सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले गरे १८५ औं पटक रक्तदान

Share to:

टिकाराम सिंह/जाजरकोट, पौष २५,

मुलुकमा नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले आज जाजरकोट जिल्लाको जाजरकोट जिल्ला अस्पतालमा १८५औं पटक रक्तदान गर्नुभएको छ ।
रक्गतदान गर्नुहुँदै कर्माचार्यले सरकारले अझै पनि दानमा प्राप्त रगत विरामीलाई निःशुल्क उपलब्ध गराउने व्यवस्था नगरेको हुँदा दानमा प्राप्त रगत विरामीहरूलाई निःशुल्क प्रदान गर्न सरकारलाई आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्रीले दान धेरै प्रकारका हुने भए पनि सबैभन्दा महत्वपूर्ण दान भनेको रक्तदान भएको बताउनुभयो । उहाँले अहिलेको समयमा जनचेतनाको कमिका कारण स्वयंसेवी रक्तदाता जुटाउन गाह्रो भइरहेको उल्लेख गर्नुभयो ।

यस्तै भेरी नगरपालिकाका ३ नम्बर वडाका वडा अध्यक्ष लिलाबहादुर शाहले जाजरकोट जिल्लामा रक्तसंचार केन्द्र स्थापना गर्नका लागि रू १ लाख सहयोग गर्ने प्रतिबद्धता जनाउँदै, आगामी आर्थिक वर्षमा पनि रक्तसंचार केन्द्रका लागि थप रू १ लाख छुट्याउने प्रतिबद्धता जनाउनुभयो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज जाजरकोट जिल्ला शाखाका अध्यक्ष प्रेमबहादुर ओलीले जाजरकोट जिल्लामा रक्तसंचार केन्द्र स्थापना गर्न विभिन्न अभियानहरू सञ्चालन गरिरहेको जानकारी दिनुभएको छ।

Like