चङ्ठिनिया माई मन्दिर धार्मिक पर्यटनको सम्भावना
रासंसा/कपिलवस्तु, कार्तिक १९,
मुलुकमा पुर्व पच्चिम राजमार्गको गोरुसिंगेबाट आधा घन्टामै पुग्न सकिने धार्मिक पर्यटकीय गन्तव्य हो चङ्ठिनिया माई मन्दिर। कपिलवस्तुको बुद्धभूमी नगरपालिका वडा नं. १ को उत्तरतर्फ देवी स्थान सामुदायिक वनको मध्य भागमा अवस्थित चङ्ठिनिया माई मन्दिर थारु समुदायहरूको प्राचीन मन्दिर हो। ३ वर्षमा एक पटक कात्तिक पञ्चमीका दिन विशेष पूजा हुने यस मन्दिरमा उक्त समय १२ मौजाका भक्तजनहरूले विभिन्न किसिमका जनावरहरूको बलिदिने परम्परा रही आएको छ। साथै, उक्त दिन रात भरी जागाराम बसी देवीको पूजा अर्चना गरिने गर्दछ। परापूर्वकालमा यहाँ थारु समुदायहरूको बस्ती भएको र सबै भू भाग जङ्गलले घेरिएको थियो। हाल आएर यस मन्दिर थारु समुदाय लगायत अन्य समुदायहरूले पनि भक्तिका साथ पूजा अर्चना गर्ने गर्दछन् । खरको झुप्रोमा रहेको मन्दिरमा विशेष गरी १२ मौजाका बासिन्दाहरूले पूजा अर्चना गर्ने भएकोले भक्तजनहरूको आर्थिक सहयोगबाट नै यस स्थललाई तीर्थस्थलको रूपमा चङ्ठिनिया माई मन्दिर लगायत विभिन्न देवी देवताहरूको निर्माण गरिएको थियो। सामुदायीक वनको मध्य भागमा रहेको उक्त मन्दिर पुगेका मानिस जस्तोसुकै तनावमा रहेता पनि मन शान्त तथा आनन्दित बनाउनु यहाँको विशिष्टता हो । मनले चिताएको पुग्ने जनविश्वासका कारण यसको गरिमा र महत्व अझै बढ्दै गएको बुद्धभूमि –१ का रामबहादुर थारुले बताए । दर्शनार्थीले विभिन्न कामना गर्दै यहाँ आएर परेवा उडाउने, बोका तथा कुखुराको बलि दिने गर्दछन् । पछिल्ला दिनमा चङ्ठिनिया माईको पूजा तथा दर्शन गर्न आउँछन् भने कतिपय अवलोकन भ्रमणका लागि आउने गरेका छन् । यस मन्दिरमा दैनिक जस्तो स्थानीय भक्तजनहरू पूजा अर्चना गर्न आउने गर्दछन्। यस मन्दिर परिसरमा गणेश, हनुमान, शङ्कर भगवान्, राम जानकी, समय माई लगायत विभिन्न देवी देवताहरूको मन्दिर समेत रहेको छ । “चङ्ठिनिया माई मन्दिर पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ, हामीले ओझेलमा परेको धार्मिक पर्यटकिय सम्भावना बोकेको यस मन्दिरको प्रचारप्रसार गर्दै यसको विकासका लागि काम अघि बढाएका छौँ”, मन्दिर समितिका अध्यक्ष विरेन्द्र मिश्रले भने ।