नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विशेष प्रशिक्षण दिने गरि माओवादीका निर्वाचित जनप्रतिनिधिहरु काठमाडौंमा भेला हुँदै
रासंसा/काठमाण्डौ, ज्येष्ठ १७,
मुलुकमा नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। पार्टीका शीर्ष नेता एवं सङ्घीयताविद्, अर्थतन्त्र विज्ञ, पूर्वमहान्याधिवक्ता, स्थानीय सरकार सञ्चालनका विज्ञ, पूर्वप्रशासकलगायतले विभिन्न विषयमा सहभागीलाई प्रशिक्षण दिने माओवादीले जनाएको छ। अघिल्लो कार्यकालमा उत्कृष्ट काम गरेका स्थानीय तहका प्रमुखले पनि अनुभव आदानप्रदान गर्ने कार्यक्रम राखिएको छ। कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानुन निर्माणलगायत विषयमा विज्ञहरुले प्रशिक्षण दिनेछन्। प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, केही स्वन्तत्ररूपमा निर्वाचित उम्मेदवार गरी २६० जनप्रतिनिधि र पार्टीका शीर्ष नेता एवं पूर्वस्थायी समिति सदस्य सहभागी हुनेछन्। बुधबार र बिहीबार राजधानीमा प्रशिक्षण आयोजना गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए। कमलपोखरीस्थित पूरानो कुमारी हलमा हुने प्रशिक्षणको बिहान ११ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटन सत्रमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सहभागीलाई राजनीतिक प्रशिक्षण दिनेछन्। उद्घाटन सत्रपछि पहिलो दिन ‘स्थानीय सरकारको कानुनी क्षेत्राधिकार, काम, कर्तव्य र अधिकार’ विषयमा पूर्वमहान्याधिवक्ता मुक्ति प्रधानले प्रशिक्षण दिनेछन्। ‘स्थानीय तहको बजेट निर्माण’ विषयमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, ‘स्थानीय तहको विद्यालय शिक्षण सिकाइ’, विषयमा सुलभ बुढाथोकी, ‘स्थानीय तहमा विज्ञान प्रविधिको प्रयोग’ विषयमा पार्टीको विज्ञान तथा प्रविधि विभागका प्रमुख एवं पूर्वमन्त्री गणेश साह, ‘स्थानीय तहमा सूचना प्रविधि’ विषयमा डा शैलेन्द्र गिरी र ‘स्थानीय तहमा वन, वातावरण र विपद् व्यवस्थापन’सम्बन्धमा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले प्रशिक्षण दिने कार्यक्रम छ। ‘स्थानीय तहमा स्वास्थ्य र शिक्षा’ विषयमा पार्टी स्कुल विभाग प्रमुख एवं पूर्वमन्त्री गिरिराजमणि पोखरेल, ‘सङ्घीयता र स्थानीय सरकार’ विषयमा स्थानीय तहका विज्ञ डा खिमलाल देवकोटा, ‘स्थानीय तह र सामाजिक न्याय’ विषयमा पार्टीको स्थानीय तह विभागका प्रमुख उर्मिला अर्याल र ‘स्थानीय सरकार र सुशासन’ विषयमा पूर्वमुख्यसचिव लीलामणि पौड्यालले प्रशिक्षण दिने कार्यक्रम छ। दोस्रो दिन अर्थमन्त्री जनार्दन शर्माले ‘आर्थिक वर्ष २०७९-८० को सरकारको नीति तथा कार्यक्रम र बजेट’, राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले ‘स्थानीय तहको नीति, योजना र कार्यक्रम’, पूर्वमन्त्री एवं पार्टीको श्रम, अर्थ तथा योजना विभागका प्रमुख वर्षमान पुनले ‘स्थानीय अर्थतन्त्रको निर्माण र नेपाली विशेषताको समाजवाद’, चार्टर्ड एकाउन्टेन्ट चन्द्रकान्त भण्डारीले ‘स्थानीय तहको लेखा प्रणाली’बारे प्रशिक्षण दिनेछन्। दोस्रो दिन बिहान ८ बजेदेखि पुनः प्रशिक्षण सुरु हुनेछ। अघिल्लो कार्यकालमा उत्कृष्ट काम गरेका प्रत्येक प्रदेशबाट एक-एक स्थानीय तहका प्रमुखले अनुभव आदानप्रदान गर्ने कार्यक्रम राखिएको छ। प्रदेश नं १ को थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई, मधेसको बागमती नगरपालिकाका प्रमुख भरत थापा, बागमती प्रदेशको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, गण्डकीको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट, लुम्बिनीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल, कर्णालीको दार्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसी र सुदूरपश्चिम प्रदेशको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले आआफ्नो अनुभव प्रस्तुत गर्नेछन्। गत वर्ष सुशासनको क्षेत्रमा सुदूरपश्चिम प्रदेशको अजयमेरु गाउँपालिका र लुम्बिनी प्रदेशको धुर्कोट गाउँपालिका शीर्ष पाँचभित्र परेका थिए। प्रत्येक चार महिनामा प्रगति विवरण पार्टीमा पेश गर्नुपर्ने भएको छ भने माओवादीले यसअघि २०७४ सालको निर्वाचनमा विजयी जनप्रतिनिधिलाई पनि तीन दिन पार्टी केन्द्रीय कार्यालयमा प्रशिक्षण गरेको थियो। यसपटक विगतभन्दा परिमार्जित ढंगबाट प्रशिक्षणको आयोजना गरिएको उनले बताए। विज्ञ प्रशिक्षकले कार्यपत्रका साथमा प्रस्तुति दिनेछन्। माओवादी पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिले हरेक स्थानीय तहमा उत्कृष्टता हासिल गरेर जनताको सेवकका रूपमा काम गर्न सकून् भन्ने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव ढकालले जानकारी दिए। ‘अघिल्लो पटक सामान्य विषयमा मात्र प्रशिक्षण दिइएको थियो। यसपटक हामीले विषयको गहिराइमा पुगेर प्रशिक्षण दिँदैछौं,’ उनले भने। ‘माओवादीबाट निर्वाचित जनप्रतिनिधिले अनियमिता गर्न पाइएन, बेरुजु हुन भएन, सुशासन कायम गर्नुपर्यो, शिक्षा, स्वास्थ्य, रोजगार, उत्पादन र बजारीकरणमा उत्कृष्टता हासिल गर्नुपर्यो,’ उनले भने, ‘समाजवादको आधार तयार गर्नमा माओवादीका निर्वाचित प्रतिनिधि देशभर दोस्रो हुनुहुँदैन भन्ने प्रशिक्षणको मुख्य उद्देश्य हो।’