अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

जिल्ला न्यायाधीशहरूको माग न्यायोचित : पूर्व न्यायाधीश फोरम

Share to:

रासंसा/काठमाण्डौ, आषाढ ५,

मुलुकमा पूर्व न्यायाधीश फोरमले जिल्ला न्यायाधीशको माग न्यायोचित भएकाले यथाशीघ्र सम्बोधन गर्न नवनियुक्ति प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष आग्रह गरेको छ। फोरमका अध्यक्ष टोपबहादुर सिंहले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै गलत मापदण्डको आधारमा न्याय सेवा इतर व्यक्तिहरूलाई उच्च अदालतमा सिफारिस गर्ने प्रपञ्चबाट बहालवाला जिल्ला न्यायाधीश हतोत्साही भइरहेको जनाएका छन्। प्रधानन्यायाधीश कार्की आगामी साउन २० गतेबाट उमेर हदका कारण सेवा निवृत्त हुँदैछन्। न्याय परिषदका अध्यक्षसमेत रहेका प्रधान न्यायाधीश कार्कीले रिक्त पदमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेका छन्। संसदीय सुनुवाई समितिको बैठकमा उनले २० पेज लामो न्यायालय सुधारको कार्ययोजनासमेत पेस गरेका थिए। ‘उच्च तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नियुक्तिको सिफारिस गर्ने एकमात्र निकाय न्याय परिषद हो। यस परिषद्ले न्यायाधीशको नियुक्तिको सिफारिसमा पारदर्शिताको अभाव रहि आग्रह तथा पूर्वाग्रह राखि राम्राभन्दा हाम्रा मान्छेलाई प्रश्रय दिने गरेको सर्वसाधारणमा गुनासाहरु व्याप्त छन् भन्ने सुनिन्छ,’ विज्ञप्तिमा भनिएको छ,‘ जिल्ला न्यायाधीशहरूले यही परिप्रेक्ष्यमा संविधान र कानुनका प्रावधान, परम्परा न्यायिक मूल्य मान्यता, अन्तर्राष्टिय मापदण्डको निष्पक्षतापूर्वक पालना गर्न न्याय परिषदको ध्यानाकर्षण गर्न दिएको निवेदनमा उठाइएका सरोकारहरुलाई न्यायाधीश समाजले न्यायोचित ठहर्‍याएको छ।’ फोरम अध्यक्ष सिंहले नवनियुक्ति प्रधान न्यायाधीश कार्कीबाट न्यायपालिकामा रहेका विकृति, विसंगति निर्मूल भई पारदर्शी र निष्पक्ष न्याय सम्पादनमा पूर्ण सफलता मिलोस भनि विज्ञप्तिमार्फत् शुभकामना दिएका छन्। जिल्ला न्यायाधीशहरूको न्यायोचित सरोकार तथा माग यथाशीघ्र पूरा गरी लोकतन्त्रको रक्षा तथा न्यायपालिकाको अस्मिता कायम राख्नका लागि यथाशिघ्र सक्रिय हुन पनि फोरमले आह्वान गरेको छ।

Like