एनआरटीलाई बुढासुब्बा गोल्डकपको उपाधि

Share to:

रासंसा/सुनसरी, माघ २७,

मुलुकमा धरान रंगशालामा शनिबार सम्पन्न बुढासुब्बा गोल्कडपको न्यूरोड टिम काठमाडौँ (एनआरटी) ले उपाधि चुमेको छ । साविक विजेतासमेत रहेका एनआरटीले चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एनआरटीले उपाधि चुमेको हो । खेलको २७ औँ मिनेटमा एनआरटीका लागि हेनरी एडिसे पोकोले जवाफी गोल फर्काए । पहिलो हाफमा १–१ बराबरीमा टुंगिएको प्रतियोगितामा खेलको ५८ मिनेटमा एनआरटीकै हेनरी एडिसे पोकोले थप १ गोल गर्दै जित शुनिश्चित गरे । त्यसपछि निर्धारित समयमा दुवै टिमबाट गोल हुन सकेन । खेलको २४ मिनेटमा चर्च ब्वाइजका लागि अनन्त तामाङले गोल गरे । उनले फ्रिकिकमार्फत गोल गरेका थिए । यससँगै एनआरटीले तेस्रोपटक बुढासुब्बा गोल्डकपको उपाधि चुमेको छ । १० औं संस्करण र २४ औं संस्करण र २५ औँ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि चुमेको हो । खेलको म्यान अफ द म्याच एनआरटीका हेनरी पोको घोषित हुँदै नगद १० हजार पुरस्कार प्राप्त गरे । बुढासुब्बा गोल्डकप र इलाम गोल्डकपको उपाधि भिडन्तमा एनआरटीले चर्च ब्वाइज पराजित ग¥यो भने झापा कपको उपाधि भिडन्तमा चर्च ब्वाइजले एनआरटीलाई पराजित गरेको थियो । एनआरटीले बुढासुब्बा गोल्डकपको उपाधि तेस्रो पटक चुमेको हो । यो सिजनमा एनआरटी र चर्च ब्वाइज चारवटा प्रतियोगितामा आमने सामने हुदा तीन वटा प्रतियोगिताको फाइनलमा यी दुई टोलीले उपाधिका लागि खेलेका छन् । यसैगरी विधातर्फ सर्वोत्कृष्ट खेलाडी एनआरटीका शिशिर लेखी घोषित भए । यससँगै उनले नगद एक लाख पुरस्कार प्राप्त गरे । सर्वाधिक गोलकर्ता चर्च ब्वाइजका खेलाडीद्वय समीर तामाङ र अर्माण्ड भिदोंग घोषित भए । उनीहरूले समान ३ गोल गरेका थिए । उनीहरूलाई नगद ३५ हजार पुरस्कार प्रदान गरियो । खेलको विजेता टिम एनआरटीले नगद १० लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र हात परेको छ भने उपविजेता चर्च ब्वाइजले पाँच लाखमा चित्त बुझाएको छ । धरान फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा आठ वटा टिम सहभागी थिए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक एनआरटीका प्रमिजय गच्छदार, उत्कृष्ट प्रशिक्षक एनआरटीका हरिओम श्रेष्ठ, उत्कृष्ट फरवार्ड चर्च ब्वाइजका समीर तामाङ, उत्कृष्ट डिफेन्डर चर्च ब्वाइजका पदम भट्टराई, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका रोहन कार्की घोषित भए । उनीहरूलाई जनही नगद २५ हजार पुरस्कार प्रदान गरिएको थियो ।

Like