होटल संघ गण्डकीको नयाँ कमिटी
रासंसा/कास्की, ज्येष्ठ १०,
मुलुकमा होटल संघ नेपाल (हान) गण्डकीको नयाँ कार्यसमिति गठन गरिएको छ। संस्थाको अध्यक्षमा पुराना पर्यटन व्यवसायी हरिप्रसाद शर्मा गैह्रे निर्विरोध निर्वाचित भएका छन्। गण्डकी प्रदेशका विभिन्न ११ जिल्लाका होटल संघका अध्यक्षहरुको भेलाले शर्मालाई अध्यक्ष चुन्दै नयाँ कार्यसमिति समेत चयन गरेको छ। शर्मा होटल संघ पोखरा नेपालका पूर्व अध्यक्ष एवं सल्लाहकार हुन्। उनी लेकसाइडस्थित होटल पोखरा भिलेजका संचालक पनि हुन्। यसैगरी समितिको सदस्यमा होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, बाग्लुङका सञ्जयकुमार श्रेष्ठ, म्याग्दीकी सिर्जना भट्टचन, तनहुँका जीवन शाही, नवलपुरका डीवी चौधरी र लम्जुङका रामकुमार श्रेष्ठ रहेका छन्। स्याङजा, मुस्ताङ र मनाङबाट पनि समितिमा छिट्टै प्रतिनिधित्व गराइने नवनिर्वाचित अध्यक्ष गैह्रेले जानकारी दिए।
प्रदेशको प्रथम बोर्ड बैठक नाम दिइएको भेलाले भरतराज पराजुलीलाई प्रथम उपाध्यक्षको जिम्मेवारी दिएको छ। पराजुली हानका केन्द्रीय सदस्य एवं होटल संघ पोखरा नेपालका पूर्व अध्यक्ष एवं सल्लाहकार पनि हुन्। यसैगरी प्रदेश कमिटीको द्वितीय उपाध्यक्षमा तनहुँका पुराना होटल व्यवसायी राजकुमार श्रेष्ठलाई चयन गरिएको छ। गोर्खाका व्यवसायी मनप्रसाद धितालले सचिवको जिम्मेवारी पाएका छन् भने पर्वतका होटल व्यवसायी कृष्णप्रसाद श्रेष्ठ कोषाध्यक्षमा चयन भएका छन्। सो अवसरमा बोल्दै सबै पदाधिकारी र सदस्यहरुले व्यवसायिक एकतामा जोड दिएका थिए। होटल क्षेत्रले उद्योग सरहको मान्यता पाउनुपर्ने, पर्यटकको संख्या भन्दा गुणस्तरमा ध्यान दिनुपर्ने, प्रवर्द्धनको कामलाई अगाडि बढाउनुपर्ने लगायतका भनाई पनि उनीहरुले राखेका थिए। नवनिर्वाचित अध्यक्ष गैह्रेले सबै जिल्लाका सबै होटल संघ र सम्बन्धित व्यवसायीलाई समेटेर उनीहरुको सल्लाह र सुझाव अनुसार नै प्रदेश कमिटी अगाडि बढ्ने भनाई राखे।