अमेरिका जानलाई बुझाएको पैसा डुब्दा बिल्लीबाठ ‘जनप्रतिनिधिलाई विश्वास गर्दा डुबियो’

Share to:

रासंसा/मोरङ, ज्येष्ठ ५,

मुलुकमा मोरङको पथरी शनिश्चरेका कल्याण श्रेष्ठ (नाम परिवर्तन) नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जान तयार भए। अमेरिका जाने योजना बनाएर ४ वर्षअघि १० लाख रुपैयाँ पनि बुझाए। नक्कली भुटानी खडा गर्ने गिरोहलाई बुझाएको नगद अहिलेसम्म फिर्ता पाएका छैनन्। न त अमेरिका जान नै पाए। त्यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा सागर राईलाई जिताउन कल्याण कम्मर कसेरै लागेका थिए। नभन्दै सागरले चुनाव पनि जिते। वडामा अन्य जनप्रतिनिधि नेकपा (एमाले)बाट विजयी भएका थिए। वडाध्यक्षमात्रै कांग्रेस अर्थात् सागरले जितेका हुन्। त्यसले पनि सागर स्थानीयस्तरमा लोकप्रिय थिए भन्ने कुरा प्रस्ट पार्छ। बाबु–आमा अमेरिका बस्ने भएकाले उनलाई खर्चको अभाव थिएन। त्यसका आधारमा उनी चुनावी परिणाम आफ्नो पक्षमा पार्न सफल भए। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका सागर र केशवलगायतमाथि अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ। जग्गाको कारोबार गर्ने कल्याणसँग थोरबहुत पैसा साथमा भइरहन्थ्यो। सागर कांग्रेसबाट उम्मेदवार बनेर पथरी शनिश्चरे नगरपालिका–१० को वडाध्यक्षमा प्रतिस्पर्धा गर्दै थिए। त्यसअघि सागरको राजनीतिक पृष्ठभूमि खुलेको थिएन। चुनाव आउने बेलामा पार्टीमा भिœयाएर टिकट दिलाउन केशव दुलालले भूमिका खेलेको कांग्रेसका नेता कार्यकर्ता बताउँछन्। ‘चुनावमा उम्मेदवार बनेपछि सागर राईलाई जिताउन अहोरात्र खटिएका थियौं। जितायौं पनि,’ कल्याण भन्छन्, ‘उहाँ मेरो पुरानै चिनजानको दाइ हो। केशव दुलाललाई पनि पहिल्यैदेखि चिन्थें।’ आफू पनि कांग्रेस नै भएकाले त्यही पार्टीबाट उम्मेदवार बनेका सागरलाई जिताउन धेरै मेहनत गरिएको उनको भनाइ छ। ‘प्रायः उहाँ (सागर) र हामी सँगसँगै हिँड्थ्यौं। चुनाव जिताएर वडाध्यक्ष पनि बनायौं’ कल्याण भन्छन्, ‘त्यसअघि उहाँ (सागर)ले हाम्रो विश्वास जित्ने धेरै कामहरू गर्नु भएको थियो। असल पहिचान बनाएको व्यक्ति वडा हाँक्ने ठाउँमा पुगेपछि झन् उहाँमाथि विश्वास बढ्यो।’ त्यतिबेला सत्ता र शक्तिमा भएका टोपबहादुर रायमाझी, रामबहादुर थापा ‘बादल’लगायतको नाम लिएपछि वडाध्यक्षजस्तो व्यक्तिले ढाँट्दैनन् होला भन्ने पनि लागेर विश्वास गर्दा आफूहरू डुबेको उनले बताए। भने, ‘हामी ३ जना थियौं। बिनाआधार र प्रमाण १०–१० लाख रुपैयाँ सागरलाई बुझायौं। दुनियाँ मान्छे अमेरिका जान मरिहत्ते गरिरहेका थिए। हाम्रो पालो आउँदैन होलाजस्तो लागेर सुटुक्क काम गरौं भन्नेतर्फ केन्द्रित भइयो।’ एकदिन सागरले तिमीहरूलाई अमेरिका लैजान्छु भनेर भनेको उनले बताए। ‘तिमीहरू मेरो नजिकका मान्छे हौ। अमेरिका जान सहयोग गर्छु। त्यसका लागि तिमीहरू भुटानी शरणार्थी बन्न तयार हुनुपर्छ भन्नुभयो,’ उनी भन्छन्, ‘यसमा माथिकै ‘सेटिङ’ छ भनेर विश्वास दिलाउनु भयो। यत्रो ‘सेटिङ’मा दुनियाँ अमेरिका पुग्दै गर्दा तिमीहरू के हेरेर बस्छौ भनेपछि हामी तयार भयौं। फटाहा मान्छे नभएकाले अविश्वास गर्ने त कुरै थिएन।’ केही समस्या पर्दा सागरले नै समाधान निकालिदिने गरेकाले पनि उनीप्रतिको विश्वास बढेको कल्याण बताउँछन्। ‘हाम्रो लागि सोच्नु भएको होला भन्ने लाग्यो। त्यही भएकाले कुनै कुराको प्रवाह नगरिकन ‘आँखा चिम्लिएर’ पैसा दियौं,’ उनले भने, ‘हामीलाई अमेरिका कहिले पुग्नुजस्तो भएको थियो। भुटानी बनेर जान पाइन्छ र माथिल्लो ‘लेभल’देखि नै काम भइरहेको छ भनेपछि त्यो दिनको पर्खाइमा थियौं।’ जनप्रतिनिधि भएर सागरले पथरी शनिश्चरेभित्र सबैको मन जितेको कल्याण सम्झन्छन्। अहिले यो प्रकरण बाहिरिएपछि पैसा बुझाउने तीन जनाले नै प्रहरीमा जाहेरी दिइसकेको उनले बताए। ‘सम्भवतः पहिलो ‘लट’मा जाहेरी दिने हामी नै हौं कि जस्तो लाग्छ। प्रहरीले बोलाएपछि गएर जाहेरी दियौं,’ उनले भने, ‘अहिले पैसा बुझाउनेलाई पनि कारबाही हुनुपर्छ भन्ने आवाज उठेको देख्दा तनावमा छौं। पैसा त गयो नै तर, कारबाही पनि भोग्नु पर्‍यो भने दोहोरो मारमा परिन्छ।’ जग्गाको सामान्य कारोबार गर्ने भए पनि जग्गाजमिन बिक्री कम हुँदै गएपछि आफू अमेरिका जान तयार भएको उनी बताउँछन्। ‘त्यत्तिकै बस्नुभन्दा अमेरिकाजस्तो देश जान पाइयो भने आनन्द हुन्छ। पैसा पनि कमाइन्छ भन्ने भयो,’ उनले भने, ‘जसरी पनि अमेरिका जान पाए हुन्थ्यो भन्ने लाग्यो। शरणार्थी भनेपछि अमेरिका जान पनि सहज हुन्छ जस्तो लाग्यो।’ सुनसरीको इटहरी घर भएका काजीबहादुर बस्नेत (नाम परिवर्तन)ले भतिजो अमेरिका जाने भएपछि सागरलाई पैसा बुझाएको बताए। ‘भतिजोले अमेरिका जाने भन्यो। पैसा चैं मैले नै सागरको बैंक खातामा हालिदिएको हुँ,’ उनले भने, ‘भतिजका पथरी शनिश्चरेतिर केही साथीहरू थिए। उनीहरूकै विश्वासमा पर्दा यो अवस्था झेल्नु पर्‍यो।’ भतिजोले साथीहरूको विश्वास गरिदिएपछि गिरोहको फेला परिएको र कोरोना महामारीभन्दाअघि नै पैसा बुझाएको उनले बताए। तर, काम नहुने थाहा पाइसकेपछि पटकपटक पैसा फिर्ताका लागि आग्रह गर्दा सागरले सुनुवाइ नगरेको काजीले बताए। भने, ‘अहिले भतिज विदेश गइसकेको छ।’ पक्राउ पर्नुअघि भने पैसा फिर्ता माग्दै पटकपटक सागरको घर पुगेको उनले उनले सुनाए। उनका अनुसार भुटानी बनेर अमेरिका जान खोज्नेमा पथरी शनिश्चरेका मान्छेहरू धेरै छन्। ‘अमेरिका जानलाई अनेक गरेर बुझाएको पैसा डुब्दा मान्छेको बिल्लीबाठ भयो,’ उनले भने, ‘पैसा बुझाउनेहरू रोएको देख्दा मन थामिँदैन।’ सागरले पैसा फिर्ता गर्छु भनेर पटकपटक भाका मात्रै राखेको उनको भनाइ छ। ‘म कुरा मिलाउन काठमाडौं जाँदैछु, त्यहाँबाट आएपछि फिर्ता गर्छु त भन्दै थिए। निक्कै पटक गरेको फोन पनि उठाएनन्। उनी त पक्राउ परिसकेछन्,’ काजी भन्छन्, ‘कानुनविपरीतको काममा अघि बढ्न खोज्ने हामीलाई पनि कारबाही हुन्छ कि भन्ने डर लागेको छ। सामान्य गरिखाने हामीलाई जग्गा बन्धकी राखेर लिएको १० लाखको ब्याज तिर्न गाह्रो भइरहेको छ। सागर पक्राउ परेपछि हाम्रो सम्पर्क हुन सकिरहेको छैन।’ गिरोहलाई पैसा बुझाउनेमध्येमै पर्छन्, मोरङ पथरी शनिश्चरे–४ का ३३ वर्षीय संकेत गौतम (नाम परिवर्तन)। कुखुरापालन गरेर सामान्य हिसाबले परिवार धान्दै आएका उनलाई सागरसँगकै संगतले अमेरिका जाने रहर लाग्यो। त्यसपछि कुखुराबाट लाभ नहुने देखे। १० लाख रुपैयाँ सागरलाई बुझाए। अहिले नक्कली भुटानी शरणार्थी भनेर प्रहरीले समात्छ कि भन्ने त्रासमा छन्। प्रहरीले पक्राउ गर्ने डरले अहिले चुपचाप बसेको उनले बताए। भने, ‘पैसा खानेविरुद्ध जाहेरी दिने आँट छैन। उल्टै कारबाही हुन्छ कि भन्ने डर छ।’ उनका अनुसार सागरले अमेरिका जाने सबै प्रक्रिया पूरा भइसकेको भन्ने गरेका थिए। साथीभाइसँग खोजेर र ससुरालीको जग्गा धितो राखेर बुझाएको पैसाले अहिले पिरोलिरहेको संकेत बताउँछन्। उनले कानुनी झमेलामा फस्दा परिवारमा अर्को तनाव आइपर्ने बताए। ‘पैसा त गयो। अमेरिकाको कुरै भएन। कोरोनाले व्यवसायमा समस्या हुन थालेपछि अमेरिकाको सोच पलायो,’ उनले भने, ‘साथीबाट अमेरिकाको ‘अफर’ आएको थियो। जनप्रतिनिधि भएकाले सागरको विश्वास गरियो। चाँडै नै उडाउने पनि भनेका थिए।’ अमेरिकाको सपनाले आफू नक्कली भुटानी बन्न तयार भएको संकेतको भनाइ छ।

Like