बर्दियाका बबईको बाढीले सयौं स्थानीय प्रभावित
रासंसा/बर्दिया, आश्विन २१,
मुलुकमा मंगलबारदेखि परेको अविरल वर्षाले बबई नदीमा बाढी आएपछि तटीय क्षेत्रका सयौं बासिन्दा प्रभावित भएका छन्। बर्दियाको गुलरिया नगरपालिकाअन्तर्गत बालापुर, बिक्री, सूर्यगौडी, ईन्द्रपुर, मुक्तिनाथ टोल लगायतका स्थानहरुमा बबईको बाढी पसेपछि स्थानीयहरू पीडित भएका छन्। बाढीका कारण कुनै पनि मानवीय तथा भौतिक क्षति नभएको उनले जानकारी दिए। बाढी प्रभावितहरु सडक किनारको त्रिपाललगायत विद्यालयमा आश्रय लिइरहेका छन्। बबई नदीमा आएको बाढीका कारण बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ बालापुरमा ३५ घर, गुलरिया वडा नम्बर ८ मुक्तिनाथ टोल र अन्यमा २१ घर, वडा नम्वर ११ ईन्द्रपुरमा १० घर, वडा नम्वर १२ बिक्रीमा ३ घर गरी ६९ घरमा बाढी पसेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए। नदी घट्ने बढ्ने क्रममा रहेपनि आसपासका क्षेत्रहरूमा अविरल वर्षा भइरहेकाले जोखिम अझै कायमै रहेको एसपी शाहीको भनाइ छ। लालपुर क्षेत्र गुलरिया–नेपालगञ्ज सडकखण्डमा पानी बग्न नछाडेपनि सवारी आवागमन सुचारु गरिएको छ। पीडितहरुलाई स्थानीय वडा कार्यालय, नेपाल रेडक्रस सोसाइटीले तयारी खानेकुरालगायतका आवश्यक सामाग्री उपलब्ध गराएका छन्। बबई नदीमा पानीको सतह खतराको तहबाट घटेको हाइड्रोलोजीमा जनाइएको छ।