुनी आधार छैन । देवीलाई चढाएको भेटी संस्थाकै नाममा हुनुपर्छ ।’ पुजारीले पठाउने बोकाका टाउकोको भरमा कोही बिक्न नहुने उनको भनाइ छ । उनको कार्यकालमै मन्दिरको भेटी सरकारीकरण हुनुपर्ने आवाज उठेको हो । त्यसका लागि केही बैठक मन्त्रालयमा पनि बसेको थियो । बैठकमा पुजारी सहभागी थिए । तर पछि सम्बन्धित निकायले चासो दिएनन् । सरकारले धार्मिक क्षेत्रमा हुने भेटीको व्यवस्थापन गर्न २०७३ सालमा भेटी व्यवस्थापन निर्देशिकाचाहिँ बनायो । त्यसकै आधारमा काठमाडौँको पशुपतिनाथ मन्दिरसँगै पोखराको विन्ध्यावासिनी मन्दिरमा निर्देशिका अनुसार काम भइरहेको छ । पुजारी तलबमा छन्, आम्दानी समितिले लिन्छ र विकासमा खर्च गर्छ । मनकामना मन्दिरको भेटी व्यवस्थापनका विषयमा बेलाबखत आवाज उठे पनि निष्कर्षमा पुगेको छैन । २०५३ को गठनादेश अनुसार धार्मिक क्षेत्र विकास समिति क्रियाशील छ । भेटीलाई व्यवस्थित गर्न अहिले पनि पटकपटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बैठक बसेको र प्रक्रियामा लगे पनि फाइल अघि बढ्न नसकेको श्रेष्ठले सुनाए । उनले समितिलाई जिम्मा दिए २० करोडसम्म वार्षिक आम्दानी गर्न सक्ने बताए । ‘कति भेटी उठ्छ, थाहा छैन । तर सबै अधिकार समितिलाई दिने हो भने २० करोडसम्म वर्षमा आम्दानी गर्छु,’ उनले भने । पुजारी थापा पनि आफ्नो र परिवारको व्यवस्थापन गरे भेटी संस्थागत गर्न अवरोध नगर्ने बताउँछन् । ‘राज्यको नियममा म नबस्ने भन्ने हुँदैन । तर परम्परा धान्नुपर्छ । पुस्तौँदेखि यसैमा जोडिएको मेरो परिवारलाई राज्यले यथोचित सम्बोधन गर्नुपर्छ,’ उनले भन्दै आएका छन्, ‘म बाटो फुकाउन तयार छु ।’ सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापाले मनकामना पालिका अन्तर्गत नभएका कारण व्यवस्थित गर्न गाह्रो परेको बताए । ‘सुरुमा मनकामना क्षेत्र विकास समिति पालिका मातहतमै रहने भन्ने भयो । २०७४ मा निर्वाचित भएर आइसकेपछि पटकपटक बहस र छलफल भएको छ,’ अध्यक्ष थापाले भने, ‘हामी कार्यविधि बनाउने तयारीमा थियौँ, पछि सङ्घ सरकार मातहत नै रहने भन्ने निर्णय भयो । अहिले फेरि प्रदेशमा अधिकार दिइएछ ।’ गुठी संस्थानले निसानबहादुर थापालाई मात्रै पुजारी नियुक्ति दिएको छ । तर उनले आफ्ना भाइ र भान्जासहित थप ४ जनालाई नियुक्ति दिएका छन् । मुल पुजारी बिहान पूजा गर्न आउँछन् । त्यसपछि दिनभरि पालैपालो अरुले पूजा गर्छन् । सबै भेटी र जिन्सी आफ्नै तरिकाले लिन्छन् ।
प्रदेशबाट प्रमुख सचिव र पर्यटन सचिव मनकामना पुगेर प्रारम्भिक छलफल पनि गरिसकेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत पुस १८ गते समिति चलाउने अधिकार प्रदेश सरकारलाई दिएको हो । ‘प्रदेश सरकारबाट एउटा टोली आएर प्रारम्भिक छलफल गरेको छ । कार्यविधि बनाउन हामी छलफलमा छौँ,’ थापाले अघि भने, ‘भेटीघाटीलाई व्यवस्थित गर्नुपर्छ, पुजारीलाई सम्बोधन गर्नुपर्छ । चलनचल्तीलाई नियमअनुसार व्यवस्थित गरेर जानुपर्छ । बृहत् रुपमा समाधान खोज्नुपर्छ ।’ गुठी संस्थानले निसानबहादुर थापालाई मात्रै पुजारी नियुक्ति दिएको छ । तर उनले आफ्ना भाइ र भान्जासहित थप ४ जनालाई नियुक्ति दिएका छन् । मुल पुजारी बिहान पूजा गर्न आउँछन् । त्यसपछि दिनभरि पालैपालो अरुले पूजा गर्छन् । सबै भेटी र जिन्सी आफ्नै तरिकाले लिन्छन् । धार्मिक क्षेत्र विकास समितिले पनि छुट्टै दानपेटिका राखेको छ । सोही दानपेटिकामा सङ्कलन भएको रकमले कार्यालय सञ्चालन खर्च चल्छ । मासिक ५ लाख हाराहारी रकम दानपेटिकाबाट सङ्कलन हुन्छ । समिति सञ्चालनका लागि १४ जना कर्मचारी छन् । तलबभत्तामा मासिक झण्डै ४ लाख खर्च हुन्छ ।

Like