४०० केभीको लप्सीफेदीमा बन्दैछ सबस्टेसन

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण ९,

मुलुकमा काठमाडौँको शंकरापुर नगरपालिका–३ बोझिनीमा ४०० केभी लप्सीफेदी सबस्टेसन निर्माण धमाधम भइरहेको छ। तामाकोसी तथा सुनकोसी नदी र तिनका सहायक खोलामा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि ‘ग्यास इन्सुलेटेड सबस्टेसन निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको हो। निर्माणाधीन खिम्ती–बाह्रबिसे(लप्सीफेदी सबस्टेसन आयोजनाअन्तर्गत ४००/२२० केभी लप्सीफेदी सबस्टेसनको नियन्त्रण कक्ष, जिआइएसका उपकरण रहने भवनलगायतका सिभिल संरचना निर्माण करिब ४० प्रतिशत सकिएको छ। सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जिआईएस, कन्ट्रोल प्यानललगायतका सम्पूर्ण उपकरण आपूर्ति करिब ८० प्रतिशत भइसकेको छ। स्थानीयको जग्गा अधिकरण तथा मानव बस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अरू नै ठाउँमा सार्नु पर्ने माग राख्दै केही स्थानीय अहिले पनि विरोध मै रहेका छन् । तामाकोसी-काठमाडौँ प्रसारण लाइन आयोजनाअन्तर्गत २२०/१३२ र १३२/११ केभी तहका सबस्टेसनका सिभिल संरचना निर्माण ५० प्रतिशत सकिएको छ। उपकरण आपूर्ति ९८ प्रतिशत भइसकेको छ। सिभिल संरचना निर्माण सम्पन्न भएपछि सबस्टेसनमा उपकरणको जडान सुरु हुनेछ। त्यस्तै, बाह्रबिसे–लप्सीफेदी लाइन खण्डमा पर्ने १२२ टावरमध्ये २ वटाको मात्र निर्माण बाँकी रहेको छ । उक्त टावरहरु लप्सीफेदी क्षेत्रमै पर्दछन्। करिब ४२ किलोमिटर तार तानिएको छ। तामाकोसी–काठमाडौँ प्रसारण लाइन निर्माण आगामी चैतभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । तामाकोसी-काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै काठमाडौँ आउने ४०० केभी प्रसारण लाइन लप्सीफेदी सबस्टेसनमा जोडिनेछ। प्रसारण लाइन आयोजनाअन्तर्गत खिम्ती–बाह्रबिसे खण्डमा पर्ने सम्पूर्ण टावर खडा गरिएको छ। करिब तीन किलोमिटर मात्र तार तान्न बाँकी रहेको छ। सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडिबी) को ‘विद्युत् प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’मार्फत प्रवाह भएको सहुलियतपूर्ण ऋणमा सबस्टेसन तथा प्रसारण लाइन निर्माण भइरहेको हो।

Like