२४ करोड बराबरका खाद्य परीक्षण भ्यान चार वर्षदेखि अलपत्र
रासंसा/काठमाण्डौ, आश्विन ८,
मुलुकमा गाडीको रङ फुंग उडेको छ। टायरमा झार उम्रिएको छ। ब्याट्री बिग्रिएका छन्। कसैबाट संरक्षण र हेरचाह पनि भइरहेको छैन। चार वर्षअघि नयाँ किनेर ल्याएपछि ती गाडी जहाँ राखिएका थिए, अहिलेसम्म त्यहीं छन्। ती चारवटा गाडी (भ्यान) घामपानी, हिउँदवर्षा जतिबेला पनि खुला आकाशमुनि छन्। एउटै भ्यानको मूल्य त्यसमा जडित उपकरणसहित करिब ६ करोड रूपैयाँ पर्छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परिसरमा प्रवेश गर्ने जोकोहीले पनि ती भ्यान देख्न सक्छन्। सम्बन्धित निकायको बेवास्ताले भ्यान अलपत्र परेको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले बताए। राज्यको करोडौं लगानी गरेका यस्ता उपकरण तुरुन्त प्रयोगमा ल्याउनुपर्नेमा उनले जोड दिए। ‘उपभोक्ताको हितमा प्रयोग गर्न ल्याइएका भ्यान लामो समय थन्काइनु दुःखद पक्ष हो,’ उनले भने, ‘खाद्य परीक्षण गर्ने ती घुम्ती भ्यान तुरुन्त सञ्चालनमा ल्याइनुपर्छ।’ सरकारी अधिकारीहरू उपभोक्ताप्रति जवाफदेही बन्नसपर्नेमा उनले जोड दिए । ‘चाडपर्वको पूर्वसन्ध्यामा भ्यान चलाउन सके गुणस्तरहीन वस्तु बिक्री गर्ने पनि सचेत हुन्छन्,’ उनले भने। भ्रष्टाचारको मुद्दा लागेका तत्कालीन महानिर्देशक कर्णसहित सबै कर्मचारीले सफाइ पाइसकेपछि पनि भ्यान प्रयोगमा ल्याइएका छैनन्। बजारमा मानव स्वास्थ्यमा असर पार्ने गुणस्तरहीन खाद्यवस्तुको बिगबिगी बढेपछि सरकारले त्यस्ता वस्तुको गुणस्तर परीक्षणका लागि प्रयोगशालासहितका ती मोबाइल भ्यान किनेको थियो। बजारमा अखाद्य वस्तुको बिगबिगी छ तर खाद्यवस्तुको गुणस्तर परीक्षण गर्न ल्याइएका ती चार भ्यान भने चार वर्षदेखि थन्किएका छन्। झन्डै २४ करोड रुपैयाँ खर्चेर किनिएका ती भ्यान सरकारी निकायको उदासीनताका कारण प्रयोगविहीन अवस्थामा छन्। खाद्य प्रविधि विभागमा ती भ्यान अलपत्र परेका छन्। भ्यान खरिद प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका तत्कालीन महानिर्देशक सञ्जीवकुमार कर्णसहित पाँच कर्मचारी, बिक्रेता र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सात कर्मचारीसहित एक दर्जन बढीलाई भ्रष्टाचारको मुद्दा लागेको थियो। मुद्दा दायर भएपछि ती भ्यान चलाउन कसैले चासो दिएका छैनन्। अहिले मुद्दाको किनारा लागेपछि पनि भ्यान प्रयोगमा ल्याउन सम्बन्धित पक्षको सक्रियता देखिएको छैन। सरकारी अधिकारीले बजार अनुगमनमा जाँदा दैनिक उपभोग्य वस्तुको स्थलगत रूपमा नै नमुना संकलन गरेर परीक्षण गर्ने उद्देश्यले प्रयोगशालासहितका भ्यान खरिद गरिएको हो। विगतमा मुद्दा परेका कारण रोकिएको भए पनि अहिले मुद्दाको पूर्ण फैसला नआएका कारण रोकिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए। ‘अदालतको पूर्ण फैसला आएपछि भ्यान चलाउन बाटो खुल्छ,’ उनले भने, ‘पहिला मुद्दा परेकाले चलाउने आँटै भएन। अब सञ्चालन गर्ने योजनामा छौं।’ विशेष अदालतले गत वैशाखमा सफाइ दिँदै भ्यानहरू तीन महिनाभित्र सञ्चालन गरेर प्रगति विवरण पठाउन निर्देशनात्मक आदेश दिएको थियो। चार वर्षसम्म अदालतमा विचाराधीन मुद्दा भएको भन्दै भ्यान नचलाए पनि अब तत्काल सञ्चालनमा ल्याउनुपर्ने सरोकारवालाको माग छ। विभागले भ्यान आर्थिक वर्ष २०७४/७५ मा खरिद गरेको थियो। ती भ्यान इटालीबाट ल्याइएका हुन्। चारमध्ये दुई भ्यान विभागको नियमित कार्यक्रमअन्तर्गत र दुई भ्यान प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट खरिद गरिएको थियो। उपत्यकासहित विराटनगर, धनगढी, भैरहवा पठाएर सञ्चालनमा ल्याउने सरकारी योजना हो। भ्यान युरोपियन स्ट्यान्डर्डका आधुनिक भएको विभागको दाबी छ। भ्यानमा उच्च प्रविधिका प्रयोगशाला छन्। ‘प्राविधिक विषय भ्यानका बिक्रेताले सिकाउनुपर्ने पनि छ,’ उनले भने, ‘सबै कानुनी प्रक्रिया पूरा भएपछि सञ्चालनमा ल्याउँछौं।’ भ्यानमा सुरक्षित खानाका पाँच सन्देश पनि लेखिएको छ। भ्यान लिएर अनुगमनमा जाँदा उपभोक्तामा चेतना जगाउन पनि सघाउन पुग्ने प्रवक्ता महर्जनले बताए। ‘परीक्षण मात्र नभएर उपभोक्तामा सचेतना जगाउनुपर्ने छ,’ महर्जनले भने, ‘भ्यान चलाउँदा त्यसमा पनि सहयोग पुग्छ।’ उपभोक्ताको हितमा प्रयोग गर्न ल्याइएका भ्यान लामो समय थन्काइनु दुःखद पक्ष हो। खाद्य परीक्षण गर्ने ती घुम्ती भ्यान तुरुन्त सञ्चालनमा ल्याइनुपर्छ। सरकारी अधिकारीहरू उपभोक्ताप्रति जवाफदेही बन्नुपर्छ । भ्यान सञ्चालन नहुँदा खाद्य वस्तुको गुणस्तर परीक्षण ‘अन द स्पट’ (ठाउँको ठाउँ) गर्ने सरकारी योजनाले पूर्णता पाउन सकेको छैन। बजारमा देखिएको बेथिति नियन्त्रण गर्न अखाद्य वस्तुको स्थलगत गुणस्तर परीक्षण गर्न घुम्ती भ्यान ल्याइएको हो। बजार अनुगमन गर्दा खाद्य वस्तुको गुणस्तर ठिक–बेठिक छुट्टयाउन घुम्ती ल्याबसहितको भ्यान प्रयोगमा ल्याउन खोजिएको हो। होटल तथा रेस्टुरेन्टका खाना, खाजा, दुध, मिठाई, तेल, घिउ, पानी, मासु, तरकारी, फलफूललगायत खाद्य वस्तु, तिनमा प्रयोग हुने रङको नमुना संकलन गरेर तत्कालै ल्याब परीक्षण गर्न सकिन्छ। यसबाट उपभोक्ता ठगिइरहेका बेला अनुगमन गरेर तत्काल कारबाही गर्न सहयोग पुग्नेछ। बजारमा गुणस्तरहीन वस्तु बिक्री भएको गुनासो आइरहेको बेला प्रभावकारी सघन अनुगमन गरेर छिटोछरितो नतिजा सजिलो हुने विश्वास गरिएको छ। गुणस्तर मापदण्डका आधारमा हरेक खाद्य वस्तुको परीक्षण हुन्छ। यसले दूषित खाद्य पदार्थ उत्पादन, बिक्री, वितरण, निकासी वा पैठारी गर्नेलाई कानुनी दायरामा ल्याउन सहज हुन्छ। खाद्य वस्तुमा भएको विषादी, रसायन घुम्ती ल्याबमा परीक्षण हुन्छ। खाद्यवस्तु गुणस्तरीय (खानयोग्य) भएनभएको तुरुन्त पत्ता लगाउन सक्ने उपकरणसहितका भ्यानमा जडान गरिएको छ। घुम्ती ल्याबमा परीक्षण गरेर नतिजाको आधार उपभोक्ता ठग्नेलाई तत्काल कारबाही गर्ने सरकारी लक्ष्य छ।’ खाद्य वस्तुमा हुनुपर्ने मात्रा भए/नभएको पत्ता लाग्ने भएकाले उपभोक्तामा सचेतना जगाउन पनि सजिलो हुन्छ।