उपनिर्वाचनको आचारसंहिता आजदेखि लागू, क–कसलाई लाग्छ आचारसंहिता लाग्ने ?
रासंसा/काठमाण्डौ, चैत्र २४,
मुलुकमा प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू हुने । आगामी आगामी वैशाख १० गते चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ । प्रवक्ता पौडेलले उपनिर्वाचन हुने चितवन, बारा र तनहुँमा नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेको व्यक्तिलगायतलाई आचारसंहिता लागू हुने बताए । निर्वाचन आयोगले शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता २०७९ को सम्पूर्ण व्यवस्था लागू गरेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार विभिन्न २३ व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुने गरी आचारसंहिता जारी गरेको छ । आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न गराउन आवश्यक व्यवस्था मिलाउन तीनवटै जिल्लाका जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिइएको छ। आचारसंहिता लागू हुने निर्णय गरेलगत्तै बसेको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकले सम्बन्धित व्यक्तिलाई भ्रामक, गलत र द्वेषपूर्ण अभिव्यक्ति नदिन तथा कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानि हुने वा यस प्रकारको सामग्री उत्पादन, प्रकाशन र प्रसारण नगर्न÷नगराउन सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचेत गराएको छ । आचारसंहिता उल्लङ्घन भएको घटनाबारे उजुरी दिन चाहने व्यक्तिले लिखित, मौखिक, सामाजिक सञ्जाल, विद्युतीय माध्यमबाट आधार र कारण खुलाई सोसम्बन्धी प्रमाणसमेत संलग्न गरी उजुरी दिन पाउने व्यवस्था गरिएको छ ।
क–कसलाई लाग्छ आचारसंहिता ?
(क) नेपाल सरकार र नेपाल सरकारका मन्त्री, (ख) प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, (ग) संवैधानिक निकाय र सो निकायका पदाधिकारी, (घ) नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी,
(ङ) स्थानीय कार्यपालिका र सोका सदस्य, (च) सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, (छ) सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, (ज) सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, (झ) राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, (ञ) उम्मेदवार तथा सम्बन्धित व्यक्ति, (ट) राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, (ठ) सार्वजनिक पद धारण गरेको व्यक्ति, (ड) अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, (ढ) पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, (ण) सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी,
(त) निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी, (थ) विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी, (द) मतदाता, (ध) विकास साझेदार संस्था, (न) सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, (प) मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी,
(फ) निजी क्षेत्रका बैङ्क तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार, (ब) वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार।