न्यायाधीस कोइराला र अधिवक्ता पोखरेलबीच २ करोड डिल भएको अडियो सार्वजनिक

Share to:

रासंसा/काठमाण्डौ, आषाढ ८,

मुलुकमा ठगी मुद्दामा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्ने विषयमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच दुई करोड रुपैयाँको डिल भएको अडियो सार्वजनिक भएको छ। यो अडियो सार्वजनिक भएपछि कायममुकायम प्रधानन्यायायाधीश दीपककुमार कार्कीले बधुबार (आज) न्याय परिषद्को बैठक बोलाएका छन्। यो अडियो न्युज २४ टेलिभिजनले मंगलबार साँझ ‘सिधा कुरा जनता’सँग कार्यक्रममा सार्वजनिक गरेको थियो। यस अडियोमा न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीचको टेलिफोन संवाद सुन्न सकिन्छ। उनीहरुबीच झण्डै १० मिनेट संवाद भएको छ। अधिवक्ता पोखरेलले यस्तो अवसर फेरि–फेरि नआउने भन्दै न्यायाधीश कोइरालालाई धरौटीमा छोड्ने आदेश दिन सकिने तरिका सिकाउँछन्। आफू त्यस्तो वातावरण बनाउन तयार रहेको पनि बताउँछन्। अधिवक्ता पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणादेखि काठमाडौं जिल्ला अदालतका पहिलो नम्बरका न्यायाधीशलाई पनि भन्ने आश्वासन दिन्छन्। पत्रपत्रिकामा आएर आफ्नो जागीर जाने त होइन भन्दै डराएका न्यायाधीश कोइराला आफूले आफ्नो गुरुसँग सल्लाह गर्ने बताउँछन्। तरपछि काम गर्ने सहमतिमा पुगेका कोइरालालाई अधिवक्ता पोखरेलले उच्च अदालतमा पनि उनकै आदेश सदर गराउने आश्वासन पनि दिन्छन्। इच्छाराज तामाङ सर्वसाधारणको ८ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका हुन्। उनलाई २०७८ पुस १४ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। जिल्ला न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच तामाङलाई थुनामा पठाउनुअघि नै लेनदेनका विषयमा कुरा भएको देखिन्छ। पछि कुरा नमिलेपछि तामाङलाई थुनामा पठाउने आदेश न्यायाधीश कोइरालाले नै दिएका हुन्। अधिवक्ता पोखरेल नेकपा एमालेनिकट मानिन्छन्। उनी नेपाल बारका कोषाध्यक्ष पनि थिए। केपी शर्मा ओलीले संसद विघटन गरेपछि झापाका पोखरेलले ओलीका पक्षमा सर्वोच्चमा बहस गरेका थिए। उनी एमालेको कानुन विभागका सदस्य पनि हुन्। नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरले मंगलबार साँझको न्यूज २४ कै कार्यक्रममा यस घटनालाई गम्भिर रुपमा लिएको र छानविनको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरेका थिए।

Like