परमानन्द सरस्वती महाराजको२९ औं वार्षिक स्मृती दिवस मनाइदै

Share to:

पुष्पराज खतिवडा/पौष २३, तनहुँ,

आश्रमका संस्थापक परमानन्द सरस्वती महाराजको २९ औँ वार्षिक पुण्यस्मृतिको अवसरमा श्रीहरिहर सन्नयास आश्रम तथा परमानन्द संस्कृत गुरुकुल विद्यापिठमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
उक्त कार्यक्रम अन्तर्गत पहिलो दिन पुस २३ गते बुधबार प्रातकालमा गुरुकुलको सभाकक्षमा श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीको अध्यक्षतामा र प्रा.डा. जयराज आचार्यको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम गरिने छ । उक्त कार्यक्रममा नेपाल संस्कृत विश्व विद्यालयका प्रा.डा.ऋषिराम रेग्मीबाट कार्यपत्र प्रस्तुत हुनेछ । त्यसैगरी सोही दिन दिवाकालमा प्रा.डा. जयराज आचार्यको प्रमुख आतिथ्यतामा शोधविधि एवं शोधलेखन कार्यक्रम हुनेछ । उक्त कार्यक्रममा नेपाल संस्कृत विश्व विद्यालयका प्रा.डा.भागवत ढकाल, त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा.एकनारयण पौडेल लगायत विद्वतवर्गबाट मन्तव्य र टिप्पणीको कार्यक्रम हुनेछ ।

यसैगरी पुस २४ गते विहीबार प्रातकालमा गुरुकुलको सभाकक्षमा श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीको अध्यक्षतामा नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.भोजराज जोशीको प्रमुख आतिथ्यतामा ‘पौरस्त्य साहित्य एवम दर्शनमा पुर्ववाद’ विषयमा विचारगोष्ठी हुनेछ । उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्रा.डा.जिवलाल सापकोटाले कार्यपत्र प्रस्तु गर्ने र नेपाल संस्कृत विश्वविद्यालयका उपप्रा.डा.केशवराज चालिसेले टिप्पणी गर्नेछन् । सोही दिन दिवाकालमा ‘अद्वैत शैवदर्शनमा बन्धमोक्षव्यवस्था’ तथा ‘पौरस्त्य दर्शन परम्परामा अपवर्ग इश्वरवाद’ विषयक छुट्टाछुट्टै विचारगोष्ठी हुनेछ । उक्त कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका सहप्रा.डा.माधव लामिछाने र नेपाल संस्कृत विश्वविद्यालयका उपप्रा.डा.रामप्रसाद पौडेलले कार्यपत्र प्रस्तुत गर्नेछन् भने नेपाल संस्कृत विश्वविद्यालयका उपप्रा.डा.बैकुण्ठ घिमिरेले कार्यपत्रमाथी टिप्पणी गर्नेछन् ।

स्वामी ज्ञानानन्द सरस्वतीको अध्यक्षतामा भारतस्थित काशीहिन्दु विश्वविद्यालयका वाराणासीका प्रो.डा.ब्रजभूषण ओझाको प्रमुख आतिथ्यता र नेपाल संस्कृत विश्वविद्यालयका भीमप्रसाद कण्डेलको विशिष्ट आतिथ्यतामा शास्त्रार्थ सभा हुनेछ । उक्त कार्यक्रमको संयोजक आचार्य गोविन्द पाण्डेय रहेका छन् ।
त्यसैगरी पुस २६ गते शनिबार सन्तसमागम एवं उद्वोधन कार्यक्रम हुनेछ । उक्त कार्यक्रमको संयोजक स्वामी विमलानन्द सरस्वती रहेका छन् ।
सोही दिन रात्रीकालिनसत्रमा परमानन्द संस्कृत छात्र कल्याण परिषदको आयोजनामा श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीको संरक्षकत्व र स्वामी सच्चितानन्द सरस्वतीको अध्यक्षतामा एवं प्रा.डा.देवी नेपालको प्रमुख आतिथ्यतामा परमानन्द काव्यसरिताको १७ औं शृङ्खला आयोजना हुनेछ । उक्त कार्यक्रममा गुरुकुलमा साधनारत कविहरुका कवितासँगै आगन्तुक सर्जकहरुका रचना वाचन तथा `उल्टो टोपी´ नाटकको मन्चन गरिनेछ । उक्त कार्यक्रमको संयोजक कृष्णदेव पाण्डेय रहेका छन् ।
त्यस्तै कार्यक्रमको अन्तिम दिन पुस २७ गते पृथ्वीजयन्तीको दिन आश्रमको सभाकक्षमा ब्रह्मलिन स्वामीजीको समाधि मन्दिरमा रुद्राभिषेक तथा आरती कार्यक्रम तथा गुरुभण्डारा तथा समीक्षा कार्यक्रम रहने छ ।

Like