कांग्रेस र एमालेका दोस्रो तहका नेता नयाँ समीकरण बनाउन संवादमा
रासंसा/काठमाण्डौ, आषाढ ७,
मुलुकमा कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि सिंगापुरमा रहेकै क्षण नयाँ सत्ता समीकरणको रूपरेखा कोर्न कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूबीच भित्रभित्रै चलिरहेका संवादले सत्तारूढ गठबन्धनभित्र अविश्वास बढाएको छ । धेरै साना दलको समीकरण बन्दा राजनीतिक अस्थिरता हुने भन्दै एमालेले दुई ठूला दलको सहभागितामा सरकार बनाउन पहल गरेको छ, जसले आकार भने लिइनसकेको दुवैतर्फका नेताहरूको भनाइ छ । एमालेसँग संवादमा कांग्रेसका एक नेताका अनुसार एमालेका नेताहरूले नै कांग्रेस–एमाले गठबन्धन बनाउन पहलकदमी लिइरहेका छन् । ठूलो दल (कांग्रेस) कै नेताले सरकारको नेतृत्व गर्दा प्राकृतिक हुन्छ, दुई दल मिल्दा साना दलहरूलाई मोलमोलाइको अवसर हुँदैन, सरकारले प्रभावकारी काम गर्न सक्छ भन्ने तर्क अघि सार्दै एमालेका नेताहरूले संवाद अघि बढाएका छन्,’ उनले भने, तर यस विषयमा हाम्रा सभापति नै अहिलेसम्म सकारात्मक देखिनुभएको छैन । सिंगापुर भ्रमणपछि उहाँको भनाइ के हुने हो, प्रतीक्षा गरिरहेका छौं ।’ स्वास्थ्य परीक्षणका लागि भन्दै जेठ ३० मा सिंगापुर गएका देउवा बुधबार बिहान ११ बजे स्वदेश फर्कने कार्यक्रम थियो तर फर्कने समय अचानक परिवर्तन गरेर देउवाले केही महत्त्वपूर्ण राजनीतिक भेटघाट गरेको सत्ता गठबन्धनभित्र आशंका छ । यता, यही बेला प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेबाहेकका वाम शक्तिलाई एकत्रित गराई असार ४ मा समाजवादी मोर्चा गठन गरेका छन् । यी घटनाक्रमले कांग्रेस र माओवादी आपसमा संशकित भएको बेला एमालेले नयाँ गठबन्धनको पहल तीव्र बनाएको छ । देउवा सकारात्मक नभए तत्काल गठबन्धन सम्भव नहुने र कांग्रेसको इतर समूह पनि सामेल नभए नयाँ गठबन्धन बलियो नहुने ठानेर एमालेले कांग्रेसका सबै पक्षसँग संवाद गरिरहेको छ । कांग्रेसको संस्थापन पक्षका नेताहरूसँग मात्रै कुरा गर्दा समीकरण भरपर्दो नहुने ठानेर यस पटक एमालेले कांग्रेस नेता शेखर कोइराला, महामन्त्री गगन थापा र संस्थापन पक्षका नेता ज्ञानेन्द्रबहादुर कार्कीसहितसँग विभिन्न चरणमा संवाद गरिरहेका छन्,’ ती नेताले भने । ‘बजेटप्रति सत्तारूढ सांसदले देखाइरहेको चरम असन्तुष्टिले पनि वर्तमान सत्ता गठबन्धन के हुने भन्ने खालका चर्चा छ । राजनीतिमा सबै खालका सम्भावना हुन्छन्, पछिल्लो पटक कांग्रेस नेताहरूसँग खुलेर संवाद हुन्छ, हार्दिकता देखिन्छ ।’ के तपाईंहरूले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउने गरी समीकरण बनाउन खोज्नुभएको हो भन्ने प्रश्नमा नेम्वाङले थपे, ‘त्यो त मलाई थाहा भएन तर के हो भने सामान्य ढंगले कुरा गर्दा देशको पहिलो पार्टी छ, बाहिर बस्दै, खालि काँध मात्रै थाप्ने हो त ? काँधमा चढ्नेले अलि राम्रै काम गरेको भए त हुने थियो, १० वटा बदनामी कुराहरू उठिरहने, अनि अर्कोले काँधमा बोकेर हिँडिरहने भए । त्यसैले यस्ता कुराहरू भइहाल्छन् । आकार देखिएको छैन, तर भित्रभित्र चर्चाहरू चलिरहेका छन् ।’ कांग्रेस महामन्त्री गगन थापा तत्काल त्यस्तो सम्भावना नदेखिए पनि भविष्यमा कांग्रेस र एमालेबीच समीकरण बन्न असम्भव नभएको बताउँछन् । ‘आजको दिनमा त्यस्तो केही भइरहेको छैन तर हाम्रोमा गठबन्धन बन्न र भत्किनका लागि कुनै सैद्धान्तिक आधार चाहिने होइन । कुनै पनि बेला दुई ठूला पार्टी मिलेर सरकार बन्ने बाटोतिर जान्छ भनियो भने असम्भवचाहिँ होइन,’ उनले भने । एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि कांग्रेस नेताहरूसँग पछिल्लो पटक हुने गरेका संवादमा हार्दिकता बढिरहेको बताए । कांग्रेस नेताहरू पनि अहिलेको संवादले आकार नलिएको बताउँछन् । भन्छन्, ‘दोस्रो तहमा संवाद जारी छ । तर, माथिल्लो तहमा विश्वासको वातावरण बनिसकेको छैन । खासगरी गत पुस १० मा बालुवाटार आउँछु भनेका एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष दाहाललाई बालकोट बोलाएर प्रधानमन्त्री बनाएकामा देउवाले एमालेको प्रस्तावलाई भरपर्दो मान्नुभएको छैन ।’ सत्ता गठबन्धनभित्र पनि प्रधानमन्त्रीले समाजवादी गठबन्धन (मोर्चा) बनाएका छन् । कांग्रेसमाथि दबाब बनाइराख्न दाहालले यो कदम लिएका हुन् भन्ने कांग्रेस नेताहरूको भनाइ छ । यद्यपि दाहालले कांग्रेसलाई आश्वस्त पार्न खोजेका छन् । बुधबार साँझ कान्तिपुर टीभीमा प्रसारित टफ टकमा प्रधानमन्त्री दाहालले भनेका छन्, ‘समाजवादी मोर्चा बनाउने कुरामा कांग्रेसका नेताहरूको पनि सहमति छ । तपाईंहरू, लेफ्टहरू आफ्नो विचारको धरातल भएका पार्टीहरू छिटो मोर्चा बनाउनु, त्यसले नेपालको राजनीतिलाई अलि सहज बनाउँछ भन्नेछ । शेरबहादुर देउवाजीसमेत भएका बेलामा पहिलोचोटि समाजवादी मोर्चा बनाउनुपर्छ भनेर उपेन्द्रजी, माधव नेपालजी र मैले हस्ताक्षर गरेका थियौं । देउवाजी चाहनुहुन्थ्यो कि छिटो तपाईंहरूको मोर्चा बनोस् । उहाँलाई विश्वास थियो । उहाँ भनिरहनुहुन्थ्यो कि छिटो मोर्चा बनाउनुस् भनेर ।’ एमाले पहलमा प्रधानमन्त्री भएका दाहाललाई कांग्रेसले विश्वासको मत दिएपछि तथा राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई माओवादीले समर्थन गरेपछि एमाले–माओवादी गठबन्धन टुटेको थियो । त्यसपछि देउवा, दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आलोपालो सरकार चलाउने समझदारीसमेत गरेका छन् । सहमतिअनुसार दाहालले दुई वर्ष, नेपालले एक वर्ष र देउवाले अन्तिम दुई वर्ष सरकारको नेतृत्व गर्नेछन् । भुटानी शरणार्थी प्रकरणलगायतमा सरकारको नेतृत्व गरेको दलबाटै कांग्रेसलाई बदनाम बनाउने काम भइरहेको र यसले सत्ता हस्तान्तरण हुने कुरामा पनि अविश्वास बढेको भन्दै कांग्रेसका कतिपय नेताहरू एमालेसँग समीकरणको पक्षमा देखिएका छन् । पछिल्ला दिन दाहाल र देउवाबीच पनि भेटघाट पातलिएका छन् । निकट नेताहरूका अनुसार खासगरी नक्कली शरणार्थी प्रकरणमा सरकारले पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणलाई छानबिन दायरामा तानेपछि देउवा दाहालसँग असन्तुष्ट छन् । दाहाल र देउवाबीच सुषुप्त रूपमा रहेको खटपट अहिलेको गठबन्धनको भविष्यसँग जोडिएको र सोही कारण दुवै पक्षले आ–आफ्नो तयारी थालेको स्रोतहरू बताउँछन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले सरकारका बारेमा विभिन्न चलखेल बढिरहे पनि कांग्रेस र माओवादीबीच आशंका बढ्नुपर्ने कुनै कारण नभएको बताए । ‘सरकारको नीति र कार्यक्रम आउने बेलातिर एक खालको तरंग भएको थियो, अविश्वास थियो तर देउवाको सिंगापुर भ्रमण र अहिले भइरहेका चलखेलले सत्ता समीकरणलाई असर पुर्याउँछ भन्ने मलाई लाग्दैन,’ उनले भने, ‘पहिला नेकपा फुट्दा जनतामा धेरै निराशा बढ्यो । त्यसबाट पार भएर आशा जगाउने ठाउँमा आइपुगेका छौं । अहिले कांग्रेस र माओवादीबीच अविश्वास बढ्नु दुवैका लागि घाटा हो ।’ चुनावी वर्षमा सरकारको नेतृत्व लिँदा प्रभावकारी काम देखाउन नपाइने तर्क गर्दै कांग्रेस नेताहरूले देउवालाई एमालेसँग मिलेर सरकारको नेतृत्व गर्न सुझाइरहेका छन् भने कतिपयले गठबन्धनलाई धोका दिँदा बुमर्याङ हुने तर्क गरिरहेका छन् । ‘पुस १० गते गल्ती गर्यौं भनेर दाहाललाई प्रधानमन्त्री स्वीकार्ने तर अहिले आएर एमालेसँगको समीकरणमा प्रधानमन्त्री हुन खोज्दा राजनीतिक बुमर्याङ हुन्छ भनेर सिंगापुर जानुअघि हामी केही नेताहरू गएर भनेका हौं,’ देउवानिकट नेताले भने, ‘तर वरिपरिका केही नेता शेरबहादुर देउवा प्रधानमन्त्री भइदिए राइँदाइँ गर्न सकिन्छ भनेरै गठबन्धन भत्काउन लागिरहनुभएको छ ।’ माओवादी सचिव देवेन्द्र पौडेल पनि यो सरकार नै निरन्तर चलिरहने वातावरण रहेको दाबी गर्छन् । ‘सरकार निरन्तर चल्छ, गठबन्धनको सहमतिअनुसार नै तोकिएको समयसम्म चल्छ, प्रधानमन्त्री उत्पादन गर्ने ठाउँ भनेको प्रतिनिधिसभा हो, त्यहाँ जबसम्म गठबन्धनको बहुमत चलिरहन्छ, तबसम्म यो सरकार चलिरहन्छ,’ उनले भने, ‘सहमतिअनुसार काम नभए मात्रै बहुमत टुट्ने हो, अहिलेसम्म सहमतिअनुसारै काम भइरहेकाले यो सरकार चलिरहन्छ ।’ समाजवादी मोर्चाप्रति कांग्रेसको आशंका नभएको उनले बताए । ‘मोर्चा गठन नहुँदा केही दल एमालेतिर जान्छन् अथवा माधव नेपाल नै जाने र एक–दुईवटा स्वतन्त्र सांसदलाई समेत तान्दा एमाले ठूलो पाटी हुने हो कि भन्ने शंका थियो, मोर्चा गठनपछि त्यो शंका रहेन, कांग्रेसका लागि त झनै राम्रै भयो,’ विश्वकर्माले भने । संस्थापन पक्षका नेतासमेत रहेका कांग्रेस केन्द्रीय प्रचार विभागका प्रमुख मीन विश्वकर्मा भने सत्तासमीकरण बदलिने र नबदलिने कुरा प्रधानमन्त्री दाहालकै हातमा रहेको बताउँछन् । ‘दाहाललाई काँध फेर्न मन लाग्यो भने फेर्न सक्नुहुन्छ तर कांग्रेस यही गठबन्धनको पक्षमा छ, गठबन्धनका बीचमा भएका सझौता, सहमति उल्लंघन गरेर कांग्रेस अर्को गठबन्धनमा जाँदैन,’ उनले भने । नीतिगत रूपमा एमालेसँगको समीकरणमा जानुपर्ने पक्षमा रहेका कांग्रेस नेता मीनेन्द्र रिजाल गठबन्धनका बीचमा भएको सम्झौता नाघेर नयाँ समीकरण बन्ने सम्भावना नभएको बताउँछन् । ‘एमाले र कांग्रेस मिल्दा धेरै काम गर्न सकिन्छ भन्ने मेरो चाहना हो तर सभापति र महामन्त्री सबैले यो गठबन्धनलाई पाँचै वर्ष लैजाने सहमति भएको हो भन्नुभएको छ । संस्थागत सम्झौता भएको हो भने त्यसलाई भत्काउन कसरी सहज हुन्छ ? सम्झौता गरेको हो भने त्यसको इमानदारीपूर्वक पालना गर्नुपर्छ,’ रिजालले भने, ‘कांग्रेस र एमालेबीच समीकरण बनाउने कुरा मेरो तहमा भएको छैन । मभन्दा माथिको तहबाट भएको भए थाहा छैन । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा सरकार बनाउन चाहिने बहुमत अंक भनेको १ सय ३८ हो । यस्तो अवस्थामा मोर्चाबाहेक कांग्रेस र एमाले मिलेर मात्रै सरकार बन्ने विकल्प हुन्छ । अहिलेको सरकार सुरक्षित गर्न वा भविष्यमा सहमतिअनुसार अर्को सरकार बनाउन ५४ सिटसहितको मोर्चा संसद्मा निर्णायक रहनेछ । तर, मोर्चा गठनपछि संसद्को सत्ता समीकरणका विभिन्न विकल्पलाई साँघुरो बनाउने काम गरे पनि कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूबीच भइरहेका संवादले दाहाललाई झस्काएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादका विशेषताहरू पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने मोर्चाको मुख्य उद्देश्य रहेको दाबी गरिएको छ । यसका लागि मोर्चाले १५ बुँदे वैचारिक एवं राजनीति प्रतिबद्धता सार्वजनिक गरेको छ तर सत्ता राजनीतिमा उसको गहिरो चासो छ । मोर्चामा आबद्ध तीन दलसँग प्रतिनिधिसभामा ५४ सांसद छन् । यो संख्या जुनसुकै बेला हुन सक्ने सत्ता संघर्षको खेलमा निर्णायक बन्न सक्छ । कांग्रेस सभापति देउवा ‘उपचार’ का लागि देशबाहिर रहेका बेला सरकारको नेतृत्व गरेका प्रधानमन्त्री दाहालको अगुवाइमा मोर्चा गठन गरिनु बहुआयामिक रणनीतिमा केन्द्रित रहेको नेताहरू बताउँछन् ।