चैत महिनासम्ममा सकिने ग्वार्कोको फ्लाइओभर मन्त्रालयको दाबी
रासंसा/काठमाण्डौ, फाल्गुण ३,
मुलुकमा ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर निर्माण चैतसम्म सम्पन्न गर्ने भौतिक तथा यातायात मन्त्रालयले जानकारी दिएको छ। माघ मसान्तसम्म ८२ प्रतिशत कार्य सम्पन्न भएको उक्त आयोजनाको निर्माणकार्य करिब २ महिनामा सकाउने मन्त्रालयको लक्ष्य रहेको छ। मन्त्रालययले चालु आर्थिक वर्षको समीक्षा गर्दै आगामी दुई महिनामा फ्लाइओभर निर्माण हुने पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो। मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा कुल कालोपत्रे स्तरको नयाँ सडक दुई लेनको २ सय ४६ किलोमिटर (किमि) र २ लेन माथिको सडक ३०.५८ किमि कालोपत्रे सम्पन्न भएको छ। नेपालको सडक यातायात क्षेत्र सुरुङ युगमा प्रवेश गरेको भन्दै सिद्धबाबा सुरुङ मार्गको सम्पूर्ण ११ सय २६ मिटर खन्ने कार्य सम्पन्न भई भर्चुअल रूपमा अन्तिम ब्रेक थ्रुसमेत भइसकेको छ। दुई वर्षभित्र बनाइसक्ने गरी २०७८ सालमा सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले ईपीसी मोडेलमा टेन्डर गरेको यो आयोजना पटकपटक म्याद थप हुँदै आइरहेको छ। पछिल्लो पटक यही पुसमा निर्माण सम्पन्न हुने भनिएको यस आयोजनाको म्याद अहिले चैतसम्म पुगेको छ। यता, काठमाडौं तराई मधेस द्रुत मार्गअन्तर्गत धेद्रे सुरुङ मार्गको पनि ब्रेक थ्रु भएको छ। सम्पन्न हुनासाथ सुरुङ मार्गबाट यातायात सञ्चालन गर्ने गरी सञ्चालनको मोडालिटी तयार गर्ने कार्य भइरहेको भनिएको छ। नेपाली सेनाबाट निर्माणाधीन तराई मधेस द्रुत मार्गको काठमाडौंतर्फको प्रस्थान बिन्दु खोकना क्षेत्रको समस्या समाधान गर्न सरोकारवालाहरूसँग छलफल भइरहेको मन्त्रालयले जनाएको छ। बर्दिबास चोचा रेलमार्ग खण्डमा हालसम्म कुल ६८ किमि ट्र्याकवेड निर्माण भएको छ। केरुङ काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन पूर्वनिर्धारित समयावधि सन् २०२६ मा सम्पन्न गर्ने गरी कार्य भइरहेको बताइएको छ। यता, भारतीय पक्षसँग संवाद भई जयनगर–बर्दिवासको भंगाहा बर्दिवास रेलमार्ग खण्ड तथा बथनाहा कटहरी रेलमार्ग खण्ड निर्माणकार्य अगाडि बढाउने तयारी भइरहेको छ भने काठमाडौं रक्सौल रेलमार्गको फाइनल लोकेसन सर्भे अध्ययनमा नेपाल पक्षको कमेन्टअनुसार परिमार्जन भइरहेको मन्त्रालयले जनाएको छ। राष्ट्रिय गौरवका पुष्पलाल (मध्यपहाडी) राजमार्ग, हुलाकी राजमार्ग र कालीगण्डकी कोरिडोरको विभिन्न खण्डहरूमा ५६ किमि सडक कालोपत्रे गर्ने लक्ष्य रहेकोमा लक्ष्यभन्दा बढी ७८.५ किमि सडक कालोपत्रे सम्पन्न भएको छ। मन्त्रालयले गत आर्थिक वर्षमा भएको कामको भुक्तानी दायित्व रकम निर्माण व्यवसायीहरूलाई भुक्तानी गरिसकिएको बताएको छ। चालु आर्थिक वर्षमा सिर्जित दायित्व भुक्तानी गर्न प्रक्रिया अगाडि बढाइएको भन्दै भुक्तानीमा समस्या नभएको मन्त्रालयको दाबी छ। नारायणघाटमा रहेको नारायणी नदीको पुलदेखि देवघाटसम्म जलमार्ग विस्तारको कार्यका लागि बोलपत्र आह्वान भएको मन्त्रालयले जनाएको छ। नेपाल पानीजहाज सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ संघीय संसद्मा प्रस्तुत भई छलफलको क्रममा रहेको छ।