दूधको मूल्य म्याग्दीमा किसानलाई प्रतिलिटर रु. ११०, उपभोक्तालाई प्रतिलिटर रु. १३२
रासंसा/म्याग्दी, ज्येष्ठ १७,
मुलुकमा म्याग्दीमा असार महिनादेखि लागू हुने गरी दूधको मूल्य बढाइएको छ। दुई वर्षयता दूधको मूल्य समायोजन नहुँदा कृषक मर्कामा परेको गुनासोसँगै भेटेरिनरी अस्पताल तथा पशु सेवा म्याग्दीमा मंगलबार बसेको सरोकारवाला निकायको बैठकले आगामी असार महिनादेखि लागू हुने गरी मूल्य बढाउने निर्णय गरेको हो। मूल्यवृद्धि भएसँगै प्रतिलिटरमा कृषकलाई प्रतिलिटर २० रूपैयाँ र डेरी ब्यवसायीले १२ रुपैयाँ बढी पाउने भएका छन्। केन्द्रका प्रमुख जिवन आचार्यका अनुसार डेरी ब्यवसायीले किसानबाट खरिद गरेको भन्दा २० प्रतिशत बढी लिन नपाउने बताए। ‘यो मूल्य असारदेखि लागू हुन्छ,’ प्रमुख आचार्यले भने, ‘यो महिना पुरानै मूल्यमा खरिद बिक्री हुन्छ।’ मूल्य निर्धारणका लागि बसेको बैठकले किसानले प्रतिलिटर ११० रूपैयाँ र ब्यापारीले अधिकतम रू १३२ सम्म बिक्री गर्ने गरी मूल्य निर्धारण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा म्याग्दीले जनाएको छ। यसअघि कृषकले दूधको मूल्य ९० रूपैयाँ प्रतिलिटर र डेरीले उपभोक्तालाई १२० रूपैयाँमा बिक्री गर्ने गरेका थिए। त्यस्तै गाईको प्रतिलिटर ८० रूपैयाँ कायम गरिएको छ। दूधको मूल्य समायोजनले कृषकलाई राहत मिलेको बेनपा–६, बास्बोटका दुर्गाप्रसाद पौडेलले बताए। ‘हरेक वर्ष मूल्यवृद्धि अनुसार समायोजन हुनुपर्छ,‘पौडेलले भने, ‘कृषकको माग सम्बोधन भएको छ।’ यता उपभोक्ताले दूध आम उपभोक्तासामु पुर्याउन गुणस्तरमा ध्यान दिँदै मूल्य स्थिर बनाउनुपर्नेमा जोड दिएका छन्। उपभोक्ताले तिर्ने मूल्य अनुसारको गुणस्तरमा सरकारी निकायबाट नियमित अनगुमन हुन नसकेको उपभोक्ताको गुनासो छ। बेनीबजारमा नियमित दूध आपूर्ति गर्दैं आएका किसानले पशु आहार तथा पशुपालन व्यवसायमा संलग्न सामग्रीको मूल्यमा भएको वृद्धिले गोठदेखि डेरीसम्म ढुवानी गर्दा मारमा परेको भन्दै पुरानै मूल्यमा दूध बिक्री गर्न नसकिने भन्दै मूल्य समायोजनको माग गर्दैं आएका थिए। केन्द्रमा आवद्ध फार्मले दैनिक पच्चिस सय लिटर दूध खपत गर्दैं आइरहेका छन्। भेटेरिनरी अस्पताल तथा पशु सेवासहित सरोकारवाला निकायले दूध संकलन खर्च, ढुवानी खर्च, प्रशोधन, प्योकजिङ, बजारसम्म ढुवानी, विक्रेता कमिसनसम्म ध्यान दिँदा दूधमा मिसावटको अवस्थाका बारेमा समेत डेरीवालालाई सचेत बनाउनुपर्नेमा उपभोक्ताको माग छ।