बन्दीपुरमा एमालेको ‘मिशन पार्टी जागरण अभियान’ विषयक पूर्ण बैठक सम्पन्न

अन्जजराव न्यौपाने
वन्दिपुर
_राष्ट्र संरक्षण, तनहुँ_
बन्दीपुर, ६ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) बन्दीपुर गाउँ कमिटीको पूर्ण बैठक हिजो शुक्रबार सम्पन्न भएको छ।
“संगठन बलियो बनाऔँ, जनता जोडौँ, मिशन पार्टी जागरण अभियान सफल बनाऔँ” भन्ने नारासहित बसेको बैठकले पार्टी संगठनलाई थप सुदृढ, सक्रिय र जनमुखी बनाउने उद्देश्यसहित ‘मिशन पार्टी जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ।
बैठकमा अभियानलाई प्रभावकारी बनाउन टोल-टोलमा पुग्ने, जनतासँग प्रत्यक्ष संवाद गर्ने, युवालाई संगठनमा आकर्षित गर्ने तथा जनताका समस्या र गुनासालाई पार्टीको माध्यमबाट सम्बोधन गर्ने रणनीतिबारे विस्तृत छलफल भएको थियो।
कार्यक्रममा नेकपा एमालेका पूर्व केन्द्रीय कमिटी सदस्य पीएल श्रेष्ठ, पूर्व प्रदेश कमिटी सदस्य तथा सल्लाहकार इन्द्र कुँवर, जिल्ला पार्टी कमिटीका अध्यक्ष हरिराज कँडेल, बन्दीपुर पार्टी इन्चार्ज तथा सचिवालय सदस्य गोविन्दप्रसाद अधिकारीको विशेष उपस्थिति रहेको थियो। 
यस्तै जिल्ला कमिटीका सदस्यहरू, गाउँ कमिटीका सम्पूर्ण पदाधिकारी, वडा कमिटीका अध्यक्षहरू लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
बैठकले अभियानलाई गाउँका हरेक वडासम्म विस्तार गरी जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
