हलो बोकेर राप्रपाकी उम्मेदवार घरदैलोमा

Share to:

रासंसा/ मुस्ताङ, बैशाख २४,

मुलुकमा यहि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मुस्ताङमा राजनीतिक पार्टीको घरदैलो अभियान अन्तिम चरणमा पुग्दैछ। यहाँ राष्ट्रिय मान्यता प्राप्त ६ दल मध्ये नेपाली कांग्रेस र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदैछ। थासाङ—२ र घरपझोङ—४ मा राप्रपाले वडाध्यक्ष पदमा उम्मेदवारी दिँदा घरपझोङ गाउँपालिकाको उपाध्यक्षमा राप्रपाले घरपझोङ—२ मार्फाकी कमला लालचन अधिकारीले उपाध्यक्ष पदमा उम्मेदवार बनाएको छ। संघीयतापछि राप्रपाले पहिलो पटक घरपझोङमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएको हो। मुस्ताङको ५ स्थानीय तहको सबै स्थानमा कांग्रेस र एमालेले उम्मेदवार उठाउँदा राप्रपाले भने एक उपाध्यक्ष, दुई वडाध्यक्ष र २ वडासदस्य उठाएको छ। त्यसमध्ये राप्रपाको तर्फबाट २ वडा सदस्य निर्विरोध निर्वाचित भएका छन्। राप्रपाकोतर्फबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी कमला लालचन अधिकारी यतिबेला घरपझोङको—५ वटै वडाहरुमा पुगेर जनता समक्ष भोटको अपिल गरिरहेकी छिन्। उपाध्यक्ष पदकी उम्मेदवार लालचनले राप्रपाको चुनाव चिन्ह हलो बोकेर जनताको घरदैलो पुगेकी छिन्। उनले हलो चिन्हले नै जनता र देशको भलो गर्ने भएकाले हलो चिन्हमा मतदान गर्न मतदातासंग अनुरोध गरेकी छिन्। स्नातकसम्मको अध्ययन पूरा गरेकी लालचन जोमसोम अस्पताल विकास समितिको अध्यक्ष थिईन् भने भोङमोर साना किसान सहकारी संस्थाको अध्यक्षसमेत थिईन्। उनले राप्रपाले नै देशको समृद्ध र आर्थिक विकासका लागि उपयुक्त निकास दिनसक्ने भएकाले राप्रपा पार्टीको उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेकी हुन्। गत बैशाख २० गते देखि घरदैलो अभियानमा व्यस्त रहेकी उपाध्यक्ष पदकी उम्मेदवार लालचनको घरदैलो अभियान अन्तिम चरणमा पुगेको छ। उनले आफ्नो उम्मेदवारी कसैलाई जिताउँन र कसैलाई हराउँन नभई जितेर पालिकाबासीको सेवा गर्न उम्मेदवारी दिएको घरपझोङका जनता समक्ष उल्लेख गरेकी छिन्।

Like