स्वदेशी वस्तुको बजारीकरण अहिलेको आवश्यकता : अर्थमन्त्री पौडेल

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुन ७,

मुलुकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशमा उत्पादन भएका वस्तुको बजारीकरण अहिलेको महत्वपूर्ण आवश्यकता रहेको बताएका छन् । मेलाले देशभरकै उद्यमीहरूलाई आफ्ना उत्पादनको प्रचार–प्रसारमा सहयोग पुर्‍याउने भन्दै उनले भने, ‘देशमै रोजगारी सिर्जना र कृषिजन्य उत्पादनको आधुनिकीकरणमा मेला उपयोगी हुनेछ ।’ दुई लाख ५० हजार अवलोकनकर्ताका साथै पाँच करोड रुपैयाँको कारोबार गर्दै नेपाल १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला आज सम्पन्न भएको हो । महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले मेला आयोजना गर्न विभिन्न कठिनाइ रहँदारहँदै पनि उपप्रधान तथा अर्थमन्त्री पौडेल तथा उद्यमीको सहयोग गर्ने आश्वासनले मेलाको आयोजना गरिएको बताए । मेलाले देशभरकै उत्पादन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उनले बताए । सरकार स्वदेशी उत्पादन तथा बजारीकरणमा सहयोग पुर्‍याउन गम्भीर भएर लाग्नुपर्ने उनको भनाइ थियो । नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको औद्योगिक प्रदर्शनी समापन समारोहलाई शनिबार सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले घरेलु उद्यमी तथा उनीहरूका उत्पादनलाई बजारीकरण गर्ने कार्यमा अर्थ मन्त्रालय सहयोग गर्न सधैँ तयार रहेको बताए । स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यसपटक यही फागुन २ देखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा आयोजना भएको थियो । महोत्सवमा प्राकृतिक रेशाजन्य उत्पादन, कर्णालीका खाना परिकार तथा स्थानीय मौलिक उत्पादनहरूमा अवलोकनकर्ता तथा उपभोक्ताको आकर्षण देखिएको थियो । प्रदर्शनीमा अल्लो, सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भुइँकटहरलगायत प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, कर्णालीका मौलिक परिकार (कर्नालीको अन्नी) सेटमा जौँको लड्डु, फापरको मःम, मार्सीको खिर, चिनोको सेल उपभोक्ताले निकै मन पराएका थिए । मुलुकभरका झण्डै छ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरू र कृषि व्यवसायमा संलग्न उद्यमीलाई प्रतिविम्बित गर्ने प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ र ‘मेहनत, सिर्जना, उत्पादन र वस्तु मैरै नेपालको’ भन्ने रहेको थियो । यसैगरी राउटे समुदायले बनाएका काठका सामग्री, तेह्रथुमको ढाका, संखुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका श्रङ्गारको सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादनलगायतका सामग्रीमा पनि उपभोक्ताको आकर्षण रहेको थियो ।

Like