महिला उद्यमी संघ तनहुँ दमौली बजार इकाईद्वारा मनोसामाजिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

अन्जन राज न्यौपानी गण्डकी प्रदेश
दमौली (तनहुँ): महिला उद्यमी संघ नेपाल तनहुँ दमौली बजार इकाईको आयोजना तथा व्यास नगरपालिकाको आर्थिक सहयोगमा शनिबार दमौलीमा मनोसामाजिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सहभागी महिलाहरूलाई व्यावहारिक जीवनमा आइपर्ने मानसिक तनाव व्यवस्थापन र आत्मबल वृद्धिका विषयमा प्रशिक्षण दिइएको थियो। कार्यक्रममा मनोसामाजिक कार्यकर्ता सावित्री भट्टराईले प्रशिक्षण दिँदै महिला उद्यमीहरूले व्यवसाय र पारिवारिक जीवन सन्तुलनमा राख्दा आउने मानसिक दबाब, तनावमुक्त रहने उपायहरू र मनोसामाजिक स्वास्थ्यको महत्वबारे प्रस्ट पार्नुभएको थियो।
व्यावसायिक क्षेत्रमा सक्रिय महिलाहरूको मानसिक स्वास्थ्य सबल बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा दमौली बजार क्षेत्रका विभिन्न महिला उद्यमीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता सचेतना कार्यक्रमले दैनिक कामकाज र व्यवसाय सञ्चालनका क्रममा आइपर्ने मानसिक असहजता व्यवस्थापन गर्न निकै सहयोग पुग्ने बताएका छन्।
