आइतबारदेखि थुनछेक बहस हुने गरि १८ जना अभियुक्तको बयान सकियो
रासंसा/काठमाण्डौ, जेष्ठ १९,
मुलुकमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराधसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले आरोपित १८ जनासँग बयान लिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएकामध्ये हाल थुनामा रहेकासँग अदालतले थुनछेक बहसअघिको बयान लिएको हो । शुक्रबार अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयान लिएको थियो । बाँकीसँगको बयान यसअघि नै सकिएको थियो । अदालतका सूचना अधिकारी दीपक दाहालले आरोपितविरुद्धको बयान शुक्रबार सकिएको र आइतबारबाट थुनछेक बहस सुरु हुने बताए । थुनछेक बहस न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ । सूचना अधिकारी दाहालले कन्तिपुरसँग भने, ‘प्रतिवादीमध्ये हाल थुनामा रहेका १८ जनासँग बयान सकिएको छ । अब आइतबारदेखि थुनछेक बहस सुरु हुन्छ ।’ थुनछेक बहस सकिएपछि आरोपितलाई साधारण तारेखमा वा धरौटीमा छोड्ने वा पूर्पक्षका क्रममा कारागार पठाउने टुंगो लाग्छ । यो प्रकरणका प्रतिवादी केही ‘उच्च पदस्थ’ले आफूमाथि लागेको अभियोगमा इन्कारी बयान दिएको स्रोत बताउँछ । अनुसन्धानबाट खुलेका तथ्य र प्रमाण भने जति इन्कारी बयान दि एपनि कसुर पुष्टि हुने वस्तुनिष्ठ आधार र प्रमाण रहेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीको भनाइ छ । रायमाझी, खाण, पाण्डे, राई र रिजालसहित गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी, कांग्रेसका पूर्व सांसद आङटावा शेर्पा, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्व उपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप, गिरोहका सदस्यहरू सागर राई, टंक गुरुङ, रामशरण केसी, खाण गृहमन्त्री हुँदा उनका स्वकीय सचिव रहेका नरेन्द्र केसी र गोविन्द चौधरी अनुसन्धानकै क्रममा पक्राउ परेका थिए । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ र फरार १४ गरी ३० जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले ठगी, संगठित अपराध, किर्ते र राज्यविरुद्धको अपराधको कसुरमा कारबाही मागदाबीसहित जेठ १० मा मुद्दा दायर गरेको थियो । २०७९ चैत १२ मा तीन जनालाई पक्राउ गरेपछि प्रहरीले अदालतबाट म्याद थप गरेर अघि बढाएको शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा पूर्व उपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित १६ जना पक्राउ परेका थिए । प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएर मुद्दा अदालतमा दर्ता भइसकेपछि प्रतिवादीमध्येका थप २ जना लक्ष्मी महर्जन र हरिभक्त महर्जन पक्राउ परेका थिए । शुक्रबार प्रहरीले पूर्वमन्त्री खाण, भुटानी शरणार्थी नेता रिजाल र अर्का प्रतिवादी हरिभक्त महर्जनसँग बयान लिएको हो । प्रहरीले प्रतिवादी बनाएका ३ जनाको विस्तृत हुलिया नखुलेका कारण उनीहरू प्रतिवादीको सूचीमा समेटिएनन् । उनीहरुलाई पछि कसुर खुलेबमोजिम हुने गरी बाँकीको हकमा चार वटा कसुरमा २८ करोड ८१ लाख रुपैयाँ बिगो, ठगिएको रकम फिर्ता र कैद सजाय मागदाबीसहित मुद्दा दर्ता भएको थियो । मुद्दा दायर भएको २ दिन पछि जेठ १२ बाट सुरु भएको बयान अदालतले शुक्रबार टुंग्याएको हो । पक्राउ परेका र थप १७ जनालाई फरार सूचीमा राखेर प्रहरीले जेठ ८ मा राज्य विरुद्ध अपराध, संगठित र ठगीसम्बन्धी अपराधमा मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । त्यसको २ दिन पछि जेठ १० मा सरकारी वकिल कार्यालयले प्रहरीबाट आएको प्रतिवेदनमा बाहेक किर्तेको थप कसुर लगाएर ३० जनाविरुद्ध अदालतमा अभियोगपत्र दायर गरेको थियो । मुद्दामा प्रतिवादी बनाइएकामध्ये केशव तुलाधार, अशोक पोखरेल, धिरेन राई, दीपाञ्जली हुमागाईं, निरज राई, प्रतीक थापा, राजेश अर्याल, मोहनराज राई, आशlष बुढाथोकी, बिनिता सामदेव लिम्बु, निरन्जरकुमार खरेल र सुनिल बुढाथोकी फरार छन् । अरु तीनजनाको विस्तृत हुलिया नखुलेका कारण उनीहरू फरार सूचीमा रहेका छन् । तर, मुद्दा भने पक्राउ परेपछि अघि बढ्ने प्रहरीले जनाएको छ ।