प्रधानमन्त्रीको भनाई गेटा विश्वविद्यालय सुदूरपश्चिम क्षेत्रको विकासमा कोशेढुंगा साबित हुनेछ
रासंसा/महेन्द्रनगर, बैशाख ०९,
मुलुकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र तीव्ररूपमा रुपान्तरण गर्नका लागि वैज्ञानिक एवं प्रविधिक जनशक्ति आवश्यकता पर्ने बताएका छन्। सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले युग सुहाउँदो जनशक्ति देशलाई खाँचो पर्ने बताएका हुन्। ‘युवाहरू राष्ट्रका भविष्य हुन् तसर्थ विश्वविद्यालयबाट निस्कँदा उनीहरू चरित्रवान र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्न सक्ने हुनुपर्दछ,’प्रधानमन्त्री प्रचण्डले भने, ‘मुलुकको लोकतान्त्रिक प्रणालीलाई थप सबल तथा सुदृढ बनाउन र अर्थतन्त्रलाई तीव्र रूपान्तरण गर्न वैज्ञानिक जनशक्ति चाहिन्छ । उनीहरू सिर्जनात्मक र युग सुहाउँदो हुनुपर्छ ।’ विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई व्यावहारिक,जीवनोपयोगी तथा सामाजिक रूपान्तरणका लागि सहयोगी हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्न सक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालयको ध्यान जानुपर्नेमा जोड दिए। विश्व शैक्षिक बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रमा समयानुकूल सुधार गर्दै अघि बढ्न जरूरी रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । प्रधानमन्त्रीले भने,’खासगरी यस विश्वविद्यालयले यस क्षेत्रका निम्न तथा मध्यम आय भएका विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षा प्रदान गरी पुर्याएको योगदान प्रशंसनीय छ ।’ सुदूरपश्चिम प्रदेशका नागरिकहरूको उच्च शिक्षामा पहुँच विस्तार गर्न विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले विभिन्न विधामा गुणस्तरीय जनशक्ति उत्पादन गरी मुलुकमा आवश्यक दक्ष जनशक्तिको खाँचो पूरा गर्न विश्वविद्यालयले सहयोग गरेको बताए। प्राविधिक धारतर्फ स्वास्थ्य विज्ञान सङ्कायअन्तर्गत चिकित्सा शिक्षाको पठनपाठन सुरू गरिसकेको विश्वविद्यालयले सेवा विस्तार गर्नुपर्ने बताउँदै उहाँले त्यसका लागि नेपाल सरकारको आवश्यक सहयोग रहने उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले गेटामा स्थापना हुने विश्वविद्यालय यस क्षेत्रको विकासमा एउटा कोशेढुङ्गो साबित हुने विश्वास व्यक्त गरे। उनले विश्वविद्यालयको प्राज्ञिक गुणस्तर उच्च राख्न राख्नुपर्ने बताए । सबैका लागि अध्ययन तथा अनुसन्धानको आकर्षणको केन्द्र विश्वविद्यालय बन्नुपर्नेमा उनको जोड छ। प्रधानमन्त्री प्रचण्डले गेटामा राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापना भएपछि सुदूरपश्चिम क्षेत्रमा विशेषज्ञ उपचार सेवामा पहुँच सुनिश्चित गर्न सकिने बताए। ‘यस क्षेत्रमा उच्च प्राविधिक शिक्षामा पहुँचको अभावलाई महसुस गरी सरकारले कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको छ,’प्रधानमन्त्रीले भने,’विश्वविद्यालय स्थापनाको लागि ऐन निर्माण लगायतका कामहरू द्रूत गतिमा अगाडि बढिरहेका छन् ।’ विश्वविद्यालयको नेतृत्वले भौतिक एवं शैक्षिक सुधार, विद्यार्थी कल्याणसम्बन्धी कार्यहरूको विस्तार गरी विश्वका अन्य प्रतिष्ठित विश्वविद्यालयहरूसँग सहकार्य गर्दै एउटा उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्नुपर्ने आवश्यकता प्रधानमन्त्रीले औंल्याए।