लागू औषध बोकेर बसमा सवार दुई जना पक्राउ

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
तनहुँ
दमौली, २१ भदौ । तनहुँमा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अस्थायी प्रहरी पोष्ट पुलचोकबाट खटिएको प्रहरी टोलीले आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित पृथ्वी राजमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको बसमा सवार दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–२ का ३८ वर्षीय पुरुष र पोखरा महानगरपालिका–३२ का ३३ वर्षीय पुरुष रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट लुकाइछिपाई ल्याएको डाइजापाम २३ एम्पुल, फेनारगन २३ एम्पुल र बुप्रेनोर्फिन २३ एम्पुल गरी जम्मा ६९ एम्पुल प्रतिबन्धित लागूऔषध बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुवै जनालाई लागूऔषधसम्बन्धी कसुरमा जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए।
प्रहरी नायब उपरीक्षक घिमिरेले
लागूऔषधको अवैध ओसारपसार र प्रयोगले व्यक्ति, परिवार र समाजमा गम्भीर असर पार्ने भएकाले यसको नियन्त्रणमा सबै पक्ष सचेत र जिम्मेवार बन्न आवश्यक भएको बताए ।प्रहरीको निगरानीसँगै अभिभावक, विद्यालय, समुदाय र युवाहरूले समेत लागूऔषधविरुद्ध सक्रिय भूमिका निर्वाह गर्न जरुरी रहेको बताउँदै घरपरिवारले आफ्ना सन्ततिहरूको रहनसहन चालचलन उसको संगत बोलिचाली र उसको पछिल्लो समय साथीभाइ आफन्त इष्टमित्रहरूसँग उसले गर्ने व्यवहारको बारेमा स्पष्ट जानकारी लिन अनिवार्य भएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए।
