२ केजी ३३२ ग्राम सुनसहित त्रिभुवन विमानस्थलबाट ५ जना पक्राउ
रासंसा/काठमाण्डौ, बैशाख १६,
मुलुकमा नेपाल प्रहरीले २ के.जी. ३३२ ग्राम सुनसहित ५ जनालाई पक्राउ गरेको छ। बिहीबार विमानस्थलबाट भिमकुमार माबोले र सुमन तामाङले बोकेको मनि पर्स भित्र टेपले बेरिएको २ के.जी. ३३२ ग्राम सुनसहित पक्राउ गरेको प्रहरी उपरीक्षक प्रवक्ता एवं सूचना अधिकारी हिमालय कुमार श्रेष्ठले जानकारी दिए। प्रहरीले उनीहरुलाई पक्राउ गरेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत पुन : संगठित रुपमा सुन तस्करी हुन थालेको पुष्टि भएको छ। श्रेष्ठका अनुसार माबोले र तामाङसहित सोधपुछको क्रममा उदयपुर लिम्चुङबुङ गाउँपालिका- २ का २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका-२ का ट्याक्सी चालक ४१ वर्षीय हेम बहादुर थापा र सुनगाभा सप्लायर्स एण्ड सरसफाई प्रा.लि.मार्फत विमान भित्र सरसफाई गर्न सुपरभाईजरको रुपमा ड्यूटी खटिएका सप्तरी सुरुङ्गा नगरपालिका- ४ का ३६ वर्षीय ताराकान्त चौधरी समेतलाई पक्राउ गरेको छ। प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई बरामद सुनसहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको जनाएको छ। हिमालय एयरको विमानभित्र सुनगाभा सप्लायर्स एण्ड सरसफाई प्रा.लिमार्फत सरसफाई गर्ने भिम कुमारले विमानको शौचालयभित्र फोहरसँगै रहेको सुनको विस्कुटहरु बाहिर ल्याएर फोहोर जम्मा गर्ने स्थानमा आई उनीसँगै काम गर्ने सहकर्मी सुमनलाई बोलाई फोहोरसँगै रहेको सुनको बिस्कुटहरु बाँडेका थिए। उनीहरुले आ-आफ्नो मनि पर्स भित्र लुकाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फलामे गेट भएर बाहिर निस्कने क्रममा सरसामानहरु चेकजाँचको क्रममा माबो र सुमनले बोकेको ११६६ /११६६ ग्राम सुन प्रहरीले बरामद गरेको हो।