मालवाहक सवारी प्रवेश निषेधसंगै पाशुपत क्षेत्रमा १२ ठाउँबाट सवारी डाइभर्सन

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण २४,

मुलुकमा महाशिवरात्रिको पावन अवसरमा काठमाडौँको पशुपति क्षेत्रमा चल्ने सवारी–साधनलाई ट्राफिक प्रहरीले डाइभर्सन गर्ने भएको छ । आवश्यकता अनुसार पशुपति क्षेत्रतर्फ चल्ने सवारीसाधनलाई १२ स्थानबाट डाइभर्सन गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) जीवन कुमार श्रेष्ठले रातोपाटीलाई बताए । पशुपति क्षेत्रमा फागुन २५ मा बिहानैदेखि सामान बोकेका सवारी चलाउन निषेध गरिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी श्रेष्ठ भन्छन्–‘मालवाहक गाडीहरु बिहानै देखी चल्न दिँदैनौँ, यात्रुवाहक सवारीहरु आवश्यकता अनुसार डाइभर्सन गर्नेगरी व्यवस्थापन गरेका छौँ ।’ पुरानो बानेश्वर, सिनामंगल, मैतिदेवी मन्दिर, ज्ञानेश्वर, चावहिल, सिफल चौर र लामापोखरी लगायतका ठाउँबाट पाशुपत क्षेत्रमा सवारी डाइभर्सन गर्नेगरी ट्राफिक प्रहरीले रुट सार्वजनिक गरेको छ । सवारी व्यवस्थापन गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति क्षेत्रमा ५१३ जना ट्राफिक परिचालन गर्ने भएको छ । ट्राफिक प्रहरीहरु शुक्रवार बिहान ३ बजेबाट नै पशुपति क्षेत्रमा खटिने एसएसपी श्रेष्ठले जानकारी दिए । सवारी चाप व्यवस्थापन गर्न गौरिघाट हुँदै गोठाटार तर्फ चल्ने करिडोरमा चाहिँ सवारी चल्न दिने निर्णय गरिएको छ । पाशुपत क्षेत्रमा ६ ठाउँमा पार्किङ स्थल तोकिएको छ । दर्शनार्थीहरुले सिफल चौरमा आफ्नो सवारीसाधन राख्न पाउँछन् । भण्डारखालमा सरकारी सवारी र सुरक्षाकर्मीका सवारी पार्किङ गर्न पाइने छ । तिलगंगाको खाली ठाउँ र करिडोरमा तिर्थयात्री, दर्शनार्थी र पर्यटकका सवारी पार्किङ गर्न मिल्नेगरी पार्किङ स्थल निर्धारण गरिएको छ । मालवाहक सवारी साधनहरु तिनकुने, जोरपाटी स्थित नारायणटार, चुच्चेपाटी, चावहिल, सिनामंगल पुल र बसुन्धाराबाट गौशालातर्फ प्रवेश गर्न पाउँदैनन् । पशुपति वरपर जाने मालवाहक सवारीलाई धुम्बाराहिमा मेला अवधिभर कुर्नुपर्नेगरी ट्राफिक व्यवस्थापन योजना लागु गरिएको छ । कोटेश्वरबाट बौद्ध र सुकेधारा जाने मालवाहक गाडीहरु जडिबुटीबाट काँडाघारी हुँदै संचालन गर्न दिइने छ ।

Like