जनतालाई निरास हुन दिदिन, महानगरको विकासमा दत्तचित्त भएर लाग्छु – मेयरमा पुन: निर्वाचित रेनु दाहाल
रासंसा/चितवन, जयेष्ठ १०,
मुलुकमा भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित रेनु दाहालले जनताको मनोविज्ञानलाई बुझेर काम गर्ने बताएकी छन् । उनले जनताको मनोविज्ञान बुझेर काम गर्ने र यो अवसरलाई एक मिनेट पनि खेर फाल्न नदिने बचन दिइन्। उनले यसअघिको कार्यकालका अधुरा कामहरुलाई पूरा गर्ने प्रतिवद्धता जनाइन्। उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, फोहोर तथा ढल व्यवस्थापनमा जोड दिने बताइन्। रेनुले भनिन्, ‘भरतपुर महानगरको समग्र विकासमा दत्तचित्त भएर लाग्छु । यसअघिको कार्यकालका अधुरा कामहरुलाई पूरा गर्न लागिपर्छु । शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, फोहोर तथा ढल व्यवस्थापनमा जोड दिन्छु ।’ चितवनको भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएकी छन् । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन्। दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पराजित गरिन् । दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरे। यस्तै, स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गरे। दाहाल विसं. २०७४ को स्थानीय तहको निर्वाचनमा समेत कांग्रेसको सहयोगमा महानगर प्रमुखमा निर्वाचित भएकी थिइन्। भरतपुरको २९ वडामध्ये कांग्रेसले वडा नं १, २, ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७ र २९, एमालेले ३, ११, १२, १८, १९ र २८, माओवादी केन्द्रले १३, २४ र २६, नेकपा (एकीकृत समाजवादी)ले ७, ९ र २२ वडामा विजय हाँसिल गरेको छ । वडा नं २५ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।